प्रधानमन्त्री दाहाल लगायतद्वारा सरकारसँग शान्ति प्रक्रियासँग सम्बन्धित कानून बनाउन माग
प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरूले शान्ति प्रक्रियासँग सम्बन्धित कानूनहरू बनाउन सरकारसँग माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालको नेतृत्वमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायलाई बृहत् शान्ति सम्झौता अनुसार टुङ्गो लगाउनुपर्नेमा जोड दिएका हुन्।
दाहाल सहित आठ नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं।”
शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको ‘प्रतिवाद’ गर्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा दाहाल, बाबुराम भट्टराई, सीपी गजुरेल, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल, कर्णजित बुढाथोकी र नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।
सर्वोच्च अदालतले पाँच हजार हत्याको जिम्मेवारी लिने घोषणा गरेका माओवादी अध्यक्ष दाहाल विरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी र पूर्व माओवादी नेताहरूले संयुक्त बैठक गरेका हुन्।