उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध उजुरी
जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव विरुद्ध उजुरी परेको छ।
एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेशकुमार वर्तौलाले यादव विरुद्ध उम्मेदवारी दिएका हुन्। वर्तौलाले दिएको उजुरी निर्वाचन अधिकृतको कार्यालयले दर्ता गरेको छ।
उजुरीमा यादवको उम्मेदवारी संविधन विपरीत भएको जिकिर गरिएको छ। नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने दाबी गरिएको छ।
यससँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा १६ (५) मा पनि उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो, सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था रहेको उजुरीमा उल्लेख गरिएको छ।
वर्तौलाले उजुरीमा भनेका छन्, ‘राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ। यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन।’
त्यस्तै, राष्ट्रपति पुरुष भइसकेकाले पनि उपराष्ट्रपतिमा पुरुषलाई नै उम्मेदवार बनाउँदा संविधानले अंगिकार गरेको समावेशीकरणको सिद्धान्त विपरीत हुने जिकिर गरिएको छ। त्यसैले जसपा उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ।
उपराष्ट्रपतिमा शाक्य र यादवसँगै जसपाकै प्रमिला यादव र जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएका छन्।
https://www.himalkhabar.com/news/134797