सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको सांसद ओमविक्रम भाटले बताए। “सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने र सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेका छौं,” बैठकपछि माओवादी सांसद भाटले भने।
यसअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए। अध्यक्ष दाहालको निर्देशनपछि बसेको संसदीय दलको बैठकले सरकार पक्षमा उभिने निर्णय गरेको हो।
नेकपा (एमाले) संसदीय दलका राजेन्द्रसिंह रावल नेतृत्वको संयुक्त सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिंदै छन्।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले कांग्रेसका १९ सांसद छन्। सरकारमै रहेको नेकपा (एकीकृत समाजवादी)का चार सांसद छन्।
त्यस्तै, मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरेको माओवादीका सभामुख सहित ११ सांसद छन्। माओवादीको निर्णयसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने भएका छन्।
नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने विषयमा छलफल गरिरहेको छ। नागरिक उन्मुक्ति र कांग्रेसका नेता छलफल गरिरहेका छन्। उन्मुक्ति पार्टीका सात सांसद छन्।