भीम सार्कीको अर्धशतकमा नेपालको २२९ रन
भीम सार्कीले पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
यूएईमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको खराब शुरूआत रह्यो। नेपालले ६८ रनमै पाँच विकेट गुमाएको थियो। ज्ञानेन्द्र मल्ल ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल एक र दीपेन्द्रसिंह ऐरी चार रन बनाएर आउट भए।
त्यसपछि भीम सार्कीले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे। लामिछानेले २७ रन बनाए।
यस्तै, सार्कीले आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरेर नेपालका लागि सम्मानजनक स्कोर बनाए। उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाए।
जसले गर्दा नेपालले आठ विकटको क्षतिमा २२९ रन बनाएको हो। त्यस्तै, नेपालका लागि आरिफ शेखले ४३, करण केसीले १७ र प्रतिश जीसीले ११ रन बनाए।
यूएईका लागि जुनैद सिद्दीकीले तीन, रोहन मुस्तफा र आर्यन लक्राले दुई-दुई तथा केपी मयप्पनले एक विकेट लिए।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो। त्यसपछि नेपाल, यूएई र पपुवा न्यूगिनीबीच फागुन २५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग-२ को अन्तिम शृङ्खला शुरू हुनेछ।