राजनीतिसँगै उद्यम
अधिकांश नेताले अपारदर्शी जीवन बिताइरहँदा केही महिला नेताले भने राजनीतिसँगै उद्यम मार्फत उदाहरण प्रस्तुत गरेका छन्।
नेताहरूको जिन्दगी कसरी चल्छ होला? अधिकांश नेता बिहानदेखि बेलुकासम्म राजनीतिक गतिविधिमै खटिएका देखिन्छन्। कार्यकर्ता भेटघाट, बैठकमै दिनचर्या सकिने उनीहरूको घर र भान्सा कसरी चल्छ होला? जिज्ञासा जाग्नु अस्वाभाविक होइन।
प्रायः नेताको आयस्रोत पारदर्शी छैन। उनीहरूले बुझाउने सम्पत्ति विवरण र सतहमै देखिने खर्चबीच आकाश–जमीनको फरक पाइन्छ। तर, केही नेताले भने राजनीतिक गतिविधिसँगै उद्यमलाई पनि सँगै लगिरहेका छन्। तीमध्ये तीन महिला नेताको उद्यमचर्चा यहाँ प्रस्तु्त छ।
राजनीतिसँगै खेती गर्दै देवी
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य देवी खड्काको अर्को परिचय हो, कृषकको। पति राजकुमार श्रेष्ठसँग मिलेर उनले दोलखाको गौरीशंकर गाउँपालिकामा ‘वुमन फ्लोरिस एग्रिकल्चर प्रालि’ सञ्चालन गरिरहेकी छन्। जहाँ कफी, एभोकाडो र केराको खेती गरिएको छ। तीन वर्षअघि स्थापना गरिएको यो कृषि फर्मको आफ्नै कथा छ।
त्यसो त माओवादी शान्ति प्रक्रियामा आएको दुई वर्षमा नै खड्काको व्यावसायिक कृषिकर्म शुरू भएको हो। २०६५ सालमा उनले दोलखामा ट्राउट फार्म खोलेकी थिइन्। तर, २०७२ सालको भूकम्पका कारण फार्म क्षतिग्रस्त भएपछि पुनः सञ्चालन गर्न नसकिएको सुनाउँछिन् खड्का। तैपनि उद्यम गर्ने उनको अभिलाषा भने छुटेन। माछा फार्म बन्द भएपछि उनले भक्तपुरमा गोलभेंडा खेती थालिन्। टनेल विधिबाट गरिएको गोलभेंडा खेतीले राम्रै आम्दानी गरिरहेको थियो, तर त्यति वेला भएको एउटा बहसले उनलाई भक्तपुरबाट दोलखा पुर्यायो।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकताबाट नेकपा बनेको थियो। खड्का दोलखाको जिल्ला इन्चार्ज थिइन्। जिल्लाका नौवटा पालिकाका जनप्रतिनिधिबीचको गोष्ठीमा कृषि अनुदान र कृषिजन्य काम असम्भव छ भन्ने टिप्पणी भएछ।
“त्यो टिप्पणीले मलाई भित्रैदेखि हल्लाइदियो, आफूले गरेर नदेखाएसम्म जनतामा विश्वास जगाउन सम्भव छैन भन्ने लाग्यो‚” खड्का सम्झिन्छिन्, “त्यसैले दोलखामै कृषिकर्म गरेर देखाउने सोच बनाएँ।” त्यही सोचको परिणाम हो, वुमन फ्लोरिस एग्रिकल्चर प्रालि।
खड्काका अनुसार‚ ५० लाखको लगानीमा यो फार्म शुरू गरिएको हो जहाँ अहिले थप दुई जना महिला पनि लगानीकर्ताका रूपमा सहभागी छन्। १२ जनाले खेतीको मौसममा आंशिक रोजगारी पाएका छन् भने तीन जना महिलाले पूर्णकालीन। बजार व्यवस्थापन भने खड्का आफैंले सम्हालेकी छन्। फार्ममा फल्दै गरेका कफी दक्षिण कोरिया, अस्ट्रेलिया, जापान लगायतका देशमा निर्यात गर्ने सम्झौता भइसकेको सुनाउँछिन् उनी। एभोकाडो र केरा भने स्वदेशी बजारमै खपत हुने आकलन छ उनको।
उद्यमले आफूलाई आत्मनिर्भर बनाउनुका साथै स्वच्छ राजनीति गर्ने आधार प्रदान गरेको उनको अनुभव छ। भन्छिन्, “राजनीतिमा स्वच्छ तवरले सक्रिय रहन र बच्चा पढाउन आत्मनिर्भर हुन उद्यमले आत्मबल बढाएको छ।”
लामाको बर्गर र कपडा कलेक्सन
नेकपा (एमाले)की केन्द्रीय सदस्य नवीना लामाका भने दुई वटा व्यवसाय छन्, दोभान पुल बर्गर हाउस र रिमठिम इथेनिक्स कलेक्शन। ढाका, अल्लो लगायतका स्थानीय सामग्रीबाट बनेका लुगाफाटा बिक्री हुने ठाउँ हो, इथेनिक्स कलेक्शन।
आफू सहित चार जना महिलाको संयुक्त लगानीमा यो कलेक्शन स्थापना गरेको लामा बताउँछिन्। त्यस्तै‚ बर्गर हाउस पनि तीन जनाको लगानीमा खोलिएको उनले जानकारी दिइन् जसमा लामाको मात्रै ७० प्रतिशत लगानी छ।
बजार व्यवस्थापनका लागि म्यानेजर राखेको बताउने लामाको दुवै व्यवसायले रोजगारी पनि सिर्जना गरेको छ। राजनीतिक काममा लाग्दा श्रीमान्ले व्यवसाय हेर्ने उनले बताइन्। व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा आत्मनिर्भर भएको र त्यसैका कारण राजनीतिमा सक्रिय हुन सकेको अनुभव छ लामाको। भन्छिन्, “व्यवसायकै कारण राजनीतिमा सक्रिय हुन सकेकी छु।”
साबुन बनाउँदै सुनार
वैज्ञानिक समाजवादी पार्टीको महिला संगठनकी अध्यक्ष धनकुमारी सुनारले ‘टिलिक्क झोल साबुन उद्योग’ स्थापना गरेको दुई वर्ष पूरा भएको छ। यसअघि बंगुर फार्म चलाएकी सुनारले त्यसको बजार व्यवस्थापनमा समस्या आएपछि यो उद्योग शुरू गरेकी हुन्। पार्टीकै १२ जना महिलाको सामूहिक लगानीमा यो उद्योग स्थापना गरिएको उनी बताउँछिन्। शुरूमा पाँच हजार र पछि थप पाँच हजार गरी १२ जनाले एक लाख २० हजार रुपैयाँ लगानी गरेर यो उद्योग थालिएको उनी बताउँछिन्।
आत्मनिर्भर समाजवादी अर्थतन्त्रको अभ्यास गर्ने पार्टीको नीति अनुसार नै आफूहरूले यो व्यवसाय थालेको सुनार सुनाउँछिन्। स्रोतसाधन, सम्पत्तिको पहुँचमा नेपाली महिलाहरूको आर्थिक स्वामित्व २६ प्रतिशत मात्र रहेको तथ्याङ्क प्रस्तुत गर्दै सुनार आर्थिक रूपमा स्वतन्त्र हुन पनि यस्तो अभ्यास आवश्यक पर्ने बताउँछिन्। भन्छिन्, “आर्थिक रूपमा स्वतन्त्र छैन भने अरू हिसाबमा पनि महिला स्वतन्त्र हुन सक्दैनन्।”
व्यक्तिगत चिनजानका आधारमा बजार व्यवस्थापन गरिरहेको बताउने सुनारको राज्यबाट आवश्यक सहयोग नपाएको गुनासो छ। उद्योग विस्तारका लागि ऋण लिने प्रक्रिया थालेको तीन महीना हुँदा पनि काम नबढेको उनले बताइन्। “महिला उद्यमीलाई ऋण लिन गाह्रो छ,” सुनार भन्छिन्, “सरकारले युवालाई स्वरोजगार बनाउने भने पनि प्रक्रियामा जान निकै कठिन छ, शक्ति हुने बिचौलियाहरूले महिला, विपन्नले पाउने ऋण पनि कब्जा गरेका छन्।”