वैकल्पिक राजनीतिमा घात
पुराना दल र नेताप्रतिको आम वितृष्णाकै बीचबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको न्यूनतम नैतिकता र लोकतान्त्रिक अभ्यास विनाको यात्राले वैकल्पिक राजनीतिको बहसलाई नै खिन्न बनाइदिएको छ।
गएको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका केही नयाँ दल र राजनीतिकर्मीहरू स्थापित भए। यस परिणामले नेपाली समाज र राजनीतिमा अल्पकालीन र दीर्घकालीन प्रभाव पार्ने नै छ। रास्वपाका अध्यक्ष रवि लामिछानेले दोहोरो नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सांसद र मन्त्री पद गुमाए लगत्तै पत्रकार सम्मेलन गरे। त्यस क्रममा उनले सञ्चारगृह, यसका मालिक तथा पत्रकारमाथि आक्रोश पोखे। उनले उठाएका सवाल र लगाएका आरोपका सन्दर्भमा तथा रास्वपाले गर्ने राजनीतिबारे केही पक्षमा विमर्श जरूरी छ।
मिडिया र राजनीति
लामिछानेले देशका ठूला सञ्चारगृह र केही पत्रकार आफू विरुद्ध हात धोएरै लागेको र तिनले नागरिकता मुद्दाको फैसला समेत प्रभावित पारेको गम्भीर आरोप लगाए। नागरिकता र राहदानीबारे प्रहरीले छानबिन गरिरहँदा उनी गृह मन्त्रालयमा रहनु स्वार्थको द्वन्द्व हुने सञ्चार माध्यमहरूले औंल्याएँ। अर्कातिर, उनले चाहिं आफू मन्त्री हुँदा सञ्चारगृहका मालिकहरूको स्वार्थमा असर पर्ने भएकैले खेदो खनिएको तर्क गरे। यी दुई पक्षमा गहन छलफल गरिनुपर्छ।
सञ्चारगृहको स्वार्थको द्वन्द्वबारे चर्चा गरौं। संसारभरि नै मिडियामा व्यापारिक घरानाहरूको लगानी रहँदै आएको छ। केही सञ्चार संस्था भने ग्राहक र पाठकको प्रवर्द्धनबाट पनि जेनतेन चलेका छन्। नेपालमा पनि अधिकांश सञ्चार संस्था आर्थिक रूपले सबल र स्वतन्त्र छैनन्। मिडियामा लगानी गरेको व्यापारीले विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ, र त्यसको प्रतिफलको सुनिश्चितता खोज्छ नै। तर, त्यो पारदर्शी छ कि छैन कुराले स्वार्थको द्वन्द्व हो कि होइन भन्ने छुट्याउँछ। यो कसीमा मिडियाका लगानीकर्ताको व्यावसायिक निष्ठा र समाचारको स्वच्छता जाँचिनुपर्छ।
लोकतन्त्रको चौथो स्तम्भ सञ्चार माध्यमले अरूको नियमन गर्छ भने आफ्नो स्वनियमन। स्वनियमनले पनि एउटा निश्चित मापदण्डलाई मानक त बनाउनैपर्ला। नेपाली मिडिया यसमा धेरै हदसम्म चुकेका छन्।
लामिछानेले आरोप लगाए जस्तै उनी विरुद्ध मिडिया पूर्वाग्रहवश लागेकै हुन् त? उनी अमेरिकाबाट फर्केदेखि नै मूलधारका सञ्चार माध्यममा उनको नागरिकता विवादबारे समाचारहरू आएका हुन्। टेलिभिजन कार्यक्रम चलाउँदा उनी सार्वजनिक महत्त्व तथा विधि/प्रक्रिया विपरीतका थुप्रै विषयमा खरो शैलीमा प्रश्न उठाउँथे। यस्तो व्यक्तिले अमेरिकी नागरिकता त्यागेर आएपछि नेपाली नागरिकताको पुनः प्राप्ति गर्नुपर्ने विषय आफूलाई थाहा थिएन भन्नु वा तिनको बेवास्ता गर्नु अपेक्षित र स्वाभाविक थिएन। अझ दल नै दर्ता गरेर राजनीतिमा आएपछि वहन गर्नुपर्ने दायित्व र कानूनसम्मत अपनाउनुपर्ने आचरणबारे प्रश्न उठाइएका समाचारलाई उनले अन्यथा लिन मिल्छ?
निर्वाचनका वेला अगाडिदेखि नै लामिछाने, रास्वपा र यसका उम्मेदवारहरूलाई ठूला–साना सबै सञ्चार माध्यमले यथेष्ट स्थान दिएकै थिए। यसबाट उनी र उनको दललाई राजनीतिक र सामाजिक पूँजी आर्जन तथा निर्वाचनमा जनमत निर्माणमा धेरथोर भूमिका पक्कै खेल्यो। चुनावी परिणामपछि उनै व्यक्ति स्वार्थ बाझिने गरी गृहमन्त्री बनेका र उनको नागरिकताको वैधानिकताको विषयमा तिनै सञ्चार माध्यमले प्रश्न उठाउँदा अपाच्य कसरी भयो? विधि र कानूनको धरातलमा रही उनको गल्ती औंल्याउनै हुँदैनथ्यो?
लामिछानेले नागरिकता सम्बन्धी प्रक्रिया र कानून थाहा नभएको भने पनि खासमा उनले कानूनी छिद्र, पुराना दल र नेताहरूप्रति आम वितृष्णा र टेलिभिजनबाट आर्जेको लोकप्रियताको अनुचित लाभ लिएका हुन्। भावनामा खेलेर शङ्काको लाभ पाए र अझै पाइरहन वस्तुनिष्ठ एवम् परिपक्व राजनीति गर्नुको साटो भावुकतालाई हतियार बनाइरहेका छन्।
अवसर छोप्न विवेकको बन्धकी
रास्वपा दर्ता हुनु अगावै विभिन्न पेशा–व्यवसायमा स्थापित र विवेकशील दलमा लागेका युवाहरूले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने घोषणा गरिसकेका थिए। लामिछानेले दल दर्ता गरेपछि यीमध्ये केही युवा यसमा आबद्ध भए, कतिपय सांसद निर्वाचित पनि भए।
स्वतन्त्र रहेरभन्दा कुनै दलमा संगठित भई चुनाव लड्दा फाइदा हुने देखेरै उनीहरू रास्वपामा आबद्ध भएको सजिलै बुझिने कुरा हो। लामिछानेको लोकप्रियता, रास्वपाले छोटो समयमा जनमानसमा पारेको प्रभाव र संगठनको लाभ उनीहरूले भरपूर पाए। तर, दलमा आबद्ध हुँदै गर्दा उनीहरूले लामिछानेको पृष्ठभूमि र व्यक्तित्वको त्यति परवाह गरेको देखिँदैन। दलमा जोडिएपछि उनीसँग सहकार्य गर्दै आफ्ना अजेन्डा अगाडि बढाउन सकिन्छ भन्ने उनीहरूले सोचेका हुन सक्छन्। कतिपय सांसद यसमा केही हदसम्म सफल भएका देखिन्छन्। तर, मनन गर्नुपर्ने के हो भने, नागरिकता जस्तो संवेदनशील विषयमा पनि उनीहरूले खासै ध्यान दिएनन्। लामिछानेको नागरिकता विवाद चुलिँदा र सर्वोच्च अदालतबाट फैसला आइसकेपछि पनि उनीहरू मौन रहे, या अस्पष्ट जवाफ दिएर पन्छिए।
रास्वपाले सरकारबाट बाहिरिने निर्णय गर्दा लामिछाने हावी भएको देखियो। नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि लामिछानेले सांसद र गृहमन्त्री पद गुमाउन पुगे। त्यसपछि सत्ताको जोडघटाउमा रास्वपाले अध्यक्षको अनुसन्धानमा स्वार्थ बाझिने गृह मन्त्रालयलाई नै केन्द्रमा राखिरह्यो। उक्त मन्त्रालय नपाएपछि अन्तत: सरकार छाड्यो। पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन हुँदाहुँदै सबै मन्त्री फिर्ता बोलाउनुको औचित्य पुष्टि गर्न यो दलले अहिलेसम्म आवश्यक ठानेको छैन।
सुसंस्कृत राजनीति र राजनीतिक पद्धतिको वकालत गर्ने रास्वपाका पूर्व स्वतन्त्र व्यक्तिहरूले निर्वाचन परिणामपछि लामिछानेले सत्ता प्राप्त गर्न कुन हदसम्म अघि बढेर के के गरे, यसको जवाफ नेतृत्वसँग मागे ? जनताले फेरि पनि शङ्काको लाभ देलान्, तर न्यूनतम नैतिकता र लोकतान्त्रिक अभ्यास खोज्न नसक्ने हो भने हामी अरू दलभन्दा फरक छौं भनेर के आधारमा दाबी गर्ने ? राजनीतिक लाभ गुम्ने भयले नेतृत्वको छायामा पर्ने परम्परागत दलको रोग बोकेर नयाँ राजनीति कदापि सम्भव हुँदैन।
सामाजिक मनोविज्ञानको लाभ
लामिछानेको पत्रकार सम्मेलनलाई सरसर्ती हेर्दा पनि दुईटा पक्ष प्रस्टै देखिन्छ। पहिलो, ‘अरूले पनि कानून मिचेकै छन्, मैले प्रक्रिया पुर्याई नयाँ नागरिकता नलिएर कानून मिच्दा के बिराएँ’ भन्ने भाष्य । दोस्रो, भय र उच्च महत्त्वाकांक्षा। उनले आफ्नो नागरिकता अवैधानिक भएको स्विकार्नुको सट्टा सञ्चारगृह र पत्रकारमाथि दोष लगाइरहे। आफ्नो गल्ती ढाकछोप गर्न अरूका दोष औंल्याउने प्रवृत्ति सार्वजनिक परिवेशमा अनैतिक मात्र होइन, सामाजिक विचलनको खतरनाक प्रवृत्ति हो।
अर्कातिर, भावनामा बग्ने नेपालीजनमाझ ‘म आमाको काखमा आएँ त के बिराएँ’ भन्ने भावुक प्रवचन दिएर उनले चोखिन खोजे। यो अभिव्यक्तिमा भय र महत्त्वाकांक्षा दुवै मिसिएको छ। उनको दोहोरो राहदानीबारेको अनुसन्धान अझै बाँकी छ। अर्कातिर, राजनीतिक र सामाजिक स्वीकार्यताको भय पनि उनमा छ। महत्त्वाकांक्षा भएरै उनी राजनीतिमा आएका हुन्। दल दर्ता गरेको छोटो समयमै जुन अप्रत्याशित परिणाम उनको दलले पायो, सत्ता समीकरणमा महत्त्वपूर्ण हिस्सा पायो, त्यसले उनको महत्त्वाकांक्षालाई थप बल दियो। आठ दलको नयाँ गठबन्धन बनिसक्दा पनि रास्वपाले सरकारबाट समर्थन फिर्ता लिएको छैन। यसलाई उपनिर्वाचनमा चितवन २ को परिणाम फेरि आफ्नै पक्षमा आयो भने सत्तामा जाने वा शक्तिको सन्तुलन मिलाउने लामिछानेको रणनीति मान्न सकिन्छ।
पहिलो चोटि निर्वाचनमा सहभागी भएर प्रतिनिधि सभामा १९ (पहिले २०) सांसदको उपस्थितिबाट नेपाली राजनीतिमा रास्वपाले ठूलो हस्तक्षेप गरेको छ। राजनीतिको समाजसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ। पुराना दलप्रतिको वितृष्णाबाट यो दल र यसका नेताहरूले लाभ पाए पनि आगामी दिनमा उनीहरूले राजनीतिमा सैद्धान्तिक प्रतिबद्धता नगरी, समाजको नैतिक मापदण्डमा नजोखिई सुखै छैन।
मण्डल शिक्षक तथा अध्येता हुन्।