खडेरीमा बित्दै हिउँद, अन्न उत्पादन घट्दो
केही वर्षयताका हिउँद खडेरीग्रस्त हुँदै जाँदा गहुँ लगायत हिउँदे बालीको उत्पादन घट्दै गएको छ भने किसान समस्यामा पर्दै गएका छन्।
नरैनापुर गाउँपालिका-५ मटेहियाका अगुवा किसान रामनिवास यादव (४०)को गहुँ बाली चाहे जति सप्रिन सकेन। संयुक्त परिवारमा बस्ने यादवले डेढ बिघा जमीनमा गहुँ लगाएका छन्। तर, हिउँदे पानी नपरेपछि उनी बोरिङबाट सिंचाइ गरेर गहुँ हुर्काइरहेछन्। “पानी परेन, खेतमा बोरिङ भएकाले केही हदसम्म गहुँ ठीकै छ,” यादव भन्छन्, “वर्षा भइदिएको भए बाली अझै राम्रो हुने थियो।”
यादव जस्तै बाँकेको नरैनापुरका अधिकांश किसानले यसपालि बोरिङकै पानीको भरमा गहुँ हुर्काइरहेछन्। डिजेल तथा विद्युत्बाट चल्ने पम्पसेट लगाएर तान्नुपर्ने भएकाले बोरिङको सिंचाइ तुलनात्मक रूपमा खर्चिलो छ। यादवका अनुसार, एक कट्ठा जमीन सिंचाइ गर्न लगभग दुई घण्टा पम्पसेट चलाउनुपर्छ जसका लागि घण्टाको दुई सय रुपैयाँ खर्च लाग्छ।
त्यही खर्च गरेरै भए पनि उनले यसपालि गहुँखेती गरे। उनी भन्छन्, “विद्युत् वा डिजेल पम्पसेटबाट पानी तानेर सिंचाइ गरिएकाले मेरो सहित केही किसानको खेतमा गहुँ राम्रै छ। तर, यसरी सिंचाइ व्यवस्था गर्न नसकेका गाउँलेको खेतमा बाली त्यति सप्रिएको छैन।”
वरिष्ठ बाली वैज्ञानिक डा. टीकाबहादुर कार्कीका अनुसार, यसरी बोरिङ वा कुलोबाट भन्दा पनि वर्षाको पानीबाट हुने सिंचाइ बालीका लागि उपयुक्त हुन्छ। त्यसले उत्पादकत्व पनि बढाउँछ। “वर्षाको पानीले माटोलाई राम्रोसँग भिजाउने तथा चिस्यान टिकाइ राख्न सहयोग गर्छ,” डा. कार्की भन्छन्, “तर खडेरीको अवस्थाबाट बाली जोगाएर उत्पादन लिन भने व्यवस्थित सिंचाइको पहुँच सबै किसानसँग हुनुपर्छ।”
बाँकेको नरैनापुरले पछिल्ला वर्षमा अनिश्चित बन्दै गएको मौसमी गतिविधि र त्यसले खेतीपातीमा पारेको प्रभाव प्रतिनिधित्व गर्छ। पोहोर साल कात्तिकमा धान भित्र्याउने वेला भीषण वर्षा हुँदा यहाँका किसानले पाकिसकेको बाली गुमाउनुपरेको थियो। कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार, त्यो भीषण वर्षाका कारण २० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको थियो।
यसपालि बर्खामा खासै पानी परेन। स्थानीय तहले सुक्खाग्रस्त नै भएको घोषणा गर्यो। यहाँका ९० प्रतिशत किसानले धान रोप्नै पाएनन्। नरैनापुर गाउँपालिकाले रोप्ने वेला भएको घडेरीका कारण धान उत्पादनमा ८५ प्रतिशतले गिरावट आएको बताएको छ। बोरिङको पानी लगाएर रोपिएका क्षेत्रमा पनि उत्पादन खासै भएन।
गत वर्ष भित्र्याउने वेलाको बाढीबाट बाली जोगाउन सफल भएका किसान रामनिवास यादवका अनुसार, ४० मुरी धान फलेको खेतमा यो वर्ष २१ मुरी मात्रै भएको थियो। लगातार अनिश्चित बनेको मौसमी गतिविधिको साक्षी बनेको नरैनापुरको वास्तविकताले किसानको अवस्था बताउँछ।
बर्खामा चाहिएको वेला पानी नपर्ने, पर्दा आरीघोप्टे वर्षा भएर डुबान हुने, बाली भित्र्याउन नपाउने गरी पानी पर्ने फेरि हिउँदभर सुक्खा हुने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। परिणाम, कृषि र सिङ्गो खाद्य सञ्जाल प्रभावित भइरहेको छ। नेपालमा वर्षाको प्रवृत्तिमा आएको परिवर्तनले धान उत्पादनमा पारेको असरबारे विश्लेषणात्मक तथ्याङ्क विकास गरिसकिएको छैन। तथापि पानी पर्ने क्रममा आएको परिवर्तनको अनुभव भने प्रशस्त छन्।
बढ्दो हिउँदे खडेरी
हिउँद सकिएको छ, अहिलेसम्म पानी परेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार, चार महीनादेखि देशका अधिकांश स्थानमा पानी परेको छैन। “कर्णाली र सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्रका केही स्थानमा हिमपात र हल्का वर्षा भएको छ। बाँकी क्षेत्रमा लामो समयदेखि पानी नपर्दा खडेरीको अवस्था आएको छ,” विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल भन्छिन्।
मौसमी गतिविधिको अनुगमन गरिरहेकी डा. कँडेल यस वर्ष मात्र नभई पछिल्ला केही वर्षदेखि नै हिउँदे पानी पर्ने दर घट्दै गएको बताउँछिन्। “पछिल्लो १६ वर्षको तथ्याङ्क हेर्दा ६ वटा हिउँदमा मात्रै सरदरभन्दा बढी वर्षा भएको छ। अरू १० हिउँदमा कम भएको छ र यो वर्ष पनि सरदरभन्दा निकै कम वर्षा भएको छ,” उनी भन्छिन्।
२०६३ देखि २०७८ सालसम्मको तथ्याङ्क हेर्दा १० वटा हिउँदमा सरदरभन्दा कम वर्षा भएको छ। त्यसमध्ये २०६४, २०६५, २०७२, २०७३, २०७४ र २०७७ को हिउँदमा खडेरी नै परेको थियो। गत वर्षको हिउँदमा सरदर पानी परेको थियो। तर, यो वर्ष निकै कम पानी परेकाले खडेरीको अवस्था भन्न सकिने वरिष्ठ मौसमविद् कँडेल बताउँछिन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्षको हिउँद अवधिमा देशभर कुल १२.९ मिलिमिटर पानी परेको छ। यो हिउँद अवधिको अनुमानित औसत कुल वर्षा (६०.१ मिलिमिटर)को २१.४ प्रतिशत मात्रै हो। मंसीर १५ देखि फागुन १५ गतेसम्मको अवधिमा औसतभन्दा ७८ प्रतिशत कम पानी परेको छ।
नेपालमा वर्षभरिमा हुने कुल वर्षाको करीब ८० प्रतिशत वर्षायाममा हुने गरेको छ। हिउँद अवधिमा करीब ४ प्रतिशत र अरू समयमा बाँकी १६ प्रतिशत वर्षा हुने गरेको तथ्याङ्क छ।
पछिल्लो एक दशकभन्दा बढी अवधिको तथ्याङ्क विश्लेषण गर्दा हिउँदमा पानी पर्ने क्रम घट्दो देखिन्छ। हिउँदमा लामो समय पानी नपर्दा कृषि र खाद्य चक्रदेखि वायुमण्डलको स्वच्छतामा असर पर्ने बताउँछन् राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ बाली वैज्ञानिक डा. टीकाबहादुर कार्की।
यद्यपि हिउँदमा कम पानी पर्ने दर खडेरी प्रणालीकै रूपमा स्थापित भएको निर्णय निकाल्न सक्ने गरी अनुसन्धान नभएको उनको भनाइ छ। डा. कार्की भन्छन्, “विस्तृत अध्ययन विना यकीनका साथ हिउँदमा कम पानी पर्ने वा खडेरी प्रणालीका रूपमै स्थापित भएको भन्न सकिंदैन।”
हिउँदे वर्षाको प्रवृत्ति बुझ्न थप अनुसन्धान आवश्यक रहेको उनी बताउँछन्। त्यस्तो अनुसन्धानले जलवायु पूर्वानुमान सहित नीति निर्माणसम्मलाई सहयोग पुग्ने उनको भनाइ छ।
प्रभावित उत्पादन
त्यसो त नेपालमा हिउँदे वर्षामा कमी आउँदा बालीको उत्पादकत्वमा पर्ने प्रभावबारे अनुसन्धान भएको छैन। वरिष्ठ बाली वैज्ञानिक कार्की भन्छन्, “उत्पादनमा र उपादकत्वमा असर पर्ने स्थापित भएको छ। खडेरी लागेको हिउँद वा कम पानी परेको हिउँदमा उत्पादन हुने गहुँ, जौ, तोरी सहितका बालीको उत्पादन कम हुने गरेको देखिएको छ।”
नेपालमा विस्तृत अध्ययन नभए पनि अन्तर्राष्ट्रिय स्तरमा भएका अनुसन्धानले खडेरी र उत्पादकत्वबीच सम्बन्ध रहेको देखाएको डा. कार्की बताउँछन्। “हिउँदमा पर्ने वर्षा औसतभन्दा १० प्रतिशत मात्रै पनि कम हुँदा उत्पादनमा चार प्रतिशतभन्दा बढीले असर गर्ने जापानमा भएको एक अध्ययनले देखाएको छ,” कार्की भन्छन्, “त्यही अध्ययन नेपालमा ठ्याक्कै लागू नभए पनि वर्षा नहुँदा प्रमुख खाद्य बालीमध्ये पर्ने गहुँ सहितको उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने तथ्य त पुष्टि हुन्छ।”
हरिया वनस्पतिले सूर्यको प्रकाशको उपस्थितिमा हावाबाट कार्बनडाइअक्साइड र माटोबाट पानी लिएर ग्लूकोज अर्थात् खाना बनाउँछ। वर्षा कम हुँदा बिरुवालाई खाना बनाउन आवश्यक पर्ने पानी माटोमा नरहने बताउँछन् कार्की। पानीको कमीका कारण उत्पादकत्वमा भइरहेको गिरावटबारे गत वर्ष संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी निकाय आईपीसीसीले सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदनमा विस्तृतमा उल्लेख छ।
हिउँदे वर्षामा भएको गिरावटको असर नेपालमा भने मुख्यतः गहुँ बालीमा परेको छ। कृषि मन्त्रालयका अनुसार, धान र मकैपछि गहुँ नेपालमा उत्पादन हुने प्रमुख खाद्य बाली हो। देशभर करीब साढे सात लाख हेक्टरमा गहुँ लगाइन्छ जसको उत्पादन औसतमा तीन मेट्रिक टन प्रतिहेक्टर छ।
गहुँ उत्पादन हुने ६५ प्रतिशत क्षेत्र ओगटेको तराईका ८० प्रतिशत जति किसानसँग कम्तीमा बाँकेको नरैनापुरका रामनिवास यादवको जस्तै बोरिङबाट सिंचाइ गर्ने सुविधाको पहुँच छ। त्यसले खडेरीले उत्पादकत्वमा पार्ने असर केही हदसम्म कम गर्न सहयोग गरेको छ।
पहाड र उच्च पहाडमा हुने गहुँखेतीको आधाभन्दा बढी हिस्सा सबै प्रकारका सिंचाइ सुविधाबाट वञ्चित रहेकाले हिउँदमा पानी नपर्दा त्यहाँको उत्पादनमा असर पर्ने वरिष्ठ बाली वैज्ञानिक डा. कार्की बताउँछन्। “पहाड तथा उच्च पहाडका करीब तीन लाख हेक्टर क्षेत्रमा गहुँखेती हुन्छ, त्यसमध्ये खोला किनारमा रहेको करीब एक लाख हेक्टरमा कुनै कुलो वा सिंचाइको सुविधा होला,” उनी भन्छन्, “बाँकी क्षेत्रमा सिंचाइको कुनै सुविधा छैन र गहुँ सहितका बालीको उत्पादन त्यहाँका बासिन्दाको खाद्य सुरक्षाको प्रमुख स्रोत हो। यस्तोमा हिउँदे खडेरी सो क्षेत्रका लागि उत्पादकत्व र जीविकाका हिसाबले घातक बन्न सक्छ।”
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, हिउँदमा खडेरी परेका वर्षमा गहुँको उत्पादकत्वमा नकारात्मक असर परेको देखिन्छ। कम पानी परेका वर्षमा गहुँको उत्पादकत्वमा केही कमी आएको देखिएको छ। हिउँदे खडेरीको सामना गर्नुपरेको २०७२ सालमा गहुँको उत्पादकत्व २.३३ मेट्रिक टन प्रतिहेक्टर थियो जबकि अघिल्लो वर्ष उपादकत्व २.५९ मेट्रिक टन प्रतिहेक्टर थियो।
यस्तै औसतभन्दा बढी हिउँदे वर्षा भएको २०७६ सालमा गहुँको उत्पादकत्व प्रतिहेक्टर ३.०९ मेट्रिकटन थियो भने हिउँदमा खडेरी परेको २०७७ मा उत्पादकत्व घटेर २.९९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भयो। “यी तथ्याङ्कले पनि गहुँको उत्पादनमा हिउँदे पानी नपर्दा उत्पादन घट्ने गरेको पुष्टि हुन्छ,” बाली वैज्ञानिक डा. कार्की भन्छन्।
विकल्प अनुसन्धान
कृषि तथा खाद्य संगठनको एक अध्ययन अनुसार, सन् २०५० सम्ममा विश्वका करीब ६७ प्रतिशत जनसंख्या सुक्खाबाट प्रभावित हुनेछन्। नेपालमा पनि सुक्खा, खडेरी तथा अतिशय वर्षका घटना बारम्बार देखिन थालेकाले कृषिलाई केन्द्रमा राखेर यस्ता मौसमी घटनाबारे अध्ययन हुनुपर्ने बताउँछन्, बाली वैज्ञानिक डा. कार्की।
जलवायु परिवर्तन र मौसमी गतिविधिबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता महसूस भए पनि त्यसबारे वैज्ञानिक ज्ञान उत्पादन गर्ने र कृषि सहितका सरोकारका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी अध्ययन हुन भने सकेको छैन। जल तथा मौसम विज्ञान विभागले मौसमी गतिविधिलाई जलवायु परिवर्तनको विश्लेषणका लागि जानकारी हुने गरी अद्यावधिक गरिरहे पनि तिनको प्रभाव र प्रणालीगत आकलन स्तरको अध्ययन गरेको छैन।
“जलवायु सम्बन्धी जति अध्ययन हुनुपर्ने हो, त्यति भएको छैन। वर्षाको विज्ञान बुझ्न अध्ययन हुनुपर्छ। त्यसले सही पूर्वानुमानका लागि सहयोग हुन्छ,” वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल भन्छिन्, “राम्रो अध्ययन भयो भने लामो अवधिको पूर्वानुमान गर्न र मिल्ने खालको बनाउन सकिन्छ। त्यसले किसान सहित सबैलाई सहयोग गर्छ। पूर्व तयारीका लागि सहयोग पुग्छ।”
जलवायु परिवर्तनसँग अनुकूल हुन सक्ने गरी बालीको विकास तथा वैकल्पिक खेती प्रणालीबारे पनि अध्ययन, अनुसन्धान र परीक्षण हुनुपर्ने सुझाव कृषि वैज्ञानिकहरूको छ। “खाद्य सुरक्षाका लागि फेरिएको जलवायुजन्य परिवेशसँग जुध्न सक्ने अर्थात् सुक्खा सहन गर्ने जातका बीउबिजनको विकासमा अध्ययन गरिनुपर्ने देखिएको छ,” जलवायु परिवर्तनको सन्दर्भमा खाद्य सुरक्षालाई लिएर अध्ययन गरेकी डा. शोभा पौडेल भन्छिन्, “विशेष गरी कृषि मन्त्रालयले हावापानी प्रणाली र खेतीबालीलाई लिएर नीतिगत रूपमा नै निरन्तर अध्ययन तथा त्यस अनुसारको अनुकूलन प्रयासको व्यवस्था गर्नुपर्छ।”
कृषि मन्त्रालय पनि त्यस्तो अध्ययन नभएको जनाएको छ। “जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय अनुकूलन कार्ययोजना बन्दै छ। त्यसमा सुक्खा सहितका अवस्थामा के गर्ने भन्नेबारे पनि व्यवस्था गरिनेछ,” मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत विष्णुहरि देवकोटा भन्छन्, “हिउँदे खडेरी र बालीको उत्पादकत्वको विश्लेषण तथा त्यसले खाद्य सुरक्षामा पार्ने असरबारे मन्त्रालय स्तरबाट अध्ययन भने भएको छैन।”
देवकोटाले भनेको राष्ट्रिय अनुकूलन कार्ययोजना डेढ वर्षदेखि अलपत्र छ। कार्ययोजनामा आवश्यक कामहरू भइरहेको र मन्त्रालयगत जिम्मेवारी तथा समन्वयको व्यवस्था मिलाउन समय लागेकाले केही ढिला भएको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन महाशाखाले जनाएको छ।
नार्क भने आफूले गरिरहेको एक प्रयोगात्मक कृषि प्रणाली हिउँदे खडेरीको विकल्प हुन सक्ने जनाउँछ। “खडेरीको अवस्थामा गहुँ सहितका बालीका लागि संरक्षण खेती प्रणाली उपयुक्त विकल्प हुन सक्छ,” वैज्ञानिक कार्की भन्छन्, “नार्कमा हामीले खनजोत नगरी गर्न सकिने संरक्षण प्रणाली मार्फत गहुँ लगाएका छौँ। कम चिस्यान हुँदा पनि गहुँ राम्रो सप्रिएको छ। यो प्रणालीको विस्तार किसानसम्म भयो भने खडेरीमै पनि उत्पादनमा खासै असर नपर्ने हुन सक्छ।”
संरक्षण खेतीमा मशिन मार्फत लाइनमा बीउ लगाएर बाँकी भाग बाँझै छोडिन्छ अर्थात् खनजोत गरिंदैन। यसो गर्दा जमीनमा रहेको चिस्यान लामो समयसम्म टिक्ने र त्यसले बालीलाई सप्रिनका लागि सहयोग गर्ने कार्की बताउँछन्।
“त्यसैगरी सिंचाइ नरहेका पहाडी क्षेत्रमा वर्षाको पानी सङ्कलन गर्ने पोखरी बनाएर सो पानीलाई थोपा सिंचाइ प्रविधि मार्फत हिउँदे बालीमा उपयोग गर्न सकिन्छ,” उनी भन्छन्, “यो प्रविधिका लागि स्थानीय तहले नै काम गर्न सक्छन् र किसानका लागि सहज पनि हुन्छ। थोपा सिंचाइमा कुलो वा बारिङ मार्फत गरिने सिंचाइमा जस्तो पानी खेर पनि जाँदैन।”