ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय
जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष अब्दुल खानले बताए। “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ”, खानले भने, “अब गठबन्धन दलसँग छलफल गर्छौं।”
जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति शुरू गरेकी थिइन्। उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष एवं कैलाली-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रञ्जिना श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै, उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) ले बारा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।