नयाँ सडकको वृत्तान्त
जङ्कसन पिपलबोटः नयाँ सडकको कथा ले नयाँ सडकको विगत र वर्तमान मार्फत नेपाली राजनीति, साहित्य र सामाजिक परिदृश्यहरू पनि उजिल्याउँछ।
न्यूरोड भनौं कि नयाँ सडक? यो समीक्षात्मक टिप्पणीमा कतै न्यूरोड र कतै नयाँ सडक प्रयोग गर्नुमा अलमल र अल्पज्ञान हुन्छ। काठमाडौंमा अचेल नयाँ सडकभन्दा न्यूरोड नै लोकप्रिय छ।
न्यूरोडमा के छैन? सबथोक छ। अत्याधुनिकता छ। सम्पदा छ। संस्कृति छ। केही हुन्नथ्यो भने न्यूरोड रातमा बाहेक सधैंभरि भिडभाडमै रमाउने थिएन होला।
स्थानीयदेखि अन्तर्राष्ट्रिय ब्रान्डका लुगा कपडा हुन् वा अनुहार राम्रो बनाउने अनेकौं प्रशाधन सामग्री, भान्सामा चाहिने खाद्यान्न होस् वा कफी, चिया, रसिला, स्वादिला, अमिला, पिरा नेपाली र विदेशी परिकार पाइने क्याफे, अत्याधुनिक मोबाइल, कम्प्युटर तथा ग्याजेट्स भण्डार, ब्यांक तथा बित्तीय कारोबारदेखि सुनचाँदी व्यापार। न्यूरोडमा पाइने सामग्री उल्लेख गरिसाध्य हुन्न।
न्यूरोडमा जे जे छ त्यो खोज्न र यहाँ लेख्न समय मात्र होइन, ज्ञान र अध्ययन पनि फराकिलो चाहिन्छ। त्यही फराकिलो र व्यापक न्यूरोडलाई सबैले चिन्न र चिनाउन सजिलो हुने विशेष ठाउँ हो, न्यूरोड पिपलबोट। लेखक प्रकाश गुरागाईंले त्यसलाई जङ्कसन पिपलबोट: नयाँ सडकको कथा नाममा एउटा रोचक र ऐतिहासिक घटनाक्रमको दस्तावेजको रूपमा हामीमाझ ल्याइदिएका छन्।
लेखक नारायण ढकालका अनुसार‚ जङ्कसन पिपलबोटः नयाँ सडकको कथा मा उनी जस्ता धेरै लेखक, साहित्यकार, राजनीतिज्ञ तथा समाजमा परिवर्तनको विगुल फुक्ने र तिनलाई सघाउनेहरूको कथा छ। ढकालकै शब्दमा भन्दा पुस्तकमा एक युगको समग्र आत्मवृतान्त छ। ढकाल जस्तै एक समयमा विभिन्न माध्यमबाट संघर्ष गरेका व्यक्तिहरू छन् र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित उनीहरूका संघर्ष र स्वप्नील कामनाहरूको आरोह र अवरोह छ।
हाम्रो संस्कृतिमा पिपलको विशिष्ट महत्त्व छ। यसले शितल दिन्छ। हिन्दूहरूले पिपलको रुखमा विष्णुकी आमा लक्ष्मीको बास भएको विश्वास गर्छन्। पिपललाई सम्मान र पूजा गर्छन्। कतिपयले त पिपलको रुखमा सबै हिन्दू देवीदेवता हुन्छन् भन्ने विश्वासले नियमित पूजाआजा समेत गर्छन्। पिपलको पात शुभकार्यमा प्रयोग हुने गरेको पाइन्छ। सँगसँगै मानिसलाई व्यङ्ग्य गर्नुपर्यो भने पिपलपाते समेत भनिन्छ।
तर‚ अहिले हामीले देखिरहेको न्यूरोडको पिपलबोटको कथा अलि भिन्न छ। हामीले देखिरहेको न्यूरोडमा पिपलबोट छ। भुगोलपार्क छ। ११५ वर्ष उमेर खाएको गोरखापत्र छ। विशाल बजार छ। जुद्ध शमशेरको शालिक छ। जुद्ध वारुणयन्त्र छ। तर, स्वयं पिपलबोट र जुद्ध शमशेरकालीन नयाँ सडक भने पुरानो स्वरूपमा छैन।
जङ्कसन पिपलबोटः नयाँ सडकको कथा पढ्दा थाहा हुन्छ, नेपालमा पत्रपत्रिका तथा छापाखानाको विकास नयाँ सडकबाट शुरू भएको हो। नयाँ सडकले साहित्यकार जन्मायो। आम मानिसलाई लेखक बनायो। नाम चलेका साहित्यकार, पत्रकार, लेखक, राजनीतिकर्मीको सम्बन्ध जोड्यो। जोडिएको सम्बन्ध अटुट बनायो। पुस्तक लेखन, पठनदेखि सिनेमा दर्शनसम्मको संस्कृति नेपाल भित्र्यायो। राजनीतिक परिवर्तनको विगुल फुक्यो। मानिसमा विद्रोहको चेत घुसायो। प्राध्यापकदेखि लेखकसम्मलाई सिर्जनात्मक आन्दोलन कसरी गर्नुपर्छ, शासकलाई प्रश्न कसरी सोध्नुपर्छ भन्ने नमुना स्वरूप सकडमा ‘बुट पालिस’ गरेर देखायो।
व्यवस्था परिवर्तनको शंखनाद गर्यो। म स्थायी हुँ र म मात्र सत्ता हुँ भन्ने अहममाथि प्रश्न गर्यो। अहिलेको पुस्ताले अति नै आदर गर्ने चार महान् शहीद जन्मायो। निरंकुश राणाहरूदेखि सुधारिएको पञ्चायतसम्मलाई ढलायो। न्याय र संघर्षका गाथा कोर्यो। साहित्यकार, पत्रकार र राजनीतिकर्मी जहिल्यै विद्रोही मात्र होइन, रोमान्टिक पनि हुन्छन् र तिनले लेख्नेमात्र नगरी पुस्तकमा भनिए जस्तो धूमपान तथा मद्यपान गर्ने ‘सांस्कृतिक कार्यक्रम’ समेत गर्दा रहेछन् भन्ने मान्यता स्थापित गरायो। त्यतिमात्र होइन, राजनीतिका कुटिल पक्ष विवाद, षड्यन्त्र, शंका, जासुसी, छलकपट र धोखा पनि सिकायो।
जम्मा ३१५ पाने पुस्तकको भूमिकाको अन्त्यमा लेखक गुरागाईंले लेखेका छन्, ‘यो पुस्तक नयाँ सडकको यात्रा हो।’ भूमिका बाहेकका १५ शीर्षकमा उनले यात्री जसरी नै विगतको नयाँ सडक घुमेका छन्। पाठकलाई आफुसँगै घुमाएका छन्। पिपलबोट र नयाँ सडकसँग जोडिएका विभिन्न प्रसंगहरूको वृतान्त कहेका छन्। साहित्य, लेखन र पत्रकारिता लगभग उस्तैउस्तै सुनिने विधाहरूमा स्थापित व्यक्तित्वका आनीबानी, स्वभाव र विद्रोह चेतलाई दोहोर्याई तेहर्याई प्रस्तुत गरेका छन्। व्यक्तिका कथा भनिरहँदा त्यो वेलाको समग्र नयाँ सडकको ऐतिहासिक पाटो उधिनेका छन्।
सत्ता शक्तिमा टिकिरहनका लागि गठबन्धन अहिलेको राजनीतिमा नियमित कार्य जस्तै बनिसकेको छ। यस्तो गठबन्धन त २०१० साल भदौमा भएको काठमाडौं नगरपालिकाको चुनावमा पनि भएको रहेछ। नगरपालिकाको सभापति र उपसभापतिको चुनावमा त्यो वेला नेपाली कांग्रेस र तत्कालीन नेपाफ कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन भएको रहेछ। अहिले जसरी नै गठबन्धन गर्न र भत्काउन त्यो वेला प्रजा परिषद्का टंकप्रसाद आचार्यहरू चुनावकै दिनसम्म पनि बीपी कोइरालाको पछि लागेका रहेछन्। बीपी कोइराला कम्युनिस्टप्रति अनुदार भए पनि कांग्रेसले गठबन्धन तोडेन र नेकपाका जनकमान श्रेष्ठ नगर सभापति र कांग्रेसका प्रयागराज सुवाल नगर उपसभापतिमा विजयी भए।
पुस्तकमा समेटिएका राजनीतिका महत्त्वपूर्ण घटनाका संक्षिप्त टिप्पणीबाट नेपालको राजनीतिको केन्द्र त्यतिवेला नयाँ सडक नै थियो भन्ने अनुमान लगाउन सकिन्छ। जहाँ जुलुस र भाषण मात्र भएन। राजनीतिमा हुने खिचातानी, समूह, उपसमूहको संस्कृतिले पनि स्थान पायो। नयाँ सडकको पिपलबोट कतिसम्म केन्द्र बन्न सफल रहेछ भने राजनीतिक परिवर्तनमा आफ्नो अजेन्डा र गुप्तचरी घुसाउन भारतीय दुतावास उहिले नै त्यहाँ पुगेको रहेछ।
जङ्कसन पिपलबोटः नयाँ सडकको कथामा राजनीतिसँग जोडिएको यस्ता कैयौं किस्सा छन्, जुन अहिलेका पुस्ताका लागि रोचक त लाग्छन् नै ऐतिहासिक दस्तावेजका रूपमा यो पुस्तक संग्रहणीय पनि लाग्छ।
नयाँ सडकको अर्को पाटो सामाजिक परिवर्तन पनि हो। त्यो वेलाको नयाँ सडकले नेपालमा आधुनिकता भित्र्यायो। यसरी नयाँ सडक न्यूरोड भयो। साइकलदेखि मोटरसाइकल र गाडीसमेत नयाँ सडकले नै देख्यो। शान र शौकत मानिने विलासीका वस्तुहरू नयाँ सडकले नै भित्र्यायो। बालकृष्ण समले चढ्ने रोयल इन्फिल्ड बुलेट बाइक होस् वा लक्ष्मीप्रसाद देवकोटाले चढ्ने साइकल, गणेशमान सिंहको घोडसवारी समेत पहिलोपल्ट काठमाडौंले तत्कालीन नयाँ सडकमै देखियो।
त्यति मात्र होइन, कुनै वेला नयाँ सडक उपत्यका बाहिरबाट आउनेका लागि काठमाडौं चिन्ने पहिलो विन्दु थियो। त्यति वेला उपत्यकाबाट आउनेजाने बस स्टेशन नै सुन्धारा थियो। त्यसैले बाहिरबाट आउनेहरूका लागि नजिकैको नयाँ सडक घुम्ने काम पहिलो प्राथमिकतामा पर्थ्यो। विशाल बजारको लिफ्ट चढ्नैका लागि भए पनि मानिसहरू नयाँ सडक जान्थे।
काठमाडौं बाहिरका साहित्यकार तथा सर्जकका लागि भने पिपलबोट नै त्यस्तो ठाउँ थियो, जहाँ नपुगे के चाहिं गरिनँ मैले भनेर पछुतो समेत हुन्थ्यो। मनु बाज्राकी हुन् वा बासु शसी अथवा ध.च. गोतामे वा ध्रुवचन्द्र गौतम, राजनीतिज्ञ नारदमुनि थुलुङलाई समेत नयाँ सडक पिपलबोट नपुगी, त्यहाँको चिया नखाइ र दुई-चार साहित्यकारसँग मित्रलाभ, वार्तालाभ नगरी चित्त बुझ्दैनथ्यो। पिपलबोट पुगेर साहित्यका गफ गर्ने बाहेक खानपिनमा नभुल्ने विरलै भेटिन्थे।
साहित्य सर्जकहरूको लोकप्रिय स्थान, देशविदेशका पत्रपत्रिकाहरू पुग्ने ठाउँ, विद्रोही र सिर्जनशील समूह वा व्यक्तिहरूको भेटघाटको केन्द्र, चियापसल र भट्टीहरूको अड्डा, त्यो वेलाको नयाँ सडक अहिले अत्याधुनिक न्यूरोड भएको छ। अहिले त्यति वेलाका चिया पसलहरू उस्तै छैनन्। भट्टीहरू उही रूपमा भेटिन्नन्। पिपलबोट उही छ, तर त्यहाँ हुने गतिविधि उस्तै छैनन्।
धेरै थोक फेरिएको छ, नयाँ सडकमा। यो सडक पहिलेजस्तो जात्रा, जुलुस र फूटबलको शहर रहेन। जात्रा र जुलुस कुनै वेला यहाँको संस्कृतिका रूपमा चिनिन्थे। नेपालमा फूटबलको शुरूआत र लोकप्रियता यहींबाट शुरू भएको हो। आँखीझ्याल, काठका दुई फग्ल्याँटा ढाकेका, टिनको छानो र माटोको गारोले बनेका घर अब नयाँ सडकमा देख्न पाइन्न। तिनको ठाउँमा नयाँ र आधुनिक भवनमात्र बनेनन्, घरधनी पनि फेरिए। पुराना घरधनी नयाँ सडक छोडेर अन्यत्रै बस्न थालेका छन्।
पुस्तकले पाठकलाई परिवर्तन र आधुनिकतासँगै पुराना कला संस्कृति कसरी हराउँदै जाँदा रहेछन् भनेर सोचमग्न बनाउँछ। पुराना कुरा निमिट्यान्न नपारी नयाँ बनाउन सकिन्न र भन्ने प्रश्न सोध्ने पनि बनाउँछ।
पुस्तकको पृष्ठ २७४ को अन्तिम अनुच्छेद पुग्नै लाग्दा पढ्न पाइने ‘राणा शासनबाट गणतन्त्रसम्म आइपुग्दा नयाँ सडकमा एउटामात्र जुद्धकालीन घर बाँकी छ’ भन्ने वाक्यले भने एउटा सकारात्मक सोच पनि जन्माउँछ- त्यही एकमात्र घरलाई संग्रहालय बनाउन पाए कम्तीमा तत्कालीन जुद्धशमशेरकालीन नयाँ सडकको इतिहास नयाँ पुस्ताका लागि सधैंलाई जीवित त राख्न सकिन्थ्यो।
निसन्देह, जङ्कसन पिपलबोट: नयाँ सडकको कथा ऐतिहासिक दस्तावेज हो। जुद्धकालीन समयदेखि वर्तमानसम्मका धेरै कथा कहन्छ यसले। सबभन्दा बढी त यसले रक्सी र भट्टीका कथा एवं त्यहाँ जानेहरूको नाम भन्छ। पुस्तक पढ्दा बिझाइरहने पक्ष रक्सी र त्यसको सेवनकर्ताको अनावश्यक चर्चा हो। त्यो प्रसङ्ग ननिकाल्दा किताब खल्लो हुन्थ्यो होला, तर त्यति धेरै श्रम र समय रक्सीमा खर्च गर्दा सर्जकहरू जड्याँहा हुन्छन् भन्ने रूढीवादी चिन्तनलाई लेखकले स्वीकारेको भान हुन्छ।
भाषा र प्रस्तुति सरल भए पनि योभन्दा आकर्षक हुने प्रशस्त ठाउँ छन्। त्यसका लागि सम्पादकको छुच्चो हातको अभाव खड्किएको छ। लेखक गुरागाईं यसअघि कविको रूपमा सार्वजनिक भएका कारण पनि हुनसक्छ, उनको भाषामा कविताकै झल्को आउँछ।
यी सुधार्न सकिने कमजोरी हुन्। इतिहासबारे लेख्दा प्रशस्त सन्दर्भ सामग्री चाहिन्छन्, जसबारे लेखकले प्रशस्त ध्यान दिएका छन्। देखिने गरी मेहनत गरेका छन्। एउटा युगको समग्र इतिहास एउटा सानो पुस्तकमा समेट्छु भन्नु दुस्साहस नै हो। गुरागाईंले दुस्साहसी बन्ने कोशिस गरेका छन्। तर, नयाँ सडक र पिपलबोटबारे अरु पनि कथा आउनुपर्छ भनेर नै होला त्यसका लागि पनि उनले प्रशस्त ठाउँ छोडेका छन्।