राष्ट्रपति चुनावको मतदान सकियो, केही बेरमा मतगणना हुने
राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ भने केही बेरमा मतगणना शुरू हुने भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ जनाले मतदान गरेका छन्। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका हुन्।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसदले मतदान गरेनन्। त्यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारार्थ भारत र नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन उपचारार्थ चीनमा भएकाले मतदानमा अनुपस्थित रहे। यस्तै, नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरीको मुद्दा रहेको, कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा गरेकाले मतदान गर्न पाएनन्।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेको पद खारेज भएकाले एक सीट खाली छ भने जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो।
त्यस्तै, प्रदेश सभा सदस्यमध्ये राप्रपाका २८ र नेमकिपाका तीन सांसदले मतदान गरेनन् भने जसपाका एक सांसद अनुपस्थित रहे।
आज बिहान १० बजेदेखि शुरू भएको मतदान अपराह्न ३ बजेसम्म चलेको हो। आजै अपराह्न ४ बजेदेखि मतगणना शुरू हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना शुरू गर्नुअघि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको छ। जसमा ४ बजेदेखि मतगणना शुरू गर्ने लगायत सात वटा निर्णय गरेको छ।
स्वस्तिक छाप नभएको मत बदर मानिने तथा उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गरिएको मत मात्रै सदर मानिने निर्णय गरेको छ। त्यस्तै, संघीय संसद् र प्रदेश सभाको अलग अलग मतगणना गर्ने, मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहने निर्णय भएको छ।
यसैगरी, पत्रकारको उपस्थितिमा मतपेटिका खोल्ने र मतगणनापश्चात् विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गर्ने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)को तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।