साँघुरिंदो टौदहलाई बस्ती विस्तारको जोखिम
एकातिर मानव अतिक्रमणले दहको क्षेत्रफल घट्दै गएको छ भने अर्कोतर्फ कंक्रिट संरचना थपिंदा दहमा जमीन रिचार्ज भएर पुग्ने पानी कम हुँदै छ।
जाडो छल्न हिउँदका वेला साइबेरियादेखि काठमाडौंको कीर्तिपुरस्थित टौदह आइपुगेका आगन्तुक चराहरू फर्किने क्रम शुरू भएको छ। यी चराहरू वैशाखसम्म फर्किसक्छन्। गर्मी बढ्दै जाँदा टौदहमा पिरलो पनि शुरू हुन्छ। किनभने वर्षाअघिसम्म दहको पानी घट्दै जान्छ र माछा लगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा छटपटिन थाल्छन्।
“पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो‚” टौदह संरक्षणमा सक्रिय रामप्रसाद आचार्य भन्छन्, “वर्षामा वरपरका जमीन रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ। त्यसकारण पानीको सतह बढ्छ र हिउँदमा घट्छ।”
कुनै वेला दहको पानीले ढाकेको स्थान ११२ रोपनी थियो। अहिले दहको पानी भएको र डिल क्षेत्र करीब ९२ रोपनी मात्र छ। हाल कीर्तिपुर नगरपालिका-६ मा पर्ने बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई आसपासको भूभागबाट बगेका पानीले भरिदिन्थ्यो। हिउँद र सुक्खा याममा सतह घट्दै जान्थ्यो र अर्को वर्षा याममा फेरि उसैगरी पानीको सतह बढ्थ्यो। तर, दुई दशकयता टौदहमा पानी प्रवाह हुने जमीनमा कंक्रिटका संरचना थपिंदै गर्दा दहमा जमीन रिचार्ज भएर पुग्ने पानी कम हुँदै छ।
टौदहका प्राकृतिक मुहान मानव बस्तीमा खानेपानीका आपूर्ति गर्न उपयोग भइरहेका छन्। दह नजिकैको खहरेमा प्रदूषण बढेका कारण त्यहाँको पानी टौदहमा हाल्न मिल्दैन।
“खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ। विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमीनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न‚” आचार्य भन्छन्, “घना हुँदै गरेको बस्तीबीचबाट बग्ने बर्खे पानी सोझै दहमा पढाउँदा दहमा आश्रित माछा लगायत जलचर र चराचुरुङ्गी लगायत प्राणीलाई असर पुग्न सक्छ।” दहको पर्यावरण खलबलिएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उनको चिन्ता छ।
किंवदन्ती अनुसार, श्रीकृष्णले दहका रूपमा काठमाडौं उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले। त्यसपछि श्रीकृष्णले ती नागहरूलाई आश्रय दिन टौदह सृष्टि गरेका हुन्। त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामा परिणत भएको कथन छ।
भूगोलका शिक्षक आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको अक्सबो लेक (गोखुर ताल) हुन सक्ने बताउँछन्। नदी बाङ्गो भएर बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ। यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार बर्खे पानी हो। त्यसैकारण टौदहको क्षेत्रफल सधैं एकनासको छैन।
पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ। पानी कम भएका वेला अक्सिजन नपुगेर कैयौं माछा मर्ने गरेका छन्। गत वर्ष मात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरेको थियो।
माछा मार्न प्रतिबन्धित गरिनु र बौद्ध धर्मावलम्बीले माछाको भुरा ल्याएर छोड्दा दहमा माछाको संख्या बढेको थियो। दहमा एउटै माछा नौ किलोसम्मको फेला परेको आचार्यले बताए। दह घुम्न आउने आगन्तुकले माछालाई भटमासको मस्यौरा खुवाउँदा पनि माछाको संख्या बढेको थियो। तर‚ अहिले टौदह संरक्षण समितिले भुरा छोड्न र मस्यौरा बेच्न बन्देज लगाएको छ।
टौदहलाई पुरानै तरीकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविक विविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने पर्यावरणविद् जैलव राई बताउँछन्। कीर्तिपुर नगरपालिका–६ का वडाध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्ष जस्तै टौदहले ठूलो दुःख नदिएकाले यस वर्षको सुक्खा याममा पानीको कमी नहुने आशा व्यक्त गर्छन्।