सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।
राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर गठबन्धनमा रहेका दलले फागुन १९ गते गोदावरीमा छलफल गरेका थिए। त्यही छलफलका क्रममा फागुन २१ गते दिउँसो १ बजे विश्वासको मत लिने सहमति भएको सांसद गीता चौधरीले बताइन्।
राजेन्द्रसिंह रावल नेतृत्वको संयुक्त सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनी नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार फागुन २१ गते प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले सभामुखलाई पत्र पठाएका छन्।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले कांग्रेसका १९ सांसद छन्। उनलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको छ। एकीकृत समाजवादीका चार सांसद छन्।
केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी पनि मुख्यमन्त्री शाहको पक्षमा देखिएका छन्। प्रदेश सभामा माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिका सात सांसद छन्।