घरेलु मैदानमा दुई उपलब्धि हासिल गर्ने मौका
नेपाललाई घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग-२ को अन्तिम शृङ्खलामा जितेर एकदिवसीय वरीयता कायम राख्ने र विश्वकप छनोट प्रतियोगिताका लागि स्थान सुरक्षित बनाउने मौका छ।
आईसीसी विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृङ्खला फागुन २५ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। त्रिदेशीय शृङ्खलामा नेपाल, यूएई र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ।
लिग-२ अन्तर्गतका १४० खेलमध्ये १३४ खेल सम्पन्न भइसकेका छन्। अब ६ खेल मात्रै बाँकी छन्। त्रिवि मैदानमा हुने ६ खेल नेपालसँगै यूएईका लागि पनि महत्त्वपूर्ण छन्। दुवै टोली शृङ्खला ‘क्लीन स्वीप’ गर्ने लक्ष्य सहित मैदानमा उत्रिनेछन्।
नेपाललाई घरेलु मैदानमा दुई वटा उपलब्धि हासिल गर्ने मौका मिलेको छ। पहिलो, एकदिवसीय वरीयता कायम राख्ने र दोस्रो भारतमा हुने विश्वकपका लागि छनोट प्रतियोगितामा स्थान सुरक्षित बनाउने।
लिग-२ मा प्रतिस्पर्धा गरिरहेका सात टोलीमध्ये शीर्ष पाँच टोलीले एकदिवसीय मान्यता पाउनेछन्। त्यस्तै, शीर्ष तीन टोली विश्वकप छनोट प्रतियोगितामा भाग लिन पाउनेछन्।
अहिलेसम्म लिग-२ का १३४ खेल सम्पन्न हुँदा स्कटल्यान्ड ५० अङ्क सहित शीर्षस्थानमा र ओमन ४४ अङ्क सहित दोस्रो स्थानमा छ। त्यस्तै, नामिबिया ३९ अङ्क सहित तेस्रो र अमेरिका ३५ अङ्क सहित चौथो स्थानमा छ। यी चारै टोलीले सबै खेल खेलिसकेका छन्।
पाँचौं स्थानमा रहेको नेपालको ३२ अङ्क छ। छैटौं स्थानमा रहेको यूएईको ३१ र अन्तिम स्थानमा रहेको पपुवा न्यूगिनीको नौ अङ्क छ। तीनै टोलीले चार-चार खेल खेल्न बाँकी छ।
स्कटल्यान्ड, ओमन र नामिबियाले एकदिवसीय वरीयता कायम गरिसकेका छन्। चौथो र पाँचौं स्थानमा रहेर एकदिवसीय वरीयता कायम राख्न अमेरिका, नेपाल र यूएईबीच प्रतिस्पर्धा छ।
नेपालले सन् २०१८ मा पाँच वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो। त्यसलाई जोगाउन त्रिवि मैदानमा खेल्ने चारमध्ये कम्तिमा दुई खेल जित्नुपर्नेछ।
त्यस्तै, भारतमा हुने विश्वकपका लागि छनोट प्रतियोगिता खेल्न लिग-२ का उत्कृष्ट तीन टोलीले मान्यता पाउनेछन्। अहिले शीर्ष दुई स्थानमा रहेका स्कटल्यान्ड र ओमनले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित बनाइसकेका छन्।
अब तेस्रो स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिता खेल्न नामिबिया, नेपाल र यूएईबीच प्रतिस्पर्धा छ। नामिबिया सबै खेल खेलेर ३९ अङ्क सहित तेस्रो स्थानमा छ।
नेपालले त्रिवि क्रिकेट मैदानमा हुने चारै खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित बनाउने अवसर छ। नेपालले चारै खेल जितेमा ४० अङ्क सहित तेस्रो स्थानमा रहेर विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।
चार खेलमध्ये दुई खेलमा यूएईसँग र दुई खेलमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले फागुन २५ गते पपुवा न्यूगिनी, फागुन २८ गते यूएई, फागुन २९ गते पपुवा न्यूगिनी र चैत २ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिसकेको छ।
नेपाली टोली: रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जीसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्सन झा, भीम सार्की र ललित राजवंशी।
अतिरिक्त खेलाडी: सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी र अर्जुन साउद।