नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दिउँसो बन्द नहुने
दिउँसो बन्द गरिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ।
सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएकाले सडक बन्द नहुने भएको हो। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार‚ सवारी साधन रोकेर पाँच ठाउँको पहाड काट्न शुरू गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको भित्तोमा विस्फोट गर्न लागिएको उनको भनाइ छ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो। सो डाँडोलाई काट्न कठिन भएको हो। उक्त डाँडा अझै ४० मिटर काट्न बाँकी छ। यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा छ। सिमल ताल, काली खोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ।
आचार्यका अनुसार, तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रिया चलिरहेको छ। अनुमति पाएसँगै एक महीनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए। -रासस