धीर धम्पुस
बाह्रैमास सफा र चिटिक्ट रहने धम्पुसमा यति वेला त लालिगुँरास फुल्न थालेका छन्। वसन्त ऋतु नजिकिँदै गर्दा चिरिच्याँट परेको धम्पुस आगन्तुकको स्वागतका लागि तम्तयार छ।
देशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक कास्कीको धम्पुस जाने मेसो मिल्दा उत्साहित नहुने कमै होलान। नेपाल पत्रकार महासंघ, चितवनको संयोजनमा चितवनमा क्रियाशिल २९ जना पत्रकार महिला फागुन १९ मा धम्पुस जाने तय भएपछि उत्साह झनै बढ्यो। यो टोलीका तीन जनाबाहेक सबैका लागि धम्पुस नयाँ गम्तव्य थियो।
झुल्के घाममा भरतपुरबाट धम्पुसका लागि हिडेको जम्बो टोली दिउसो पोखरा पुगियो। केहीबेर पोखरामा टहल्दै धम्पुसबारे थप जानकारी लियौं। नेपाल पत्रकार महासंघ, कास्की शाखा र पोखरा महानगरपालिकासँगको अन्तरक्रियापछि धम्पुसको यात्रा अघि बढ्यो।
कास्कीको हेम्जा हुँदै बाग्लुङ जाने सडकको घट्टेखोला पुगेपछि दाहिने मोडिएर केही उकालो चढ्यौं। घुमाउरो बाटोमा ६ किलोमिटर हुइकिँएपछि धम्पुस आइपुग्यो। मााछापुच्छ्रे गाउँपालिका-७ स्थित धम्पुस पर्यटकीय गाउँको रुपमा परिचित छ, जहाँ गुरुङ समुदायको बसोबास रहेको छ।
कतै ढुङ्गा छापेको त कतै ग्राभेल गरिएको साँघुरो बाटो हुँदै साना तथा ठूला सवारी साधन हुइकिँदै धम्पुस पुग्छन्। हरेक दिन हतारिएर पुग्ने आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत गर्न धम्पुस भने शान्तसँग बसिरहेको छ। हामीलाई पनि पुग्दापुग्दै तातो पानी, कालो चिया र भुटेको मकैले धम्पुसले स्वागत गर्यो।
धम्पुस पुग्दा साँझ ढल्किसकेको थियो। धम्पुसबासी पाहुनाका लागि भोजनको तरखरमा लागिसकेका थिए। धम्पुस पुग्ने जोकोहीलाई स्थानीय बासिन्दाले पाहुनाकै रुपमा लन्छन् र स्वागत सत्कार गर्छन्।
बेलुकाको खाना खाइसक्दा पोखरी आमा समूह सांस्कृतिक कार्यक्रमका लागि तयार भइसकेको थियो। आगो ताप्दै हामी पनि आमा समूहसँगै सांस्कृतिक कार्यक्रममा रमाउन थाल्यौं।
धम्पुसमा पर्यटकीय आगमन बढ्दै गएपछि स्थानीय महिलाले २०७१ सालमा आमा समूह गठन गरेका थिए। समूहमा २५ जना सदस्य छन्। आफ्नो जातीय वेषभूषामा सजिएर सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छन्। गुरुङ भाषा तथा नेपाली भाषाका गीतमा सांगीतिक प्रस्तुति दिँदा धम्पुसको प्राकृतिक लय झल्किन्छ।
होटल तथा रिसोर्टमा पनि सांस्कृतिक प्रस्तुति दिने गरिएको समूहकी सचिव मंगला गुरुङ बताउँछिन्। गाउँमा हुने विवाह, व्रतबन्ध लगायतमा पनि आमा समूहको साँस्कृतिक प्रस्तुतिले रौनक थप्छ। यसरी हुने आम्दानीले आमा समूहलाई आर्थिक रुपमा बलियो बनाएको त छ नै गाउँमा असहायलाई सहयोग गर्न र गाउँघर सरसफाई र उज्यालो राख्न खर्च पनि सहज भएको छ।
आमाहरूसँगै झण्डै दुई घन्टा जसो आगो ताप्दै रमायौं। उनीहरूसँगै गायौं, नाच्यौं, हास्यौं, खेल्यौं। नयाँ ठाउँमा आएको अनभूति नै भएन। आफ्नै गाउँघरमा रमाइरहेको जस्तो भान भयो।
भोलिपल्ट बिहानै गाउँ घुम्यौं। त्यो शनिबारको दिन थियो। गाउँटोलमा सरसफाइ चलिरहेको थियो। सबै जना मिलेर हरेक शनिबार बाटोघाटो सफा गर्दा रहेछन्।
ढुङ्गाले बनेका, टायलले छाएका घर रहेको परम्परागत बस्तीको बाटो ढुंगाले छापेरै बनाईएको छ। मकैका झुत्ता झुण्ड्याइएका घरहरू ध्वजा पताकाले सजाईएका छन्। प्रायः सबै घरमा दाउराका चाङ देखिन्छन्। धम्पुसले खाँटी गाउँको तस्वीर जस्ताको तस्तै जोगाइराखेको छ।
नयाँ बन्दै गरेका घर पनि ढुङ्गा माटोको प्रयोग भइरहेको छ। गोपी गुरुङ पुरानो घर भत्काएर नयाँ बनाइरहेका थिए। सिंगार्न बाँकी रहेको घरको आकार र निर्माणको शैली भने परम्परागत नै छ। परिवारसहित पोखरा बस्दै आएका गोपी पर्यटकीय हिसाबले घरको प्रयोग गर्न सकिने गरि बनाएको बताउँछन्।
हिमाल आरोहण र पदयात्रा गर्ने विदेशी पर्यटक नेपाल भित्रिन थालेदेखि नै धम्पुसमा पनि नयाँ मान्छेहरूको आगमन शुरू भएको पाइन्छ। अन्नपूर्ण हिमाल आरोहण गर्ने, आधारशिविर पुग्ने यात्रुले धम्पुसलाई विश्रामस्थलको रुपमा प्रयोग गर्दै आएका छन्। त्यसैले पनि यहाँका बासिन्दा पर्यटकलाई स्वागत मिल्ने गरीका घर बनाउँदै आएको स्थानीय बताउँछन्।
धम्पुसका ४२ वर्षीय प्रकाश गुरुङका आमाबुवाले धेरै वर्षअघि घरलाई पर्यटकको विश्राम घर बनाएका थिए। आमाबुवाले सानो लगानबाट शुरू गरेको अतिथि सत्कारको व्यवसायलाई प्रकाशल निरन्तरका दिएका छन्। उनले अझ त्यसलाई विस्तार गरेका छन्। आमाबाबुको व्यवसाय हिलटप होटलका लागि ६ वर्षअघि ३० जना पर्यटकलाई सत्कार गर्न सकिने नयाँ संरचना तयार पारेको उनी बताउँछन्।
कोभिड-१९ महामारीको असर धम्पुसमा पनि परेको थियो। अहिले भने क्रमशः पर्यटकको आगमन बढ्दै गएको छ। पहिले अन्नपूर्ण आधारशिविर जाने पर्यटक धम्पुस पुग्थे। अहिले भने मर्दी आरोहण लागि पनि धम्पुसको बाटो प्रयोग हुन थालेको छ।
हिमाल आरोहणसँगै पदयात्री पनि यहि बाटो हिड्छन्। अझ देशका विभिन्न जिल्लाबाट घुम्नकै लागि धम्पुस पुग्नेहरूको संख्या पनि बढ्दै गएको प्रकाश बताउँछन्।
त्यस्तै, पोखरा क्षेत्रमा बसोबास गर्नेहरूको रोजाइमा पनि धम्पुस परिरहेको छ, शुक्रबारीय रमाइलो र जन्मदिन मनाउन। क्याम्प फायर गरेर रमाईलो गर्न पनि धम्पुस नै रोजाइमा पर्छ। बिहानको सूर्योदय, माछापुच्छ्र्र्र्रे हिमाल, अन्नपूर्ण श्रृङ्खलाका दर्जनौं हिमाल हेरेर आनन्द लिन धम्पुस आए पुग्ने प्रकाशको भनाइ छ।
विशेष त माछापुच्छ्रे हेर्न धम्पुस नै उपयुक्त ठाउँ हो। यहाँबाट ठ्याक्कै माछाको पुच्छर जस्तो देखिन्छ, माछापच्छ्रे। अन्य स्थानभन्दा यहाँबाट माछापच्छ्रे नजिककै देखिने भएकाले पनि पयर्टकको रोजाईमा धम्पुस पर्ने गरेको छ।
यससँगै गाउँको स्वाद त छँदै छ। परम्परागत शैलीमा बनेका गाउँघर, गुरुङ समुदायको संस्कृतिसँगै प्राकृतिक बगैंचा, पोखरी गुम्बा, सीता बराह मन्दिर, पोखरीदेवी मन्दिर लगायत स्थान घुमेर धम्पुसमा रमाउन सकिन्छ। बनभोजका लागि पनि धम्पुस रोज्न सकिन्छ। अहिले छोटो दूरीको पदयात्रामा रमाउन विदेशीभन्दा बढी नेपाली आउने गरेको व्यवसायी बताउँछन्।
धम्पुसमा ३५ भन्दा बढी होटल छन्। साधारणदेखि स्टार होटेलमा राजेर बस्न सकिन्छ। केही ठूला रिसोर्टहरू निर्माणका क्रममा पनि छन्। जसले सुविधा थप्ने स्थानीयको भनाइ छ।
धम्पुस रहेको माछापुच्छ्रे गाउँपालिका-७ मा ६२० घरधुरी छन् भने करीब चार हजार बासिन्दा छन्। वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीका अनुसार यो वडामा गुरुङ मगर, दलित समुदायको बसोबास छ। ११ वटा टोल रहेको यो वडाको प्रमुख पर्यटकीय गन्तब्य धम्पुसबासी भने अधिकांश गुरुङ समुदायकै छन्।
धम्पुसको अर्को विषेशता हो, लाहुरे। प्रायः हरेक घरका मानिस लाहुरे रहेको वडाध्यक्ष भण्डारी बताउँछन्। बेलायत तथा हङकङका लाहुरेहरू भने परिवार सहित विदेशमै बस्छन्। केही पोखरामा व्यवसाय गरेर उतै बस्छन्। त्यसैले होला, गाउँका धेरै जसो घरमा ताल्चा मारिएको थियो। विदेश र पोखरातिर बस्नेहरू वेलामौकामा धम्पुस पुग्छन्।
उनीहरू वेलावेला घरको रेखदेखका लागि भए पनि धम्पुस पुग्ने गरेको वडाध्यक्ष भण्डारी बताउँछन्। “पुख्र्यौली घरको मर्मतसम्भार गरेर जीवन्त राखिराख्नु नै धम्पुसको सौन्दर्य हो”, उनी भन्छन्। अघिल्लो पुस्तका मानिस गाउँ बाहिर बस्ने गरेका पनि युवा भने धम्पुसलाई चिनाउने पर्यटन पेशा अँगालिरहेको भण्डारीको भनाइ छ।
पहिलेदेखि नै पर्यटक आवातजावत गर्ने ठाउँ धम्पुसमा विदेशी पर्यटक लक्षित होटल तथा रिसोर्ट रहेका थिए। अहिले भने नेपाली पर्यटक केन्द्रित पर्यटकीय क्रियाकलाप हुँदै आएको उनी बताउँछन्।
गाउँको विकासका लागि विदेशमा रहेका धम्पुसबासीले सक्दो सहयोग गर्दै आएका छन्। वर्षेनी गाउँ सम्झिन्छन्, सहयोग पठाउँछन्। बाटोघाटो मर्मत सम्भार, सरसफाई, पूवार्धार निर्माणमा पनि विदेशीयका धम्पुसबासीको सहयोग आउँछ।
यससँगै धम्पुसले बेलायतको वेल्समा रहेको ब्रेकन शहरसँग मितेरी साईनो गाँसेको छ। चर वर्ष अघि गाँसेको यस साईनोले पर्यटकीय विकासमा सहयोग पुगेको वडाध्यक्ष भण्डारी बताउँछन्। तथापी, कयौं उतारचडाव बेहोर्दै वर्षौंदेखि उस्तै शान्त, सुन्दर र धीर छ, धम्पुस।
स्थानीयको लगनले धम्पुस बाह्रैमास सफा र चिटिक्ट रहन्छ। अझ यति वेला त लालिगुँरास फुल्न थालेका छन्। यसले झन सौन्दर्य थपेको छ। हामी भने धम्पुससँग हात हल्लाउँदै भरतपुर फर्कियौं। वसन्त ऋतु नजिकिँदै गर्दा चिरिच्याँट परेको धम्पुस आगन्तुकको स्वागतका लागि तम्तयार भएर बसिरहेको छ।