प्रमुख पदमा पुरुषै-पुरुष
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन व्यवस्था लागू भएको डेढ दशकपछि फेरि राज्यका प्रमुख पाँच पदमा पुरुषै-पुरुष चयन भएका छन्।
राष्ट्रपतिका लागि फागुन २५ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भए। नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्।
देशमा संघीय गणतन्त्रात्मक समावेशी शासन व्यवस्था लागू भएपछि पहिलो पटक जनताका सन्तान राष्ट्र प्रमुख बने। संविधान सभाले राजतन्त्र अन्त्यको घोषणा गरेपछि २०६५ साउन ६ मा भएको निर्वाचनमा डा. रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति निर्वाचित भएका थिए।
डा. यादवको कार्यकाल सकिएसँगै २०७२ कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यसपछि २०७४ फागुन २९ मा भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि भण्डारी राष्ट्रपति चयन भएकी थिइन्। राष्ट्रपति भण्डारीको कार्यकाल यही फागुन २९ गते सकिंदै छ।
राष्ट्रपति भण्डारीको कार्यकाल सकिन चार दिन बाँकी छँदै पौडेल निर्वाचित भएका छन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।
त्यस्तै, राज्यको कार्यकारी प्रमुखमा पुष्पकमल दाहाल छन्। उनी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका थिए। त्यसपछि नेकपा (एमाले) सहित ६ दलको समर्थनमा पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए।
संघीय संसद्का दुवै सदनको प्रमुख पनि खस आर्य पुरुष छन्। प्रतिनिधि सभाको सभामुखमा गत माघ ५ गते देवराज घिमिरे निर्वाचित भएका थिए। एमालेको तर्फबाट उम्मेदवार बनेका घिमिरे नेकपा (माओवादी केन्द्र) लगायत ६ दलको समर्थनमा सभामुख बनेका थिए।
यसैगरी, राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना छन्। एमाले उम्मेदवार तिमिल्सिना २०७४ फागुन ३० मा भएको निर्वाचनमा माओवादीको समर्थनमा राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएका थिए। त्यतिवेला एमाले र माओवादीको गठबन्धन रहेको थियो।
न्यायापालिका पनि पुरुष कै नेतृत्वमा छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अवकास पाएपछि प्रधानन्यायाधीश नियुक्त भइसकेको छैन। अहिले हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन्।