उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान ९ बजेदेखि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्। संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्नेछ। निर्वाचत आयोगले पुरुषबाहेकेको उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ।
उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ।
उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेश सभा सदस्य ५५० गरी कूल ८८२ छन्। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुनेछ।