सैनामैनामा किशोरी हत्या प्रकरणः बुवा सहित १७ जना पक्राउ
रुपन्देहीको सैनामैना गाउँपालिका-१० मा झारफुक गर्ने क्रममा किशोरीको हत्यामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन्।
कान दुखेर बिरामी भएकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुक गर्ने बहानामा स्थानीय २२ वर्षीया सोनिया रेश्मीले यातना दिएकी थिइन्। सोही क्रममा सीताको फागुन २० गते राति साढे ९ बजे ज्यान गएको थियो।
माता भनिने सोनियाले झारफुकका क्रममा सीतालाई शारीरिक यातना दिएको प्रहरीले बताएको छ। यातनाकै कारण सीताको मृत्यु भएपछि उनका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेको प्रहरीको भनाइ छ।
सामाजिक सञ्जालमा लगाइएको भिडिओमा सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउने जस्ता यातना दिएको देखिन्छ।
भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोनियालाई नियन्त्रणमा लिएको थियो। तर‚ घटना गुपचुप राख्न खोज्ने आफन्त र दाहसंस्कारमा संलग्नहरूलाई भने प्रक्राउ गरेको थिएन। सामाजिक सञ्जालमा फैलिएकको भिडिओका कारण दवाव परेपछि मात्र प्रहरीले मृतकका बुवा सहित घटना र दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए। “घटनालाई गुपचुप राख्न खोजेको देखिएको छ। त्यसबारे अनुसन्धान चलिरहेको छ‚” उनले भने‚ “घटना र दाहसंस्कारमा संलग्न भएकाहरूलाई पक्राउ गरेका हौं।”
मृतककी आमा लिला ज्ञवालीले १२ गतेदेखि कानको बिरामी भएकी छोरीलाई दुई पटकसम्म मेडिकल लगेर उपचार गराउँदा समेत सञ्चो नभएपछि केही व्यक्तिको सल्लाहमा झारफुकका लागि माताकहाँ लगेको बताइन्।