श्री एअरलाइन्सको उडानमा रोक
नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको जहाजको उडानमा रोक लगाएको छ।
प्राधिकरणले इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएपछि श्री एअरलाइन्सका उडान रोकिएका छन्। जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
प्रवक्ता निरौलाका अनुसार प्राविधिकले जाँच गरेपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको छ। विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको उनको भनाइ छ।
“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो”, प्रवक्ता निरौलाले भने, “बिहीबारको घटनापछि जहाज निलम्बनमा छ।”
प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए।
आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन्। प्राविधिक जाँचपछि दिउँसोपछि बाँकी उडान भर्ने सम्भावना रहेको मानन्धरको भनाइ छ। “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे ७ बजे मात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो”, उनले भने।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो। श्री एअरलाइन्सका साना–ठूला गरी आठ जहाज छन्। तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन्। (रासस)