अर्थतन्त्र ओरालो लाग्दा कष्टकर बन्दै जनताको जिन्दगी
कोभिड-१९ का कारण खस्किएको देशको अर्थतन्त्र झनै सुस्त हुँदा उपभोक्तादेखि व्यवसायीसम्मको दैनिकी कष्टकर बन्दै छ।
ठमेल भन्नासाथ मनमा दृश्य बनिहाल्छ, पर्यटकको भीडभाड। सधैं व्यस्त हुने सडक र बजार। ठमेलमै रहेको ‘फ्रेस बेकरी एन्ड क्याफे’ का दृश्यले भने त्यो अनुमान असत्य सावित गरिदिन्छ। पाँच वर्षअघि खुलेको यो क्याफे बजारमा भर्खरै स्थापित हुँदै थियो, कोभिड-१९ महामारी शुरू भइदियो। एक वर्ष बन्द भएपछि खुलेको क्याफेले अझै त्राण पाइसकेको छैन।
कोभिड-१९ महामारीअघि भीडभाड हुने क्याफेमा अहिले ग्राहकको प्रतीक्षा गर्नुपरेको बताउँछन् क्यासियर आसिम खान। “पहिले जसरी क्याफे चल्न छाड्यो, व्यापार राम्रो नहुँदा भाडा तिर्न पनि गाह्रो छ,” खान दुखेसो पोख्छन्।
नेपाल पर्यटन बोर्डका अनुसार, महामारीका कारण ठप्प पर्यटकको आगमन गत वर्षदेखि बिस्तारै बढ्दो छ। बोर्डका अनुसार, सन् २०१९ मा नेपालमा झन्डै १२ लाख पर्यटक आएका थिए। सन् २०२० त महामारीले ठप्प पारिहाल्यो। सन् २०२१ मा एक लाख ५० हजार पर्यटक आए। सन् २०२२ मा नेपाल आउने पर्यटकको संख्या ६ लाख १४ हजार पुग्यो।
पर्यटकको आगमन बिस्तारै उकालो लागे पनि महामारीको तुलनामा झन्डै आधाजसो छ। परिणाम, नेपाली अर्थतन्त्रसँग अवस्था सुधार हुने प्रतीक्षाको विकल्प छैन। “अहिले राम्रो नभए पनि आउने दिनमा राम्रो होला भनेर बसेको छु, सधैं यस्तै त नहोला नि,” खान भन्छन्।
त्यस्तै अवस्था छ, ठमेलमै ट्रेकिङ टीम ग्रूपका सञ्चालक विमल उपाध्यायको पनि। कोभिड-१९ महामारीभन्दा पहिला पर्यटकलाई सेवा उपलब्ध गराउन उपाध्यायलाई भ्याईनभ्याई हुन्थ्यो। यूरोप, अमेरिका र अस्ट्रेलियाका पर्यटकलाई ट्रेकिङ, टुर र एड्भेन्चर सेवा उपलब्ध गराउने व्यवसाय घाटामा भएकाले पुरानो बचतको भरमा थेगिरहेको उनी बताउँछन्। सन् १९९१ मा स्थापित ग्रूपले पहिलो पटक यस्तो सघन समस्या भोग्नुपरेको उपाध्यायको अनुभव छ।
कोभिड-१९ का कारण ओरालो लागेको नेपाली अर्थतन्त्रको गति उकालो लाग्न नसकेको अनुभव यी दुई व्यवसायीको मात्र होइन। सूचकहरूले त नेपाली अर्थतन्त्र ओरालो लागेको देखाउँछन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्ष ३ प्रतिशत पुगेको आर्थिक वृद्धिदर गत साउनदेखि असोजसम्म ०.८ प्रतिशतमा खुम्चिएको छ। पर्यटनमा मात्र होइन, खुद्रा र थोक पसल, घरजग्गा कारोबार लगायत क्षेत्रमा पनि मन्दी छाएको छ।
यो मन्दीको प्रभाव भोग्नेमध्ये एक हुन्, धादिङ नौबिसेका सुरज तामाङ। काठमाडौंमा ट्याक्सी गुडाउन थालेको १५ वर्षमा महामारीको समयमा बाहेक अहिले जस्तो मन्दी पहिले नभोगेको अनुभव छ तामाङको। कमाइ घट्दै गएको र महँगी बढ्दै गएको अनुभव सुनाउँछन् उनी। “ट्याक्सीको कमाइ पहिलेको जस्तो नभइँदिदा बच्चा पढाउन र घरखर्च चलाउन नै धौधौ भएको छ,” तामाङ भन्छन्, “पहिला दिनको चार हजारसम्म कमाइ हुन्थ्यो, अहिले १५ सय कमाउन पनि मुश्किल छ।”
बढ्दो महँगी र घट्दो आम्दानीको मारमा व्यवसायी मात्र होइन, मध्यम आय हुने उपभोक्ता पनि परेका छन्। २०५९ सालदेखि काठमाडौंबासी भएकी कपनकी देवकी न्यौपानेको गुनासो छ, “१२ सयमा पाइने चामल २५ सय, पाँच रुपैयाँ पर्ने साग ५० रुपैयाँ, आलु दुई सय धार्नी पुगिसक्यो, आम्दानी भने जहाँको तहीं छ।”
सिनामंगलको एक सहकारी संस्थामा मासिक २० हजारभन्दा कमको जागीर गर्ने न्यौपाने महँगी अनुसार आम्दानी नबढेकोमा चिन्तित छिन्। “काठमाडौंमा ज्यान पाल्नै गाह्रो छ, महँगी यस्तो छ। साग, गेडागुडीमा झोल हालेर भए पनि बाँच्नुपरेको छ,” उनको दुखेसो छ।
सरकारी आँकडाले नै अस्वाभाविक महँगी बढेको पुष्टि गर्छ। नेपाल राष्ट्र ब्यांकका अनुसार, गत पुसमा मूल्य वृद्धिदर ७.२६ प्रतिशत पुगेको छ जबकि अघिल्लो वर्षको यही ताका मूल्य वृद्धिदर ५.६५ प्रतिशतमा सीमित थियो। बितेका महीनाहरूमा त मूल्य वृद्धिदर अझ धेरै थियो। गत भदौमा मूल्य वृद्धिदर ८.६४ प्रतिशतसम्म पुगेको थियो।
खासगरी, खाद्यान्नको मूल्यवृद्धिका कारण सामान्य आय भएको विपन्न समूह चर्को मारमा परेको छ। युक्रेन-रुस युद्धले अन्तर्राष्ट्रिय बजारमै खाद्यान्नको मूल्य बढेपछि दैनिक जीवनमा प्रयोग हुने अधिकांश खाद्य वस्तुको भाउ बढेको छ। गत वर्षको तुलनामा चामलको मूल्य करीब एक चौथाइले बढेको छ। गेडागुडी, दाल, तेल लगायत खाद्यवस्तुको मूल्य पनि चुलिएको छ।
आर्थिक क्रियाकलापको सुस्तताका कारण वस्तु र सेवाको मागमा आएको कमीले साना र मझौला व्यवसायी उठ्नै नसक्ने गरी थला परिरहेका छन्। ठमेलमा पस्मिना पसल चलाउँदै आएका सन्तोष पराजुलीले कोभिड-१९ का कारण दुई वर्षसम्म बन्द पसल पुनः सञ्चालन गरेको सात महीना भयो, तर व्यापारले गति लिन सक्दा दिक्क छन्। पराजुली भन्छन्, “चिनियाँ पर्यटकको आगमन पहिला धेरै राम्रो थियो, चीनबाट दिनको चार वटा प्लेन आउँथ्यो। अहिले मुश्किलले एउटा मात्र चलेको छ, पर्यटकको कमीले दैनिक खर्च जुटाउन, भाडा तिर्न, चल्न गाह्रो छ।”
पछिल्ला महीनामा वित्तीय प्रणालीको सङ्कटको असर अर्थतन्त्रमा फैलिंदै गएको देखिएको छ। ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा आएको कमी र ऋणको चर्को ब्याजदरका कारण बजारमा आर्थिक क्रियाकलाप सुस्त भएका छन्। जसले गर्दा बजारको माग घटेको छ। घरेलु तथा साना उद्योगकी उपाध्यक्ष शोभा गुरुङ भन्छिन्, “देशमा उद्यमीलाई सुविधा छैन, वित्तीय पहुँचमा कमी भएकाले सरल कर्जा लिन नसक्दा उद्यमी समस्यामा परेका छन्।”
ब्यांकको ब्याजदर वृद्धिका कारण कैयौं व्यवसायले ऋण लिंदा ब्यांक तथा वित्तीय संस्थामा राखेको धितो लिलामीमा परेको छ भने समयमा ऋण तिर्न नसकेका सयौं उद्योगी कालोसूचीमा परेका छन्। कर्जा सुरक्षा केन्द्रका अनुसार, कालोसूचीमा पर्नेको संख्या ४३ हजार ६०० नाघिसकेको छ, जसमध्ये आधा जति पछिल्लो एक वर्ष यता थपिएका हुन्। आर्थिक क्रियाकलापको सुस्तताका कारण ऋणको सावाँ-ब्याज तिर्न नसकेका व्यवसायी थप कर्जाको दुश्चक्रमा पर्दै गएका छन्।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवराज अधिकारी सरकारले राम्रो नीति नबनाउँदा उद्यमीसँगै अन्य नागरिक समस्यामा परेको टिप्पणी गर्छन्। साना व्यवसायीले चर्को ब्याजदरमा ऋण लिनुपर्दा सधैंका लागि पलायन हुनुपर्ने अवस्था आएको अधिकारीको ठम्याइ छ। “सरकारले दुई थरी ब्याजदर बनाउनुपर्छ र साना व्यवसायीलाई ब्यांकसम्म पहुँच बढाउनुपर्छ,” अधिकारीको सुझाव छ।