हिमालयन क्यापिटलको उद्यमशीलता प्रवर्द्धन गर्ने पहल शुरू
हिमालयन क्यापिटलले उद्यमशीलता प्रवर्द्धन गर्ने मञ्च हिमालयन इन्क्युबेटर स्थापना गरेको छ।
हिमालयन ब्यांकको सहायक कम्पनी हिमालयन क्यापिटलले उद्यमशीलता प्रवर्द्धन, नव प्रवर्तन उद्यमीलाई तालीम, मार्गदर्शन उपलब्ध गराउन यो पहल गरेको जनाएको छ। स्टार्टअप उद्यमीले इन्क्युबेटरमार्फत व्यवसाय विस्तारका लागि निरन्तर सुझाव, सल्लाह, मार्गदर्शन तथा अनुसन्धानमा सहयोग पाउनेछन्।
त्यसैगरी, नवउद्यमीका लागि कम्पनी सञ्चालन, व्यापार मोडल, विस्तार तथा वित्त व्यवस्थापनका विषयमा पनि तालिम दिइने जनाइएको छ।
हिमालयन क्यापिटलले यो प्लेटफर्ममार्फत लगानीकर्ता, आपूर्तिकर्ता, उपभोक्ता तथा मूल्य श्रृंखलाका अन्य सरोकारवालालाई जोडेर उद्यमशीलता विस्तार गर्ने नेटवर्क बनाउन सघाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसले व्यवसायको विस्तार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा फैलन सहयोग गर्ने कम्पनीको दाबी छ।