उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
आयोगको शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो। राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि फरक लिंग र समुदायको उम्मेदवार बनाउने निर्देशन दिएको आयोगले जनाएको छ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने प्रावधान छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, “हामीले संविधानको सकारात्मक व्याख्या गर्ने हो, संविधानको मर्म पुरुष राष्ट्रपति भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हो र फरक समुदायको।”
यसपटक खस आर्य महिला पनि उपराष्ट्रपतिको उम्मेदवार बन्न नमिल्ने एक आयुक्तले जानकारी दिए।
संविधानको व्यवस्थाअनुसार, उपराष्ट्रपतिमा खसआर्य पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए। आयोगले भनेको छ, “उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदावरको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टता सहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदावरको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।”