राष्ट्रपति चुनावको भोलि नै परिणाम आउने, यस्तो छ तयारी
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए।
संघीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र तयार पारिएको छ। मतदान अधिकृत सहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको पौडेलले बताए। बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभा सदस्य ५५० मतदाता छन्। मतदान गर्न महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ। निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै स्थान पनि व्यवस्था गरिएको छ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ।
निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्ट्रार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुलीलाई खटाइएको छ। निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जना कर्मचारीको टोली खटिनेछ।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधि तोकिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य शुरू हुने जनाएको छ। बिहीबार साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्। (रासस)