प्रसारण लाइन अभावमा मध्यभोटेकोशीको विद्युत् खेर जाने जोखिम
नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारहरूलाई समयसीमा दिएको छ।
तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौ प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सबस्टेशनको बुधबार अनुगमन भ्रमण गरी महत्त्वपूर्ण प्रसारण लाइन र सबस्टेशनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो।
आयोजना अन्तर्गत रामेछापस्थित नयाँखिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माणाधीन छन्। आयोजना अन्तर्गत बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेशन पनि निर्माण क्रममा छन्। लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेशन पनि निर्माण भइरहेको छ।
टोलीले प्रसारण लाइन र सबस्टेशन निर्माण जिम्मा पाएका ठेकेदारहरू, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरू लगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो। रूख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोध लगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ।
बाह्रबिसे सबस्टेशन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिशन एन्ड सबस्टेशन कन्ट्रक्शन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेशनमा जोडिने छ। मध्यभोटेकोशीको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
कार्यकारी निर्देशक घिसिङले असारभित्र सबस्टेशनको निर्माण नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए। “सबस्टेशन निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुल उपर गरिने छ,” उनले भने।
प्राधिकरणले मध्यभोटेकोशीको विद्युत प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ। तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेशन निर्माण अनिवार्य छ। मध्यभोटेकोशीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोडिने छ। २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेशनमार्फत १३२ केभीमा झारिने छ। त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेशनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ।
माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेशनसम्मको करीब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ। आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ। यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेशनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेशनका जोडिने छ।
कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेशन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएपछि मध्यभोटेकोशीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताए। बाह्रबिसे सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन्।
घिसिङले बाह्रबिसे बजारबाट सबस्टेशनसम्म जाने करीब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा शुरू हुनुभन्दाअघि नै निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए।
प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ। ७१ वटा टावर खडा गरिएको छ। १७.५ किलोमिटर तार तानिएको छ। यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेशनको ठेकेदारले नै पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दा समेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो।
प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो। यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ ब्यांक जमानत पनि जफत गरिएको थियो। त्यसपछि प्राधिकरणले गरेको नयाँ टेन्डर गरी ठेकेदार छनोट गरेको थियो।
बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने चार वटा टावरको जग हाल्ने काम जारी रहेको छ। १०३ वटा खडा गरिएको छ। स्थानीयको अवरोधका कारण लप्सीफेदीमा चार वटा टावर निर्माण शुरू हुन सकेको छैन। १२.५ किलोमिटर तार तानिएको छ। वन क्षेत्रको जग्गा प्रयोग, रूख कटानी, स्थानीयको अवरोध लगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ।