धम्नीहवामा भियतनामी भिक्षुले दिएको सन्देश
फोहोर र अस्तव्यस्त रहेका धम्नीहवास्थित दुई स्तूपको सरसफाई गरेर भियतनामी भिक्षुहरुले बौद्ध सम्पदाको वातावरण शान्त र सफा राख्नुपर्ने सन्देश दिएका छन्।
प्राचीन कपिलवस्तुको एक महत्त्वपूर्ण पुरातात्विक स्थल तिलौराकोटबाट केही दूरीमा रहेको धम्नीहवास्थित दुई स्तूप क्षेत्रमा ९५ जना भियतनामी तीर्थयात्रीको समूह पुग्यो। बौद्ध क्षेत्रमा बौद्ध तीर्थयात्री पुग्नु नौलो त होइन, तर त्यो दिन उनीहरू समाचारको विषय बने।
धम्नीहवाका ती दुई स्तूप वरपर जथाभावी उम्रिएका झारपात एवं मानिसले फोलेका प्लास्टिक लगायतका अन्य फोहोर उनीहरूलाई निको लागेन। तुरुन्तै बजारमा गएर सामान ल्याई करीब तीन घण्टा लगाएर त्यो क्षेत्र सफा गरे। त्यसपछि आफ्नो संस्कारअनुसार सूत्रपाठ गरे।
धम्नीहवाका ती दुुई स्तूपको पुरातात्विक अवशेषबारे जानकारी दिने कुनै तथ्य प्रमाण प्राप्त छैन। भौतिक रूपमा जे जति उपलब्ध छ, त्यसैलाई पुरातत्व विज्ञानको कसीमा राखेर खोतल्ने हो। यी स्तूप पूर्व मौर्य कालमा नै बन्न थालेको र पछि आकारमा वृद्धि गरिएको ठम्याइएको छ।
स्तूपको उत्खनन कार्यमा संलग्न पुरातत्वविद् बाबुकृष्ण रिजालले गौतम बुद्धका बुबा शुद्धोधन र आमा मायादेवीसँग जोडेर व्याख्या गरेका छन्। उनका अनुसार ठुलो स्तूप बाबुसँग र सानो स्तूप आमासँग सम्बन्धित छ। यो अनुमान वा दाबीको आधार स्थानीय व्यक्तिको विश्वास रहेको उनले उल्लेख गरेका छन्।
त्यसो त सन् १८९५ सम्म प्राचीन कपिलवस्तुबारे थाहा भइसकेको थिएन। धम्नीहवाका यी दुई स्तूप पनि धेरै पछि भेटिएका थिए। पुरातत्वविद् स्वयंको अनुमान वा कल्पनालाई स्थापना गर्न स्थानिय व्यक्तिको विश्वास भनेको भन्दै मैले आफ्नो लेखनमा खण्डन गरेको हुँ। पुरुषका लागि ठुलो र महिलाका लागि सानो संकेत दिने बौद्ध परम्परा होइन पनि। यथार्थ जेजस्तो भए पनि धम्नीहवामा दुई स्तूप मौजुद छन् र तिनले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्व राख्छन्।
तथापि यिनको प्रचार हुन नसक्दा तिलौराकोट पुग्ने सबै तीर्थयात्री तथा पर्यटक नजिकै भए पनि यस स्थलमा पुगेका हुँदैनन्। स्तूप क्षेत्रमा सरसफाइ गरेको समाचार कतिपयलाई अचम्मको विषय बन्यो भने कतिले त्यति जाबो काम पनि विदेशी आएर गरिदिनु पर्ने भनी ग्लानी महसूस गरेको पाइयो।
स्वच्छ, सफा, हराभरा शान्त वातावरण बौद्ध स्थलहरूको न्यूनतम मापदण्ड हो। गौतम बुद्ध यस्तै वातावरण मन पराउँथे र त्यसमा खलल पार्ने नयाँ भिक्षुहरूलाई गाली पनि गर्थे। यस्तै शान्त वातावरण बौद्धहरूमा संस्कारको रूपमा नै विकास भएको भन्न सकिन्छ। विडम्बना, धेरै तीर्थयात्री तथा पर्यटक आउने भएर होला, बुद्धको जन्मस्थल लुम्बिनीलगायत केही ठाउँमा सरसफाईका लागि कर्मचारीको व्यवस्था गरिए पनि धम्नीहवाजस्ता ओझेलमा परेका ठाउँ प्रायः अव्यवस्थित, फोहर र उराठ लाग्दा हुन्छन्।
धम्नीहवामा भियतनामी बौद्धहरूले सरसफाइ गरिराखेको तस्वीर देख्दा मलाई भारतको नयाँ दिल्लीस्थित महात्मा गान्धीको हत्या भएको स्थान स्मरण भयो। गान्धी बिहानको प्रार्थना सकाएर बाहिर निस्कँदै गर्दा नाथुराम गोड्सेले गोली हानेका थिए। उक्त ठाउँलाई गान्धीको जीवन बुझाउने गरी संग्रहालयका रूपमा सुरक्षित राखिएको छ।
त्यहाँ जीवनको अन्तिम क्षणमा गान्धी कताबाट कतातिर हिडिरहँदा कताबाट उनलाई गोली हानियो र कस्तो वातावरण सिर्जना भयो भन्ने जानकारी पाइन्छ। त्यहाँ अहिले ठूलै बगैँचा बनाइएको छ। नयाँ दिल्लीको भ्रमण गर्न जानेहरूका लागि यो पनि आकर्षणको क्षेत्र बनेको छ, त्यो स्थान। केही दशकअघि त्यस स्थलमा पुग्दा एउटा अचम्म लागेको थियो, भ्रमणका लागि त्यहाँ पुग्नेलाई सरसफाई गर्ने अवसर पनि दिइँदो रहेछ।
यसै पनि चिटिक्क परेको र सरसफाई भइरहेको ठाउँमा थोरै पतिंगर बटुलेर भाँडामा राख्नु र कुचो चलाउनु कुन गाह्रो काम हो र? बरू एक चर्चित ठाउँमा स्वयंसेवा गर्न पाउनुलाई स्वर्णिम अवसरका रूपमा लिई त्यसको सम्झनालाई फोटोग्राफीमा उतारेर फर्कने गरेको पाइयो।
लुम्बिनी लगायतका बौद्ध क्षेत्रमा बौद्ध वातावरणको नितान्त अभाव छ। लुम्बिनीमा सबैभन्दा बढी दिक्क लाग्ने नै त्यहाँको होहल्ला हो। होहल्लाको आवाजलाई थोरै ध्यान दिएर सुन्ने हो भने स्पष्ट हुन्छ, नेपालीबाटै हुने गर्छ। स्तुपलगायतका पुरातात्विक भग्नावशेष माथि चढ्ने तथा चढेर फोटो खिच्नेहरूको चर्तिकला हेरिनसक्नु हुन्छ जसले सुरक्षाकर्मीलाई हैरान पनि पारिरहेको हुन्छ।
बडो मेहनत गरी हुर्काइएका बोटविरुवाको पात चुडाल्नु र फूल टिप्नुलाई नेपाली पर्यटकले नै आफ्नो अधिकार नै ठान्छन्। बौद्ध स्थलमा कस्तो वातावरण चाहिन्छ भन्ने नेपालीले हेक्का राखे पनि थाहा पाउने स्वदेशी तथा विदेशीलाई भने निको लाग्दैन।
कतिपय नेपाली जीवनमै पहिलो पल्ट लुम्बिनीजस्तो बौद्ध स्थलमा पुगिरहेका हुन्छन्। तिनलाई बौद्ध वातावरण कस्तो हुनुपर्छ भन्ने जानकारी नहुनु स्वाभाविक हो। यस अर्थमा बौद्ध स्थलबारे आधारभूत शिक्षा दिने राम्रो थलो लुम्बिनी बन्न सक्छ। बौद्ध धर्ममा सानाठूला सबै स्तुप पूजनीय हुन्छन् र आस्थाका सम्पदा हुन् भनेर जानकारी दिनुपर्छ। यी स्तूपको पुरातात्विक भग्नावशेष झन् संवेदनशील हुने भएकाले त्यसमाथि चढ्दा थप बिग्रन सक्नेबारे सचेत गराउनुपर्छ।
अहिलेदेखि यस्तो सचेतना प्रवाह गर्न सकेपछि संस्कारको रूपमा विकसित हुनेछ। त्यस्तै लुम्बिनी क्षेत्रमा प्रवेश गर्नेलाई सरसफाई तथा अन्य स्वयंसेवा गर्ने अवसर जुटाइदिने हो भने आगन्तुकलाई आफ्नो सहभागिताको अनुभव गराउनुका साथै यात्रामा थप रौनकता सिर्जना गर्न सकिन्छ।
धम्नीहवामा पनि पहिलेदेखि नै चुस्त, दुरुस्त सरसफाई भइरहेको भए र भियतनामी बौद्ध भिक्षुले स्वंयसेवा गरेको भए नेपालीले गौरवको रूपमा लिन सक्थे। तर, उपेक्षित अवस्थामा फालिएको ठाउँमा विदेशी तीर्थयात्रीले हेर्न नसकेर सफा गर्नु नेपालीका लागि ठूलो व्यङ्ग्य हो। भलै उनीहरूले सरसफाई गरेर पुण्य सञ्चय गरेको मन्तव्य दिए। तिनै भियतनामी वा त्यस्तै अन्य तीर्थयात्री वा पर्यटक भविष्यमा आउँदा हाम्रा बौद्ध स्थलहरू स्वच्छ, सफा, हराभरा र शान्त भएको अनुभव गरे भने हाम्रो निम्ति गौरवको विषय हुन्छ।