मिटरब्याज पीडितद्वारा मुख्यमन्त्री कार्यालय घेराउ
मिटरब्याज पीडितले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्।
बिहीबार मिटरब्याज पीडित संर्घष समितिको अगुवाइमा मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको हो। पीडितहरूले जनकपुरमा प्रदर्शन पनि गरेका छन्।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट पीडितहरू जनकपुर पुगेका थिए। सरकारले मिटरब्याजको कारणले डुबेका गरिबको समस्या सम्बोधन गर्न वास्ता नगरेको भन्दै पीडितले प्रदर्शन गरेका हुन्।
सरकारले वित्तीय संस्थाको सम्बन्धमा समेत प्रष्ट मापदण्ड निर्माण नगरेका कारण साहुबाट ऋण लिएकाहरू समस्यामा परेका छन्। सरकारले आफूहरूसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयन नगरेपछि सडकमा उत्रिनु परेको मिटरब्याज संर्घष समिति मधेश प्रदेशका संयोजक शारदा मिश्र बताए।
पटकपटक सहमति गरे पनि सरकारले कार्यान्वयन नगरेको मिश्रले बताए। अब माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाइ छ।