अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय
नेकपा (एमाले) ले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले बताए। “हामीले सर्वसम्मत रुपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छौं”, ज्ञवालीले भने।
एमाले उपाध्यक्ष शाक्य बागमती प्रदेशको पूर्व मुख्यमन्त्री हुन्। उनी गत मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भने उम्मेदवार बनेकी थिइनन्।
संविधानको मुल मर्म समावेशी भएको उल्लेख गर्दै ज्ञवालीले उपराष्ट्रपतिमा महिला उठाउने निर्णय गरिएको बताए। स्थानीय तहदेखि नै प्रमुख दुई पदमध्ये कम्तिमा एक जना महिला हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति तथा उपराष्ट्रपतिमा पनि कम्तिमा एक जना महिला हुनुपर्ने उनको भनाइ छ।
उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।