लघुवित्त विरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
लघुवित्त वित्तीय संस्था विरुद्ध ऋणीहरूले काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, थापाथली लगायत स्थानमा विरोध प्रदर्शन गरेका छन्।
देशभरिबाट आएका लघुवित्त पीडितहरूले लघुवित्त संस्थाहरूले चर्को ब्याज र शुल्क लिएर शोषण गरेको भन्दै प्रदर्शन गरेका हुन्। ‘नवसामन्तीका रूपमा स्थापित लघुवितीय संस्थाहरू खारेज गर’‚ ‘लघुवित्त वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर’‚ ‘आम गरीब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर’‚ ‘समाजवादी अर्थतन्त्रको विकास गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीमध्ये अधिकांश महिला छन्।
लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले देशैभरि लघुवित्त वित्तीय संस्थाको ज्यादती विरुद्ध आन्दोलन गर्दै आएको छ। उनीहरूले लघुवित्त वित्तीय संस्थाबाट प्रवाह भएको ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका छन्।
किसान र विपन्न नागरिकलाई कर्जा पहुँच मार्फत गरीबी घटाउने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले अधिक मुनाफाका लागि गरीबको दोहन र शोषण गरेको भनी आलोचना भइरहेको छ। आन्दोलनकारीहरूले महिलाहरूलाई लोभ देखाएर ऋणको पासोमा पारेको तथा जबर्जस्ती सम्पत्ति हरण गर्न खोजेको आरोप लगाउने गरेका छन्। सीमान्तीकृत नागरिकलाई आर्थिक रूपमा सशक्तीकरण गर्न र सामाजिक रूपान्तरणका लागि लघुवित्त वित्तीय संस्थाहरूले योगदान पुर्याउने अपेक्षा सहित यस्ता संस्थाको विस्तारलाई अनुमति दिइएको थियो।