उर्मिलाको उडान
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी पूर्व कमलरी उर्मिला चौधरी (३६) यति वेला भने असहायलाई कानूनी सहायता प्रदान गर्ने उद्देश्यले कानूनमा स्नातक गरिरहेकी छन्।
डेढ दशकअघि साहुको घरमा भाँडा माझ्दै गर्दा उर्मिला चौधरीलाई स्कूल पनि सपना जस्तो लाग्थ्यो। यति वेला भने काठमाडौं स्कूल अफ ल गइरहेकी छन्, वकील बन्ने लक्ष्य सहित। बीए एलएलबी तेस्रो वर्षमा अध्ययनरत चौधरी भन्छिन्, “पढाइ सकिएपछि म जस्तै विपन्न परिवारका बालबालिकालाई कानूनी सहायता प्रदान गर्नेछु।”
उनको लक्ष्य छ, विपन्न बालिबालिकाको क्षेत्रमा काम गर्ने। त्यसका लागि अहिलेदेखि योजना बनाइरहेको बताउँछिन्। “जसरी म दुःखपीडाबाट संघर्ष गरेर यहाँसम्म आएँ त्यसरी नै म जस्ता सयौं बालिका दुःखकष्टपूर्ण जीवन बिताइरहेका छन्,” उर्मिला भन्छिन्, “उनीहरूको सहकर्मी र साथी बनेर काम गर्न चाहन्छु।”
दुई दशकअघि माघको शुरूआततिर जमीनदार, ठूलाठालु गाउँ-शहरबाट पश्चिम तराईका गाउँ पस्थे। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गाउँमा जहाँ थारू बस्ती थिए, त्यहाँबाट थारूका छोराछोरीलाई काम गर्न लग्थे।
आर्थिक रूपले कमजोर परिवारका छोराछोरीलाई मासिक तलब दिने, लेखाइपढाइ गर्ने आश्वासन दिएर लग्थे। दाङको गढवा गाउँपालिका-७ मानपुरकी उर्मिलालाई त्यसरी नै काठमाडौं लगिएको थियो। तर, ८ वर्षीया उर्मिलाको हातमा कापीकलम होइन, भाँडाकुँडा थमाइयो। सबैले खाएका भाँडाकुँडा माझ्ने र लुगा धुने काम गर्नुपर्यो।
घरमा आफूले खाएको भाँडा पनि माझ्न नसक्ने उनले काठमाडौंमा भने सबैले खाएका भाँडा माझ्नुपर्थ्यो। बिहान-साँझ भाँडा माझ्ने, दिउँसो लुगाकपडा धुने र घरको सरसफाइ गर्नुपर्ने उनकै जिम्मेवारी थियो। “मेरो भाग्यमा यस्तै लेखिएको रहेछ भन्ने सोच्थें,” उर्मिला त्यो समय सम्झिँदै भन्छिन्।
त्यसको केही वर्षपछि गैरसरकारी संस्था स्वान नेपाल र एफएनसीले दाङमा कमलरी उन्मूलनको अभियान शुरू गर्यो। गाउँबाट शुरू भएको अभियान शहरमा पनि पुग्यो। पश्चिम तराईका जिल्लाबाट चलेको अभियान काठमाडौं पुग्यो। त्यसकै प्रभावमा उर्मिलाले कमलरीबाट मुक्ति पाइन्।
साढे ११ वर्ष कमलरीका रूपमा बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिइन्। उनको सक्रियता देखेपछि दाङमा कमलरी उन्मूलन अभियानको अगुवा उनैलाई बनाइयो। कमलरी उन्मूलनका लागि साझा अभियानको संयोजक नै भइन्। त्यसको दुई वर्षपछि उनकै नेतृत्वमा दाङलाई कमलरी मुक्त जिल्ला घोषणा गरियो।
यसरी मुक्त कमलरी पनि आन्दोलनमा जोडिए। उनीहरूको संघर्षलाई विभिन्न संघसंस्था र समूहले साथ दिंदै गए। उनकै नेतृत्वमा मुक्त कमलरी विकास मञ्च गठन भयो। यही संस्थाको अगुवाइमा कमलरी मुक्ति अभियानले गति पायो। सबैतिरबाट दबाब परेपछि २०७० असार १३ मा सरकारले कमलरी मुक्तिको घोषणा गर्यो।
यो सफलताका लागि उनी सबैलाई श्रेय दिन्छिन्। अझ उनले पनि व्यक्तिगत रूपमा सफलता पाउँदै गइन्। बाल्यकालमा जसरी दुःखकष्ट पाइन्, युवावस्थामा भने सम्मान पाइन्। उनले जिल्लादेखि अन्तर्राष्ट्रिय स्तरसम्म थुप्रै सम्मान पाएकी छन्।
पाँच वर्षअघि मात्रै कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै नेडरल्यान्ड्सले उर्मिलालाई ‘लउरियट फ्रीडम फ्रम फेयर अवार्ड २०१८’ बाट सम्मानित गरेको थियो। प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसअघि मलाला युसुफजाई, आङ सान सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोन्ह इभान जस्ता व्यक्तिले पाएका थिए। अवार्ड पाउँदा उर्मिलाले भनेकी थिइन्, “यो अवार्ड मेरा सहकर्मी १३ हजार मुक्त कमलरीलाई समर्पित गर्न चाहन्छु।”
अहिलेसम्म उनले पाँच वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्रसंघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स पनि पाएकी छन्। यो सबैले आफूलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न हौसला प्रदान गरेको उनी बताउँछिन्।
कानूनको पढाइ सकेपछि पनि बालबालिकाकै क्षेत्रमा क्रियाशील रहने उनी बताउँछिन्। उर्मिला भन्छिन्, “सबैको साथसहयोग पाएँ भने अवश्य म त्यो ठाउँ पुग्नेछु र मैले देखेको सपना पूरा गर्नेछ।”