‘गल्ती नगर्ने राष्ट्रपति’ ले सडक जाम नगरेर पुग्दैन
राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नुपर्ने नवनिर्वाचित राष्ट्राध्यक्षले ‘मेरो सवारीमा सडक जाम हुँदैन’ भन्दैमा संवैधानिक दायित्व पूरा हुँदैन।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई! तनहुँको बाहुनपोखरामा जन्मिएका ७८ वर्षीय पौडेलको ६ दशक लामो राजनीतिक संघर्ष नै राष्ट्रपति बन्ने आधारभूमि हो भन्दा अन्यथा नहोला।
लामो समय नेपाली कांग्रेसमा आबद्ध पौडेलको काँधमा राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी आएको छ।
भनिरहनुनपर्ला, पार्टीगत, व्यक्तिगत वा अन्य स्वार्थभन्दा माथि नउठी ‘गल्ती नगर्ने राष्ट्रपति’ को संवैधानिक दायित्व पूरा हुनै सक्दैन।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनको औपचारिक परिणाम सार्वजनिक नहुँदै पौडेललाई बधाई दिन भ्याए। राष्ट्रपति संस्थाको गरिमा र मर्यादा बचाउन तेस्रो राष्ट्रपतिले सबैभन्दा पहिला गर्नुपर्ने नै देउवा वा कांग्रेसका अन्य नेताको अनुचित दबाब अस्वीकार हो।
२०५१ सालमा सभामुख हुँदा जस्तो आलोचकलाई संवैधानिक पदमा बसेर ‘कांग्रेस मोह’ नत्यागेको आरोप लगाउने मौका कुनै हालतमा दिनु हुँदैन। कर्तव्यच्युत भइसकेपछि सल्लाहकार वा आसेपासेलाई दोष लगाउनु पश्चात्ताप बाहेक केही हुँदैन।
एक पटक मुलुकको कार्यकारी प्रमुख र पार्टी प्रमुख बन्ने अभिलाषा बोकेका पौडेल कांग्रेसभित्रको ‘कोइराला क्याम्प’ छाडेर ‘देउवा क्याम्प’ मा प्रवेश गरेको छोटो समयमै राष्ट्र प्रमुख बन्न सफल भए। यद्यपि विगतको सम्बन्ध केलाउँदा उनी देउवाको ‘एस म्यान’ बन्दैनन् भनेर शङ्काको सुविधा दिन सकिने आधारहरू छन्। लोकतान्त्रिक पृष्ठभूमिले पनि उनी संविधानले निर्धारण गरेको काम, कर्तव्य र अधिकार क्षेत्रभन्दा बाहिर जाँदैनन् भन्ने विश्वास गर्न सकिन्छ।
आफ्नै शब्दमा पौडेल गत वर्ष सम्पन्न १४औं महाधिवेशनदेखि नै कांग्रेस राजनीतिको ‘मझधार’ बाट बाहिरिइसकेका थिए। त्यति वेला पौडेलले ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ, पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’ भनेका थिए। त्यस्तो पीडाबोध उनको मनैबाट आएको हो भने पार्टी राजनीतिभन्दा माथि उठेर राष्ट्र प्रमुखको भूमिका पूरा गर्ने अवसर प्राप्त भएको छ।
भर्खरै बामे सर्दै गरेको गणतान्त्रिक अभ्यासमाथि निर्मम प्रश्न गर्ने कि नगर्ने बहसको विषय हुन सक्ला। तर, प्रथम राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल निर्विवाद रहन नसक्नुलाई सकारात्मक मान्न किमार्थ सकिंदैन। नवनिर्वाचित राष्ट्रपति पौडेललाई आफ्ना पूर्ववर्तीहरूका कमी-कमजोरीलाई नदोहोर्याउने मात्रै होइन, सकारात्मक पक्षलाई ग्रहण गर्ने पनि अवसर छ।
फागुन २५ मा राष्ट्रपति चयन हुँदै गर्दा पौडेलले ‘आफू शीतल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती बेहोर्नुनपर्ने’ प्रतिबद्धता जनाए। तर, यति गर्दैमा गणतन्त्रात्मक नेपालका राष्ट्र प्रमुखको दायित्व भने पूरा हुँदैन। राष्ट्रपतिमा निर्वाचित हुन विभिन्न पृष्ठभूमिबाट आएका दलहरूसँग समेत जायज-नाजायज ‘सम्झौता’ गरेका रहेछन् नै भने पनि अब राष्ट्रपतिसँग आफ्नो संवैधानिक भूमिकालाई प्राथमिकता दिनुको विकल्प छैन। आफूलाई राष्ट्रपतिमा निर्वाचित गराएकै कारण कुनै दलका नेता-कार्यकर्तालाई संवैधानिक र कानूनी दायरा नाघेर उन्मुक्ति दिने भूल कदापि गर्नु हुँदैन।
मुलुकको अभिभावकीय भूमिकामा पुगेका पौडेलले संवैधानिक चौघेरामा रहेर निष्ठाको राजनीति र सरल जीवनशैलीलाई निरन्तरता दिन सकून्। फेरि बधाई!