चितवन-२ मा एक लाख २४ हजार पुगे मतदाता
प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको चितवन-२ मा मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो चार महीनामा ६३१ मतदाता थपिएका छन्। अहिले एक लाख २४ हजार ६४६ मतदाता पुगेको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी-विरोधको कार्यक्रम सकिएको छ। “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नाम भएका गरी दुई सय जना हाराहारी मतदाताको नाम काटिनेछ,” कार्कीले भने।
चितवन-२ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्छन्। कार्यालयले जाँचबुझपछि नामावली केन्द्रमा पठाउन लागेको छ। अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उनले बताए।
मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। चैत २० मा उम्मेदवारी दर्ता, चैत २१ मा उम्मेदवार विरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ।
गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। लामिछानेले पुनः नेपाली नागरिकता नलिएको पाइएपछि सर्वोच्च अदालतले सांसद पद खारेज गरेको थियो। यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ।