उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै
जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगले निर्णय गरेको छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि तोकिएको निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो।
निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिङ्ग वा समुदाय फरक हुनुपर्ने गरी संवैधिानक र कानूनी व्यवस्था भइरहेको देखिँदा खसआर्य समुदायभन्दा फरक मधेशी समुदायका पुरुष उम्मेदवार रामसहाय प्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भनी नमिल्ने हुँदा उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोध दुवै उजुरी दाबी पुग्न सक्दैन। त्यसैले उजुरी दाबी बमोजिम रामसहाय प्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन।’
राष्ट्रपति खसआर्य समुदायको पुरुष भएकाले उपराष्ट्रपति महिला हुनुपर्ने जिकिर गर्दै उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाले यादव विरुद्ध उजुरी दिएका थिए। उनीहरू यादवको उम्मेदवार खारेज गर्न माग गरेका थिए।
निर्वाचन अधिकृतको कार्यालय उजुरीमाथि छानबिन गर्दै यादवको उम्मेदवारी खारेज नहुने निर्णय गरेको हो। यससँगै यादवले चुनाव लड्न पाउने भएका छन्।
उपराष्ट्रपतिमा यादवसँगै जसपाबाट प्रमिला यादव, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका छन्। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।