उपराष्ट्रपतिमा जसपाकै दुई सहित चार उम्मेदवार
जनता समाजवादी पार्टी (जसपा) बाट दुई जना उम्मेदवार बनेपछि उपराष्ट्रपतिमा चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धी निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते साँझ उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। तोकिएको समयभित्र कसैले उम्मेदवारी फिर्ता नलिएपछि उपराष्ट्रपति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
उपराष्ट्रपतिमा काठमाडौंको नागार्जुन नगरपालिका-३ की ६९ वर्षीया अष्टलक्ष्मी शाक्य, सुनसरीको कोशी गाउँपालिका-१ की ५५ वर्षीया प्रमिला कुमारी, सप्तरीको राजविराज नगरपालिका-७ की ५४ वर्षीया ममता झा र बाराको सिम्रौनगढ नगरपालिका-९ का ५२ वर्षीय रामसहाय प्रसाद यादव उम्मेदवार छन्।
अष्टलक्ष्मी शाक्य नेकपा (एमाले) बाट, ममता झा जनमत पार्टीबाट तथा प्रमिला कुमारी र रामसहाय यादव जसपाबाट उम्मेदवार बनेका हुन्। रामसहायको उम्मेदवारी खारेज हुनसक्ने अनुमान गरेर जसपाले प्रमिलालाई पनि उम्मेदवार बनाएको थियो। तर, उनले उम्मेदवारी फिर्ता नलिएपछि जसपाबाटै दुई जना उम्मेदवार बनेका छन्।
उपराष्ट्रपतिका उम्मेदवार रामसहाय विरुद्ध अर्का उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए। उनीहरूले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति खसआर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने जिकिर गरेका थिए। त्यसैले रामसहायको उम्मेदवारी खारेज गर्न माग गरेका थिए।
तर, निर्वाचन अधिकृतको कार्यालयले संविधानमा ‘फरकफरक लिङ्ग वा समुदाय’ भनेको उल्लेख गर्दै राष्ट्रपति खस आर्य समुदायबाट भएकाले उपराष्ट्रपतिमा मधेशी समुदायका रामसहायले उम्मेदवारी दिनसक्ने ब्याख्या गरेका हो। जसका आधारमा उनको उम्मेदवारी कायम गर्ने निर्णय गरेको छ।
त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट पर्नसक्ने आकलन गरेर जसपाले प्रमिला कुमारीको उम्मेदवारी पनि यथावत राखेको छ। जसले गर्दा उनले उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ।
अब चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा चारै जनाबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रपति जस्तै उपराष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल मतभारको बहुमत प्राप्त गर्नुपर्छ।
उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचक मण्डल अर्थात संघीय संसद् र प्रतिनिधि सभा सदस्यको गरी मतभार ५२ हजार ६२८ छ। बहुमतका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।