प्रश्नहरूको पेटारो
‘माधवी ओ माधवी’ एक इन्द्रेणी संग्रह हो विषय, विधा र शैलीका दृष्टिले। छोटा वाक्यहरू मार्फत बिस्कुन सुकाए झैं विषय पस्कने शैलीका कारण संग्रह सुरुचिपूर्ण अनि बोधगम्य छ।
सन् १८८२ मा जर्मन दार्शनिक फेडरिक नित्सेले ‘ईश्वर मरिसकेको’ उद्घोष गरे। नित्सेले आफ्ना पुस्तकहरूमा उल्लेख गरेको यो उक्ति त्यसयता विभिन्न सन्दर्भमा प्रयोग हुँदै आएको छ। सन् २०२२ तिर फरक सन्दर्भमा राजनीतिक टिप्पणीकार एवं लेखक केशव दाहालले आफ्नो निबन्धका निम्ति एउटा मिल्दोजुल्दो शीर्षक जुराएका छन्- ईश्वरको पतन।
तर‚ दाहालले ‘ईश्वरको पतन’ दार्शनिक अर्थमा भनेका होइनन्। परिवारमा एकपछि अर्को विपत् आइलागेपछि ईश्वरमाथि अपार आस्था राख्ने त्यस वेलाका बालक एवं अहिलेका प्रौढेन्मुख दाहालले ईश्वरको (अ)न्याय का कारण ‘ईश्वरीय सम्प्रभुता’ माथि प्रश्न गरेका हुन्। अनि पितृ (खासमा मातृ) भक्त दाहाल ईश्वरलाई लोप्पा खुवाउँदै भन्छन्, ‘संसार भगवान्को कृपाले होइन, आमाको ममता र आशीर्वादले चल्छ।’
सन्दर्भ केशव दाहालको निबन्धाकृति माधवी ओ माधवीको हो। हुन त कतिपयले माधवी ओ माधवीको विधागत वर्गीकरणमा नै प्रश्न उठाउन सक्छन्। अनुभूति, निजत्व, स्मरण, विचार, नियात्रा र निर्बन्ध लेखन निबन्धको विशाल फैलावटभित्रै समाविष्ट हुन सक्ने हुँदा माधवी ओ माधवीलाई निबन्ध संग्रह भनिएमा शायद ‘पोलिटिकल्ली इन्करेक्ट’ हुँदैन।
२३ निबन्ध समेटिएको माधवी ओ माधवीमा दाहाल अनेकौं प्रश्न उठाइरहन्छन् र सन्देह गर्छन्। कतै उनी पुलकित हुन्छन् त कतै अवसादको सुस्केरा हाल्छन्। किनकि, पतन त्यहाँ ईश्वरभन्दा बढी मानिसहरूकै भएको देखिन्छ। उनका मातापिताले आराधना गरेका ईश्वरभन्दा उनी स्वयंले आदर्श मानेका मानिसहरू निष्ठाच्युत भएका देखिन्छन्।
दाहालका अधिकांश निबन्धहरू यिनै पतित र पतनोन्मुख मानिसहरूको सेरोफेरोमा बुनिएका छन्। सामन्तवाद समूल नष्ट गरेर सर्वहारा जनताको जीवनमा आमूल परिवर्तन ल्याउन शस्त्र र शास्त्र मार्फत आन्दोलनमा होमिएका कम्युनिस्टहरू जब अधिनायकवादी बन्न पुग्दछन् तब उनीहरूको पतन अवश्यम्भावी हुन्छ भन्ने दृष्टान्त उनका धैरै निबन्धहरूमा पाइन्छ।
दाहालका अधिकांश निबन्धहरू पतित र पतनोन्मुख मानिसहरूको सेरोफेरोमा बुनिएका छन्।
यसै सन्दर्भमा ‘मानव वधशाला’ कम्बोडियामा पोलपोटको शासनकाल (सन् १९७५-७९)मा भएको लाखौं नागरिकको गैरन्यायिक हत्याको त्रासदपूर्ण बयान हो। त्यसैगरी ‘नक्सलबाडीका नक्सलाइटहरू’ मार्फत दाहाल नक्सलवादी आन्दोलन तुहिनुका कारण खोतोल्छन्। कुनै वेला क्रान्तिले देदीप्यमान नक्सलबाडीमा व्याप्त मुर्दाशान्तिबाट दाहाल विस्मित हुन्छन् र लेख्छन्- ‘आज नक्सबाडीमा विद्रोहको न त अँगेनो छ न त झिल्को। आजका युवामा क्रान्तिको कुनै चासो छैन।’ अनि त्यस विद्रोहका जीवित पात्र खुदनलाल मल्लिकको साविती सुन्छन् र लामो सुस्केरा हाल्छन्। क्रान्तिकारीहरूबीचको फूट, अविश्वास र विग्रह नेपालको कम्युनिस्ट आन्दोलनभन्दा कति पनि फरक सुनिंदैन।
संग्रहको अर्को एउटा उम्दा निबन्ध हो- ‘मार्क्सका तीन अवतार’ जसमा मार्क्सका सच्चा अनुयायी दाहाल मार्क्सको देवत्वकरणको निन्दा गर्छन्। मार्क्सकै जन्मभूमि जर्मनी पुग्दा पूँजीवादका आलोचक मार्क्स आज विचारमा नभएर ‘सुभेनेयर’ सामग्रीमा रूपान्तरित भइरहेको देख्दा विचलित बन्छन्। एकातिर मार्क्सको प्रतिरूप (लुक-अलाइक) बनेर फोटो खिचाउँदै गुजारा गर्नेहरू र अर्कोतिर मार्क्सको देवत्वकरण गर्दै सत्तारोहण गर्नेहरूले सबैभन्दा बढी मार्क्समाथि नै अन्याय गरेको उनी ठहर गर्छन्। अनि मार्क्सको वस्तुकर र देवत्वकरण गर्नेहरूलाई दाहाल खबरदारी गर्छन्- मान्छेलाई ईश्वर हुनबाट बचाऔं, मार्क्सवादलाई सत्ताधारीबाट जोगाऔं।
संग्रहका अधिकांश निबन्ध दाहालका यात्राका उपलब्धि हुन्। उनी कोलम्बसका आँखाहरू लिएर यात्रामा निस्कन्छन्, मनमा उठेका प्रश्नहरू नयाँ साथीसँगीबीच पस्किन्छन् र उत्तरसँगै आत्ममन्थनमा स्वदेश फर्किन्छन्। किर्गिस्तानमा भेटिएकी इबेला (इबेलाको उडान) हुन् वा कुनै वेला भारतसँग लड्न सुरुङ खनेका र आज दिल्लीमा भारतकै एक महाजनलाई सुरक्षा दिइरहेका एक बेनामे नेपाली, दाहाल प्रश्न र आत्ममन्थन गर्न छुटाउँदैनन्।
मार्क्सको प्रतिरूप बनेर फोटो खिचाउँदै गुजारा गर्ने र मार्क्सको देवत्वकरण गर्दै सत्तारोहण गर्नेहरूले सबैभन्दा बढी मार्क्समाथि नै अन्याय गरेको उनी ठहर गर्छन्।
यथार्थमा प्रश्न नै माधवी ओ माधवीको मूल खाँबो हो। पुस्तक होस् वा फुटकर लेख, दाहाल त्यसैगरी प्रश्न सोध्छन् जसरी कुनै माझी नदी वा पोखरीमा जाल फाल्दै माछा बटुल्छ। उनको एउटा निबन्धको शीर्षक नै छ ‘देश अर्थात् प्रश्नहरू’ जसमा उनी के के कुराले देश निर्माण गर्छ भन्ने प्रश्न गर्दै आत्ममन्थन गर्छन्। ‘कति टाढा छ अमेरिका’ अमेरिका र नेपालबीचको भौतिक मात्र नभएर सांस्कृतिक र पद्धतिगत भिन्नता उपरको बहस हो।
अरूलाई प्रश्न गर्ने दाहालले स्वयंलाई समेत प्रश्न गर्न छुटाएका छैनन्। देब्रे बाटो रोज्दै लामो समयसम्म राजनीतिको मूलबाटो हिंडेपछि उनी एकाएक मूलबाटो छोडेर वैकल्पिक मार्ग रोज्न पुग्छन्। दुर्भाग्यवश वैकल्पिक बाटो पनि उनका निम्ति परिणाममुखी हुन सक्दैन। आफूले नेता मानेकालाई उनी ‘थोरै मात्र पनि योग्य’ देख्दैनन्। उनलाई लाग्छ, राजनीति असल मानिसहरूका निम्ति होइन किनकि शासन र सत्तामा सिन्डिकेट र कार्टेलको रजगज उनी देख्छन्। अनि लेख्छन्- हाम्रो लोकतन्त्रले सत्ता र शक्तिका परम्परागत चक्रव्यूह भत्काउनै सकेन। लोकतन्त्रका अगुवाहरू शक्ति संरचनाको व्यूहमा अभिमन्यु जसरी फसे। (जीवनको रङ, पृष्ठ: २०६)
देब्रे बाटो रोजेका दाहालले सबैभन्दा बढी प्रश्न र सन्देह देब्रे मार्गका पथिकहरूलाई नै गरेका छन्। ‘चुनावको खेती’ मा उनको स्वीकारोक्ति छ, ‘उवेला मलाई कम्युनिस्ट हुनुमा गर्व थियो, अहिले त्यो भ्रम लाग्दै छ। उवेला पार्टीहरू राजनीति गर्थे, अहिले लेनदेन गर्छन्।’
त्यसैगरी, ‘कमरेडको खैरो श्रीपेच’ मा वामपन्थको भ्रष्टीकरण उपर टिप्पणी गर्छन्, ‘२०४६ पछि बिस्तारै कमरेडहरू सिनेमा घर, डान्स बार, जुवाखाल र दरबारहरूमा भेटिन थाले। सरकारमा पुगेर कमरेडहरू श्रीपेच लगाउन थाले र भुइँमा आन्दोलनको दियो निभ्दै गयो।’
संग्रहका दुई निबन्धहरू ‘सुन्दर मन’ र ‘बादलमाथिको देशमा’ नियात्रा हुन्। पहिलो निबन्धमा दाहाल सुन्दरवन (भारत)को वर्णनातीत सुन्दरताबाट अभिभूत हुन्छन् र दोस्रो निबन्ध सभापोखरीको नियात्रा हो। त्यसैगरी ‘प्यारी जलजला’ हराएका आफ्ना दाइ गोविन्दकी प्रेमिका ‘म्याडम एस’ को खोजी अभियानमा केन्द्रित छ।
संग्रहको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण निबन्ध ‘माधवी ओ माधवी’ शीर्षकैले पनि संग्रहको शीर्ष निबन्ध हो। पौराणिक पात्र माधवीसँग लेखकको प्रेम उपरको यो स्वैरकाल्पनिक निबन्ध वाचाल र कुतुकपूर्ण छ। गृहस्थी त्यागेर प्रेमको संसारमा उडान भरेको यो निबन्धले पाठकलाई कल्पनाको उडानमा लैजान्छ। तर, जसै निबन्ध सकिंदै गर्दा लेखक वायुपङ्खी घोडाबाट खस्दै सपनाबाट ब्युँझिए जस्तै पाठक पनि एउटा आह्लादकारी पठनबाट हठात् विमुख हुन पुग्छन्। स्वैरकल्पनालाई यथार्थको धरातलमा अवतरण गराउने लेखकको प्रयास विधागत हिसाबले गडबड देखिन्छ। किनकि, असम्भव कुरा केवल सपनामा सम्भव हुने होइन, त्यो व्यक्तिको कल्पना (वा स्वैरकल्पना)मा हुन सक्छ। स्वैरकल्पना, जादुमयी यथार्थवाद विधागत रूपमै लोकप्रिय भइरहेको सन्दर्भमा माधवीसँगको प्रणयलाई सपनाको कुरा भनेर ‘डिसमिस’ गरिरहनु आवश्यक थिएन।
माधवी ओ माधवी एक इन्द्रेणी संग्रह हो विषय, विधा र शैलीका दृष्टिले। छोटा वाक्यहरू मार्फत बिस्कुन सुकाए झैं विषय पस्कने शैलीका कारण संग्रह सुरुचिपूर्ण अनि बोधगम्य छ। सरल वाक्य मार्फत गहकिलो प्रश्नको उठान गर्न सक्नु लेखकको सामर्थ्य हो।
पुस्तकको एउटै आलोच्य पक्ष चाहिं अनुभूति र वैचारिकी प्रवाहको बीचमा लामा लामा विवरण वा सूचना मिसाइनु हो। उदाहरणका लागि ‘नक्सलबाडीका नक्सलाइटहरू’ मा लेखक सशस्त्र विद्रोहको विश्व इतिहास केलाउन लाग्छन् भने ‘मार्क्सका तीन अवतार’ मा त उनले तीन पृष्ठ नै मार्क्सको जीवनी पस्केका छन्। युद्ध, मार्क्सबारे यस्ता सूचना हिजोआज सजिलै ‘गुगल’ मार्फत उपलब्ध हुन सक्छन्। यी विवरणको साटो लेखकले आफ्नै अनुभूति, विचार, विश्लेषण पस्केका भए श्रेयष्कर हुन सक्थ्यो।
पुस्तक: माधवी ओ माधवी‚ विधा: निबन्ध‚ लेखक: केशव दाहाल‚ प्रकाशक: किताब पब्लिशर्स‚ पृष्ठ: ३४१‚ मूल्य: ६०० रुपैयाँ