नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबारको खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए।
यूएईका लागि अफजल खान, जवार फरिद,जहूर खान र रोहन मुस्तफाले दुई-दुई, आर्यन लक्रा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए।
अहिलेसम्मको अंक तालिकामा नेपालले ३३ मध्ये १६ खेल जितेर ३४ अंक बटुलेको छ। आज जित हासिल गरेमा ३६ अंक बनाएर अमेरिकालाई पछ्याउँदै एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ। अमेरिकाले सबै खेल खेलिसकेको छ भने ३५ अंक छ।
त्यस्तै, नेपालले विश्वकप क्वालिफायरमा छनोट हुन सबै खेल जित्नै पर्नेछ। तीनै खेल जितेमा नेपालले ४० अंक बटुलेर नामिबियालाई पछ्याउँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अंक छ।
लिग-२ बाट शीर्ष स्थानमा रहेका स्कटल्यान्ड ५० अंक र ओमन ४४ अंकसहित विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। यो लिगबाट शीर्षस्थानमा रहेका तीन टोली विश्वकप क्वालिफायरका लागि छनोट हुनेछ।
केहीबेरमा यूएईले ब्याटिङ गर्नेछ।