प्रधानमन्त्री दाहाल विरुद्धको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ।
रामेछापका ज्ञानेन्द्रराज आरण, चिरञ्जिवीवास गिरी, कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले फागुन २३ मा रिट दर्ता गरेका थिए। गत कात्तिकमा दरपीठ भएको रिट फागुन १९ मा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको आदेशपछि दर्ता भएको हो।
माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा १७ हजारमध्ये पाँच हजार हत्याको मात्रै जिम्मेवारी आफूले लिने धारणा राखेका थिए।
आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने निवेदकहरूको माग छ।