उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाको घोषणा
जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला कुमारीले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भए पनि आफूले फिर्ता लिएको घोषणा गरेकी हुन्। उनले भनेकी छन्, “प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भए पनि प्रतिबद्धताका साथ म उहाँ (रामसहाय यादव)लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।”
यससँगै उनले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने बताएकी छन्। उनले भनेकी छन्, “अब उपरान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका रामसहायप्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेश सभा सदस्यज्यूहरूसँग हार्दिक अपील गर्दछु।”
जसपाबाट रामसहायले पनि उपराष्ट्रपतिमा उम्मेदवार छन्। त्यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन्।
उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ। निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।