यूएई पपुवा न्युगिनीसँग पराजित, विश्वकप क्वालिफायरमा छनोटको सम्भावना समाप्त
आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ। यो हारसँगै यूएई पनि सिधै विश्वकप क्वालिफायर खेल्ने प्रतिस्पर्धाबाट बाहिरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गरेको छ। पपुवा न्युगिनीले दिएको २४७ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४२.२ ओभरमा १९० रनमै समेटिएको हो।
यूएईका लागि आर्यन लक्राले ५१, मोहम्मद वासिमले ४१, सी रिजवान र जावर फरिदले १९-१९ रन बनाए। त्यस्तै, पपुवा न्युगिनीका लागि रिलेई हेकुरले तीन, कबुवा मोरिया र असद भालाले दुई-दुई तथा सेमो कमिया र नोर्मन भनुआले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले नौ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। पपुवा न्युगिनीका लागि सेसे बउले ८१, हिरि हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रन बनाएका गिए। त्यस्तै, यूएईका लागि अफ्जल खानले तीन, जुनईद सिद्दिकी र जहूर खानले दुई-दुई, रोहन मुस्तफा र कार्थिक मेयप्पनले एक-एक विकेट लिएका थिए।
यो जितसँगै पपुवा न्युगिनीको ११ अंक पुगेको छ भने अब दुई खेल मात्रै बाँकी छन्। लिग-२ को शीर्षस्थानमा रहेका स्कटल्यान्ड र ओमन विश्वकप क्वालिफायरमा पुगिसकेका छन्। तेस्रो स्थानमा रहने टोली पनि क्वालिफायर खेल्न पाउनेछ।
अहिले ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। नामिबियाले सबै ३६ वटा खेल खेलिसकेको छ।
यो हारसँगै यूएईको तेस्रो स्थानमा पुग्ने सम्भावना सकिएको छ। यूएईको ३१ अंक छ भने अब बाँकी तीनै खेल जितेपछि ३७ अंक मात्रै हुनेछ। ३५ अंकसहित चौथो स्थानमा रहेको अमेरिका पनि यो प्रतिस्पर्धाबाट बाहिरिसकेको छ।
अब तेस्रो स्थानको प्रतिस्पर्धामा नामिबियासँग नेपाल मात्रै छ। नेपालका तीन खेल बाँकी छँदा ३४ अंक छ। बाँकी तीनै खेल जितेमा ४० अंक जोड्दै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। नेपालको अर्को खेल आइतबार यूएईसँग हुनेछ।