गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने
दश दलीय गठबन्धनमा रहेका दलबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलको बैठकमा सहमति नजुटेपछि तीन जनाले उम्मेदवारी दिन लागेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए। “गठबन्धनको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ, तर सहमति जुटेको छैन। हाम्रो पार्टीको तर्फबाट ममता झा उम्मेदवार बन्नुहुन्छ”, राउतले भने।
झा जनमत पार्टीकी नेत्री हुन्। यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले आफ्नो पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार हुनुपर्ने तर्क गरेका थिए। जसले गर्दा सहमतिन नबनेको र आइतबार बैठक बसेर एउटै उम्मेदवारमा सहमति राउतले बताए।
जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर, निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपतिमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएपछि जसपाले प्रमिला यादवलाई पनि उम्मेदवार बनाउन लागेको हो। यसबारे निर्णय गर्न जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठकले बोलाएको जसाप नेता शिवलाल थापाले बताए।
त्यस्तै, नेकपा (एमाले) ले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।