मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण असारसम्म सकिने
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ। अहिले अन्तिम चरणका काम भइरहेको र आगामी असारभित्र सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।
मध्य भोटेकोशीको बाँध, बालुवा थिग्य्राउने पोखरी लगायतका मुख्य संरचना (हेडवर्क्स) को निर्माण सम्पन्न भएको छ। हाल हेडवर्क्स क्षेत्रको सम्भारको कार्य भइरहेको छ। आयोजनाको ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको जनाइएको छ।
विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ। विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्म करीब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण भएका छन् भने तार तान्न बाँकी रहेको छ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करीब साढे पाँच महीना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो। तर, करीब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
कार्यकारी निर्देशक घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोशी जलविद्युत कम्पनीका अध्यक्ष सुभाषकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटी सहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ। टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी चार महीनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ।
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करीब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए। निर्माण कम्पनीका प्रतिनिधिले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताएका थिए।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरीद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ पुगेको छ। निर्माणाधीन आयोजनाको शुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्ये प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १-१ प्रतिशत सेयर छ।
४९ प्रतिशत साधारण शेयरधनी समूह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत)को शेयर छ। कम्पनीले साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ। साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्।
आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरीद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।