आज राति १२ बजेदेखि उपराष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार निषेध
उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ।
फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेल निषेधको अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ। मतदान आगामी चैत ३ गते हुँदै छ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ। आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ। साथै‚ उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबूक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसार जस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ।
उपराष्ट्रपतिका लागि नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य (बोहरा), जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीबाट ममता झाले मनोनयन दर्ता गरेका छन्। प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन्।