वन्यजन्तुका लागि नारायणघाट–बुटवल सडकमा ३५ ‘अन्डरपास’ बनाइने
पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ वटा ‘अन्डरपास’ निर्माण गरिने भएको छ।
सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट-दाउन्ने)मा २२ वटा र पश्चिम खण्ड (दाउन्ने-बुटवल)मा १३ गरेर जम्मा ३५ अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताए। वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला गरेर ३५ वटा ‘अन्डरपास’ निर्माण गरिने झाले जानकारी दिए।
उनका अनुसार कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासका रूपमा बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ।
यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकता अनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए। यसरी निर्माण गरिने अन्डरपासमा वन्यजन्तुको निगरानी गर्न क्यामेरा राखिनेछ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’ को व्यवस्था भएकाले पनि दातृ निकाय एशियाली विकास ब्यांकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेकाले त्यस सम्बन्धमा अध्ययन भइरहेको उनले बताए।
यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो भने नारायणघाट-मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो।
निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेशनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन सडक विस्तार गर्ने गरी एशियाली विकास ब्यांकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ।
लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ। एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो। साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी २०७५ चैत ८ मा सम्झौता भएको थियो।– रासस