लैङ्गिक असमानताका सात स्वरूप
असमानता, गरीबी र मानव विकासका विविध पक्षबारे गहिरो अनुसन्धान मार्फत नवीन धारणा प्रस्तुत गरेका नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले सन् २००१ मा लामो लेख प्रकाशित गरेका थिए। फ्रन्टलाइन म्यागेजिनको अक्टोबर, २००१ अङ्कमा प्रकाशित लेखको पहिलो खण्डमा वर्णन गरिएको लैङ्गिक असमानताका सात स्वरूपको संक्षेपीकृत अनुवाद यहाँ प्रस्तुत छ।
सन् १८७० मा तत्कालीन बेलायती रानी भिक्टोरियाले सर थियोडोर मार्टिनलाई पत्र लेख्दै महिला अधिकारको आलोचना गरेकी थिइन्। पक्कै पनि शक्तिशाली महारानीलाई महिला अधिकारका मुद्दाले स्वीकार गरेका सुरक्षाका प्रबन्धहरू आवश्यक थिएन। पछि सन् १८९९ मा ८० वर्षको उमेरमा पनि उनले एजे बालफोरलाई पत्र लेखेकी थिइन्, ‘हामी पराजयको सम्भावनामा ध्यान दिंदैनौं, किनभने तिनको अस्तित्व नै छैन।’
तर, अधिकांश जनताको जीवन उनको जस्तो सहज हुँदैन। अनेकौं प्रतिकूल परिस्थितिबाट गुज्रिरहेका उनीहरू हरेक दिन अपमानित र पराजित भइरहेका हुन्छन्। र, हरेक समुदाय, राष्ट्र र वर्गमा कठिनाइँको बोझ महिलालाई नै बढी परिरहेको हुन्छ।
हामी बाँचिरहेको संसारमा अनेकौं कठिनाइ छन्। तिनको बोझ पनि असमान तरीकाले वितरण भएको छ। महिलाहरू पुरुषभन्दा बढी बोझ उठाउन बाध्य छन्। जापानदेखि मोरक्कोसम्म, उज्वेकिस्तानदेखि अमेरिकासम्म, संसारका अधिकांश भूभागमा लैङ्गिक असमानता कायम छ।
यद्यपि महिला र पुरुषबीचको असमानता विभिन्न स्वरूपमा प्रकट हुन सक्छ। पक्कै पनि जहाँसुकै लैङ्गिक असमानता एकै खालको छैन, तर विभिन्न प्रकारका समस्यालाई एकै ठाउँमा राख्न सकिन्छ। महिलाले भोगिरहेका सात प्रकारका लैङ्गिक असमानतालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ।
१) मृत्युमा असमानता
संसारका विभिन्न भागमा महिला र पुरुषबीचको असमानता जीवन र मृत्युसँग जोडिएको छ। ती ठाउँमा महिलाको मृत्युदर पुरुषभन्दा अत्यधिक छ, जसले सिङ्गो जनसंंख्यामा पुरुषको संख्या बढाएको छ। स्वास्थ्य सेवा र पोषणमा लैङ्गिक विभेद नभएका वा कम भएका समाजमा भने यसको ठ्याक्कै उल्टो छ। जनसंख्यामा महिलाको प्रधानता छ। उत्तरी अफ्रिका र एशियामा मृत्युमा असमानता अत्याधिक भएको पाइएको छ।
२) जन्ममा असमानता
छोरीलाई भन्दा छोरालाई महत्त्व दिने पुरुषप्रधान समाजमा लैङ्गिक असमानता आफैं अभिभावकमा छोरा जन्माउने चाहनाको रूपमा अभिव्यक्त हुन्छ। आधुनिक प्रविधिको विकाससँगै यो असमानता चाहनामा मात्र सीमित नभई लैङ्गिक छनोटका आधारमा हुने गर्भहत्याका रूपमा विकास भएको छ। चीन, दक्षिण कोरिया, सिंगापुर र ताइवानमा यसको अत्यधिक अभ्यास भएको पाइन्छ, जसको शुरूआत भारत लगायत दक्षिणएशियाली मुलुकमा पनि भएको छ। यो उच्च प्रविधिमा आधारित लैङ्गिक विभेद हो।
३) आधारभूत सुविधामा असमानता
जनसंख्याको चरित्र हेर्दा असमानता नदेखिएका समाजमा पनि महिलाले लैङ्गिक विभेद भोगिरहेका हुन्छन्। सम्भवतः संसारमै अफगानिस्तान मात्र त्यस्तो देश होला, जहाँको सरकार आफैं महिलालाई विद्यालय शिक्षाबाट वञ्चित गर्न उद्यत छ (सन् २००१ मा यो लेख प्रकाशित हुँदा त्यहाँ तालिवानी शासन थियो, २०२१ मा पुनः तालिवान शासन स्थापित भएपछि त्यहाँका महिला फेरि शिक्षा पाउन वञ्चित छन्)।
तर, एशिया र अफ्रिकामा अरू पनि कैयौं देश छन्, जहाँ बालिकाले विद्यालय जाने अवसर बालकले भन्दा निकै कम पाएका छन्। त्यस्तै समुदायमा स्याबासी पाउन लायकको हुन आफ्नो प्रतिभा निखार्न चाहिने अन्य धेरै आधारभूत सुविधाबाट महिला वञ्चित छन्।
४) विशेष अवसरको असमानता
विद्यालय शिक्षा लगायतको आधारभूत सुविधाको अवसरमा असमानता कम हुने समाजमा पनि युवतीले उच्च शिक्षाका लागि पाउने अवसर युवकको तुलनामा निकै कम हुने गरेको छ। उच्च शिक्षा र पेशागत तालीममा महिलाले भोग्ने विभेद यूरोप र उत्तरी अमेरिकाका संसारकै धनाढ्य देशहरूमा देख्न सकिन्छ।
यस्तो विभेद प्रायजसो महिला र पुरुषले काम गर्ने क्षेत्र नै ‘फरक’ हुन्छ भन्ने सतही मान्यतामा आधारित हुन्छ। यस्तो मान्यताले सदियौंदेखि स्थान पाउने गरेको छ। वर्तमान समयमा यस्तो मान्यता कमै मात्र अभिव्यक्त हुने गरेको भए पनि शिक्षा, तालीम र अन्य पेशागत विषयमा लैङ्गिक असमानता यूरोप र उत्तरी अमेरिकामै पनि प्रचुर छ।
५) पेशागत असमानता
पेशागत पदोन्नति र व्यवसायमा पनि महिलाले पुरुषको तुलनामा कमै मात्र प्राथमिकता पाउने गरेका छन्। जापानको उदाहरण हेरौं, जहाँ आधारभूत सुविधाको हकमा मात्र होइन, उच्च शिक्षामा पनि तुलनात्मक रूपमा लैङ्गिक समानता छ। तर, रोजगारी र व्यवसायमा प्रगति हासिल गर्नु पुरुषको तुलनामा महिलालाई निकै कठिन छ।
६) स्वामित्वमा असमानता
धेरैजसो समाजमा सम्पत्तिमा हुने स्वामित्वमा पनि ठूलो लैङ्गिक असमानता छ। घर र जमीन जस्तो आधारभूत सम्पत्तिको स्वामित्वमा ठूलो असमानता छ। सम्पत्तिको स्वामित्वमा भएको यो असमानताले महिलालाई कमजोर मात्र बनाएको छैन, उनीहरूलाई व्यावसायिक, आर्थिक र सामाजिक गतिविधिमा सहभागी हुन पनि अप्ठ्यारो बनाएको छ। यस्तो खालको असमानता संसारका धेरैजसो ठाउँमा कायम छ।
७) घरायसी असमानता
परिवारभित्र हुने लैङ्गिक असमानता विभिन्न रूपमा व्यक्त हुन सक्छ। छोराको लालसा, शिक्षा, पदोन्नति र उच्च पदमा मात्र होइन, महिलाद्वेषी नदेखिने सामान्य घरायसी कामको वितरण र शिशु स्याहारको हकमा यस्तो लैङ्गिक असमानता कायम रहेको हुन्छ। उदाहरणका लागि धेरैजसो समाजमा पुरुषले घर बाहिर काम गर्ने भएकाले घरको काम सम्हाल्ने जिम्मा त महिलाकै हो भन्ने ठानिन्छ। जबकि त्यस्तो प्रसङ्गमा पनि महिलाले पुरुषभन्दा बढी नै श्रम गरिरहनुपरेको हुन्छ। कसैले यसलाई ‘श्रम विभाजन’ पनि भन्ने गर्छन्, तर यसले महिलालाई कामको भार थोपरिरहेको हुन्छ।
यस्तो असमानताले परिवारभित्र मात्र असमान सम्बन्ध स्थापना गरेको हुँदैन, बरु यही कारणले पेशागत क्षेत्रमा र बाहिरी दुनियाँमा पहिचान बनाउने मामिलामा पनि असमानता कायम गरेको हुन्छ। साथै, यस्तो तथाकथित ‘श्रम विभाजन’ ले पेशागत क्षेत्रमा विभिन्न ज्ञान हासिल गर्ने मामिलामा पनि महिलालाई पछि पारिरहेको हुन्छ।