विरप्पनका बडीगार्ड, जसले लेखे दुई सय प्रेमपत्र
भारतका चर्चित वनडाँकू विरप्पनका बडिगार्ड अन्बुराज एकदमै कठोर थिए, मर्न-मार्न तयार हुन्थे। जब प्रेममा परे, त्यसपछि भने शान्त मात्रै बनेनन्, प्रकृति र सौन्दर्यको वर्णन गर्दै आफ्नी प्रेमिकालाई दुई सय प्रेमपत्र लेखे।
भारतको दक्षिणी राज्य तमिलनाडुको काजुथापली गाउँमा काठको ढोका भएको सानो हल्का हरियो घरमा ‘प्रेमका राजा’ बस्छन्। ‘प्रेमका राजा’ अग्लो‚ शान्त ४३ वर्षीय अन्बुराजको नामको शाब्दिक अनुवाद हो। अन्बुराज र रेवतीका पाँच वर्षीय छोरा अगाराम र आठ वर्षीया छोरी याजिसाई छन्।
एक दशकअघि अन्बुराज र रेवती एकअर्कालाई तारन्तार चिठी लेखिरहेका थिए। केही वर्षमै लगभग ४०० पत्र लेखेका उनीहरूले यसरी एकै घरमा सँगै हुन्छौं भन्ने सपनामा पनि देखेका थिएनन्। किनकि‚ पत्र आदानप्रदान गर्दा उनीहरू छिमेकी राज्य कर्नाटकको दुई उच्च सुरक्षायुक्त जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए।
“वास्तवमा चिठीकै कारण हामी प्रेममा परेका थियौं‚” ३२ वर्षीया रेवती मुस्कुराउँदै भन्छिन्, “चिठी आएपछि मेरा साथीहरू मलाई कसरी जिस्क्याउँथे भन्ने राम्रो सम्झना छ।”
नायकलाई पछ्याउँदा जेल जीवन
पहिलो पत्र पठाएको केही दशकअघि अन्बुराज काजुथापलीमा हुर्कंदै थिए। त्यो गाउँको नामको अर्थ ‘गधाको खोल्सी’ हो। छिमेकी पहाडका जङ्गलहरूमा बसोबास गर्ने सोलिगा आदिवासीहरूले गधालाई पानी पियाउन काजुथापलीका खोल्सामा ल्याउने हुनाले गाउँको नामै ‘गधाको खोल्सी’ भएको अन्बुराज बताउँछन्।
अन्बुराजका आमाबाबु दुवै घरेलु तानमा कपडा बुन्थे। उनकी ६५ वर्षीया आमा अन्नाकोडी अझै पनि खुट्टे तान चलाउँछिन्। अन्बुराजसँग कुराकानी गरिरहँदा उनी घरबाहिर रङ्गीन ‘डोरम्याट’ बुनिरहेकी थिइन्। अन्बुराजका बुबा छोरालाई प्रहरीको हाकिम बनाउन चाहन्थे। तर‚ छोराको रुचि अन्तै थियो। “आठ वर्षको हुँदा मैले वनडाँकुको समूह त्यही पहाडमा घुम्ने गरेको कथा सुनेको थिएँ‚” अन्बुराज भन्छन्‚ “तर‚ गाउँलेहरू कसैले पनि देखेका थिएनन्।”
वनडाँकु बिरप्पन एक कुख्यात शिकारी र चन्दन तस्कर भए पनि उनलाई तमिलनाडु र कर्नाटकका धेरै गाउँले र आदिवासीहरूले मन पराउँथे। “सन् १९७२ मा भारत सरकारले वन्यजन्तु संरक्षण ऐन ल्यायो। त्यसको भोलिपल्टै शिकारी आदिवासी र वनमा आश्रित गाउँलेहरू अपराधी बने‚” अन्बुराज बताउँछन्।
नवगठित वन विभागले खानेकुराका लागि वनमा आश्रित आदिवासीलाई दबाब दिएको तर विकल्प नदिएको उनको भनाइ छ। वन्यजन्तु संरक्षण ऐन ल्याएपछि सरकार र वनमा आश्रितहरूबीच ठूलो खाडल बन्यो। त्यसले वनमा निर्भर आदिवासीहरूलाई सरकारी दमनबाट जोगाउने नेताका रूपमा बिरप्पनको उदय भयो।
किशोर अन्बुराज बिरप्पनबारे जान्न उत्सुक थिए। त्यही वेला उनले सेवी नामक एक पुरानो गाउँले कथावाचकमा आफ्नो नायक भेट्टाए। सेवी प्रेमका कुरा गर्थे, गाउँका विवादहरू समाधान गर्न मद्दत गर्थे र सम्पूर्ण गाउँको ध्यान खिच्ने खालका नैतिक कथाहरू सुनाउँथे।
अन्बुराज १५ वर्षको हुँदाको एउटा घटना जसले उनी र उनका नायक सेवीको जीवन सदाका लागि बदलियो। कोलाहल सुनेपछि अन्बुराज घर बाहिर निस्किए। प्रायः शान्त रहने गाउँ त्यो दिन बर्दी लगाएका मानिसहरूले भरिएको देखे। त्यो बिरप्पन र उनका सहयोगीहरूलाई पक्राउ गर्न गठित विशेष प्रहरी बलको पल्टन रहेछ। अन्बुराज छक्क पर्दै बिस्तारै भीडतिर बढे। भीडको बीचमा वृद्ध सेवी नाङ्गै गुँडुल्किएर बसेका थिए। वृद्ध मानिसलाई प्रहरीले लाठी हानेको देखेर गाउँलेहरू स्तब्ध थिए।
महिलाहरूले प्रहरीहरूलाई रोके। गाउँलेहरूले कथावाचक सेवीलाई लुगा लगाइदिए। प्रहरीहरूले भने बिरप्पनलाई समर्थन गर्ने जोकोहीको हालत त्यस्तै हुने चेतावनी दिए। अन्बुराजले आफ्ना नायकलाई झुपडीमा फर्केको देखे, तर त्यो अन्तिम पटकको भेट थियो भन्ने उनलाई थाहा भएन।
“सेवी थाथा (हजुरबा) त्यसपछि कथा सुनाउन कहिल्यै बाहिर आउनुभएन। महीना दिनभित्रै उहाँ बित्नुभयो‚” अन्बुराज भन्छन्। सेवीको मृत्युले अन्बुराजमा चोट पार्यो। त्यसपछि उनले जङ्गलका विद्रोहीहरूसँग हातेमालो गर्ने अठोट गरे।
एक दिन १७ वर्षीय अन्बुराज पहाडमा भेडा चराइरहेका थिए। त्यही वेला उनको भेट बिरप्पनसँग भयो। बिरप्पनले जिज्ञासु स्वभावका अन्बुराजलाई मन पराइहाले। त्यसपछि आफू नजिक राखेर जङ्गलको जीवनशैली सिकाए। अन्बुराजले बिरप्पनको सुरक्षा गर्ने, सामान बोक्ने र अह्राएका काम गर्नुपर्थ्यो।
“म बिरप्पनको निर्देशन अन्धाधुन्ध पालन गर्ने सिपाही भएँ। उनले भनेका जोकोहीलाई कुटपिट गर्नुपर्थ्यो‚” उनी सम्झिन्छन्। एक वन अधिकारी र दुई जना स्वतन्त्र फोटोग्राफरलाई फिरौतीका लागि अपहरण गरेको दुई वटा अपराधमा आफ्नो संलग्नता भएको उनी सम्झन्छन्।
अन्बुराज डाँकु समूहमा सामेल भएको तीन वर्षपछि बिरप्पनले उनी सहित केही डाँकुलाई पुलिससामु आत्मसमर्पण गर्न निर्देशन दिए जुन राज्य सरकारसँगको मेलमिलाप प्रयासको एक अंश थियो। सरकारले आत्मसमर्पणका बदलामा उक्त समूहलाई माफी दिने प्रतिबद्धता गरेको थियो। बिरप्पनको निर्देशन अनुसार प्रहरीसामु आत्मसमर्पण गरेको र गहभरि आँसु पारेर बिरप्पनसँग बिदा भएको क्षण ताजा रहेको अन्बुराज बताउँछन्।
उनीहरूले आत्मसमर्पण गरेपछि भने राज्य सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्यो। अन्बुराजहरू विरुद्ध मुद्दा चलायो। सरकारले आफ्नो वाचा पूरा गर्दैन भन्ने विश्वास रहेकाले नै बिरप्पन आत्मसमर्पण नगरी भागे। तर‚ सन् २००४ मा राज्य प्रहरीको आक्रमणबाट उनको मृत्यु भयो।
वनडाँकुहरूलाई सहयोग गरेको र अपहरणमा सहयोगी भएको आरोपमा जन्मकैदको सजाय सुनाइदा अन्बुराज २० वर्षका थिए। “न्यायाधीशले फैसला सुनाउँदा मलाई मृत्युको घण्टी बजे जस्तै लागेको थियो‚” उनी भन्छन्‚ “अन्तिम सास रहेसम्म मैले सजाय भोगिरहनुपर्छ भन्ने लागेको थियो।”
नाटकले जुराइदिएको सम्बन्ध
“जेलका खाना, पानी सबै कुरा खराब थिए‚” अन्बुराज सम्झिन्छन्‚ “हामीलाई दुई वटा कचौरा दिइएको थियो; एउटा खानका लागि र अर्को दिसापिसाबका लागि। हाम्रा फोहोर भोलिपल्ट आफैं हटाउनुपर्थ्यो। यो सबैभन्दा खराब पक्ष थियो।”
जेलमा भएको सामान्य मानवीय मर्यादाको अभावले अन्बुराजलाई स्तब्ध बनायो। त्यसैले सरसफाइ‚ सुविधाको माग गर्दै उनले विरोध प्रदर्शन गरे। अधिकारी समक्ष लिखित माग राखे। उनलाई आशा थियो- यस मागले जेलको सुधार हुनेछ। शौचालय सुविधा थपिनेछ।
विरोधका कार्यक्रम नहुँदाका समय अन्बुराज अध्ययनमा लगाउँथे। उनले पढेकामध्ये हेनरी क्यारियरको उपन्यास पेपीलोन पनि हो। यसको मुख्य पात्र फ्रान्सेली उपनिवेशको कारागारबाट भागेको कथा छ। यो कथाले अन्बुराजलाई प्रभाव पार्यो। “हेनरीमा जस्तै म बाँकी जीवन जेलमा बिताउन तयार थिइनँ। मैले जेलको अग्लो पर्खालबाट उम्कने योजना बनाएँ‚” उनी भन्छन्।
जेलबाट भाग्ने उपाय खोजिरहेको वेला अन्बुराजले कैदीहरूका लागि नाटक आयोजना गर्न आएका एक प्रसिद्ध नाटक निर्देशकलाई भेटे। त्यसपछि उनको योजना परिवर्तन भयो।
नाटकहरू प्रायः जेल बाहिर आयोजना हुन्थे। जेलबाट भाग्न सजिलो हुने आशामा अन्बुराजले आफू बसेको जेलमा अभिनेता र नाट्य प्राविधिकहरूको टोली स्थापना गर्न भूमिका खेले। यसले उनलाई मुक्त त गर्यो, तर सोचे जस्तो भएन।
नाटकहरूमा काम शुरू गर्नुअघि कैदीहरूलाई कार्यशालाहरूमा उपस्थित हुन भनियो। कार्यशालामा उनीहरूले चित्रकारिता, माटोका नमूनाहरू बनाउने र नृत्य आदि गरे। “त्यो प्रत्येकका मानसिकतालाई बाहिर ल्याउने उपाय थियो‚” अन्बुराज भन्छन्‚ “मैले जीवनमा कहिल्यै कुची वा क्यानभास चलाएको थिइनँ, तर दुई वटा ठूला चित्र बनाएँ। पूरा तीन महीना अनुभूतिमा डुबें। जेलभित्र सूर्योदय वा सूर्यास्त देख्न नपाउने भएकाले मैले सूर्योदयको चित्र बनाएँ।”
अर्को ६ महिना उनी नाटकको संसारमा डुबे। प्रत्येक स्किप्ट र पात्रले उनको आत्मासँग कुरा गरे। “जब म लेडी म्याकबेथ आफ्नो हातबाट रगतको गन्ध पखाल्न नसक्ने चिन्तामा रोएको दृश्य पढ्थें, म उसको अपराधबोधसँग जोडिन पुग्थें‚” अन्बुराज भन्छन्।
यसपछि अन्बुराजले आफूबाट पीडितहरूसँग माफी माग्नुपर्ने महसूस गरे। हरेक कैदीले आफूलाई सुधार्न अपराधबोध गर्नु आवश्यक छ भन्ने ठाने। महात्मा गान्धीकी श्रीमती कस्तुरबाबारे नाटक तयारी गर्ने क्रममा उनले लगभग डेढ सय किताब पढे। यसपछि उनी महात्मा गान्धीको शिक्षाबाट प्रभावित भए। त्यो उनको जीवनको क्रान्तिकारी पाटो थियो।
पुरुष जेलमा देखाइने नाटकमा महिला पात्रको भूमिका पुरुषले नै निर्वाह गर्नुपर्थ्यो। तर‚ पुरुषसत्तात्मक समाजको चित्रण रहेको माधवी नाटकमा महिलाको भूमिकालाई महिलाले मात्र न्याय गर्न सक्छन् भन्ने उनलाई लाग्यो। त्यसैले सन् २००८ मा महिला कैदीलाई पनि जेल नाटकमा भाग लिन अनुमति दिनुपर्ने माग सहित जेलरहरूलाई निवेदन लेखे।
उनको निवेदनको सुनुवाइ भयो। त्यसपछि नजिकैको जेलबाट १२ जना महिला कैदी अन्बुराजको नाटक समूहमा सामेल भए। त्यही वेला रेवतीसँग उनको भेट भयो।
एक बनाउने त्यो क्षण
रेवती तीन वर्षकी हुँदा उनकी आमाको मृत्यु भएको थियो। आमा बितेको केही समयपछि उनलाई बुबाले त्यागिदिए। त्यसपछि उनी हजुरआमासँग चेन्नईमा बस्न थालिन्। हजुरआमाको पनि मृत्यु भएपछि १४ वर्षीया रेवती घरेलु कामदार बन्न बाध्य भइन्।
एक वर्षपछि उक्त परिवार रेवतीलाई साथमा लिएर कर्नाटकको राजधानी बेंगलुरू बसाइँ सर्यो। त्यहाँ गएको ६ महीनामा उनीहरूले रेवतीलाई शहरको एक अपार्टमेन्टमा एउटी वृद्धाकहाँ काम गर्न पठाए।
“एक दिन ती महिलाले मलाई मुम्बईको वेश्यालयमा बेचेको सुनाउँदा म छक्क परें। मलाई बचाउने कोही छैन भन्ने थाहा पाएर मेरो पेट हुँडलियो‚” रेवती त्यो वेलाको घटना सम्झिन्छिन्।
त्यो कुरा सुनेपछि सहयोगका लागि आफू चिच्याउँदा ती वृद्धाले आफ्नो पेट र हातमा चक्कु प्रहार गरेको रेवती दाबी गर्छिन्। त्यसपछि आफूले पनि त्यही छुरा खोसेर वृद्धालाई पछाडिबाट हानेको उनको भनाइ छ। उक्त घटना लगत्तै आफू बाहिर निस्किएको रेवती बताउँछिन्।
घटना भएको तीन दिनपछि होशमा आउँदा १६ वर्षीया रेवती अस्पतालको शय्यामा थिइन्। त्यही वेला आफूमाथि हत्याको मुद्दा चल्ने भएको थाहा पाइन्। उक्त घटनामा दोषी रहेको ठहर गर्दै रेवतीलाई सन् २००३ मा आजीवन जेल सजाय सुनाइयो।
उनको दिमागमा केही फरक गर्न सक्छु भन्ने बारम्बार आइरहन्थ्यो। तर‚ महिला कैदीहरूले लगाउने सेतो साडीमा आफूलाई देखेपछि भने अपराधी भएको विश्वास गरिन्। जेल परेपछि एक वर्षसम्म उनी कसैसँग पनि बोलिनन्। डिप्रेशनमा परिन्। केही वर्षपछि भने एक जेल अधिकारीले उनलाई नाटक टोलीमा सामेल हुन उक्साए।
सन् २००८ मा अन्बुराजको अनुरोध स्वीकृत भएपछि महिला कैदीहरू पुरुष कारागारको बगैंचामा रहेको एउटा ठूलो रूखमुनि पुरुषहरूसँगै नाटकको अभ्यास गर्न थाले। अभ्यास सकिएपछि महिला र पुरुषहरू आआफ्ना जेल फर्किन्थे।
नाटकको अभ्यासका लागि महिला कैदीहरू आउँदा शान्त स्वभावकी रेवतीलाई अन्बुराजले ध्यान दिएनन्। कन्नड भाषा बोल्न नसक्ने भएकाले रेवती एक्लै बसिन्। अन्बुराज आफ्नो गृहराज्य तमिलनाडुका हुन् र उनी तमिल भाषा बोल्छन् भन्ने रेवतीलाई थाहा थिएन। उक्त कुरा थाहा पाउन उनलाई धेरै दिन लाग्यो। थाहा पाएपछि भने अन्बुराजसँग बिस्तारै खुल्न थालिन्।
“एक दिन पुरुष जेलमा भएको नाटक कार्यशालामा मलाई माटोको केही बनाउन भनियो। मैले आमाको मूर्ति बनाएँ। सानै उमेरमा आमा गुमाएकीले मेरो दिमागमा तस्वीर आयो‚” भावुक हुँदै रेवतीले भनिन्, “सहायक निर्देशक अन्बुराजले मूर्ति पूरा गर्न मद्दत गरे।”
कार्यशाला र अभ्यास कक्षाका कारण उनीहरूलाई ११ महीनासम्म हप्ताको पाँच दिन भेट्ने अवसर मिल्यो। ती भेटमा नाटकका पात्र र जेलमा पर्नुअघिका जीवनबारे कुराकानी हुन्थे। त्यसपछि अन्बुराज र रेवतीबीच मित्रता अङ्कुरायो।
“हामीले केही शब्दहरू मात्र बोल्यौं‚ तर उनले विस्तृत कुरा चिठीमा लेखे। ती शब्दहरू दयालु र शान्त थिए‚” मुस्कुराउँदै रेवतीले त्यो क्षण सम्झिइन्‚ “मैले कक्षा ४ सम्म मात्र पढेकाले लेख्न गाह्रो हुन्थ्यो। उनी मीठो लेख्थे। मैले उनीबाटै लेख्न सिकें।”
असल आनीबानी देखिएकाले रेवती रिहा हुने भइन्, तर कहाँ जाने भन्ने उनमा चिन्ता थियो। अन्बुराजले उनलाई आफ्नो घर जान सुझाए। आफ्ना आमा र दाजुभाइले आफूले जस्तै व्यवहार गर्नेमा विश्वास दिलाए। त्यही वेला रेवतीले अन्बुराज आफ्नो भविष्य भन्ने महसूस गरिन्।
अन्बुराजका लागि रेवती आफ्ना विचार व्यक्त गर्ने माध्यम थिइन्। “जेलबाट निस्केपछि मेरो काम परिवारको हेरचाह गर्ने मात्र होइन भन्ने थियो‚” उनी भन्छन्‚ “मलाई मेरो विचार बुझ्ने मान्छे चाहिएको थियो।”
रेवतीले जेलभित्र रहेकाहरूको हितमा आवाज उठाएको अन्बुराजले थाहा पाएका थिए। उनी भन्छन्‚ “उनले महिला कैदीहरूका लागि स्यानेटरी प्याड माग गरेकी थिइन्। उनी समानुभूतिशील थिइन् र हरेक अर्थमा मेरो बराबर छिन्।”
अपार प्रेम
अन्बुराज र रेवती भेट भएको तीन वर्षपछि राम्रो आनीबानी भएको भन्दै सन् २०११ मा दुवै जनालाई बाहिर हिंडडुल गर्न अनुमति दिइयो। त्यही वेला उनीहरूले विवाह गरे। चार वर्षपछि अन्बुराज बेंगलुरूको नाटक महोत्सवमा प्रदर्शन गरिरहेका थिए। त्यही वेला रेवतीले जेलमा अपरिपक्व छोरी जन्माइन्।
अन्बुराज र उनका जेल निर्देशक रेवतीको नवजात शिशुलाई हेर्न रातारात मैसूरस्थित एक निजी अस्पतालमा पुगे। “मैले उसलाई समात्दा अपार आनन्द र आशा महसूस गरें‚” अन्बुराज भने‚ “मेरो काँधमा ठूलो जिम्मेवारी थपिएको थियो। त्यो उसलाई हुर्काउने‚ सम्पत्ति वा शिक्षा दिने भने थिएन। म ती सानी केटीलाई उड्न र बस्नका लागि उपयुक्त वातावरण दिन चाहन्थें।”
त्यसको भोलिपल्ट रेवती बच्चा लिएर जेल फर्किइन्। बच्चा जन्मिएको ६ महीनापछि राम्रो आनीबानी भएको भन्दै रेवती जेलमुक्त भइन्। त्यसको एक वर्षपछि अन्बुराज पनि जेलमुक्त भए। रेवतीको चौध वर्षे र अन्बुराजको दुई दशक लामो जेलजीवन समाप्त भयो। जेल मुक्त भएपछि उनीहरू अन्बुराजका आमाबुबासँगै काजुथापलीमा बस्न थाले।
साथीहरूको सहयोगमा अन्बुराजले तेल प्रशोधन कारखाना स्थापना गरे। पछि त्यसलाई तरकारी, किराना, मह, तेल र हस्तकलाहरू बेच्ने पसलमा विस्तार गरे।
अन्बुराज कैदीहरूका लागि नाटक गर्न जेल गइरहन्छन्। रेवतीले महिला कारागारमा छुट्टै नाटक एकाइ स्थापना गर्ने योजना बनाएकी छिन्। यो जोडी अन्य राज्यमा पनि यस्तै कार्यक्रम गर्ने प्रयासमा छ।
रेवतीलाई लाग्छ, अन्बुराजको समाज परम्परागत रूपमा त्यति रमाइलो छैन। “यतिका वर्षहरूमा उनले मलाई एउटा सारी उपहार दिएका छन्‚” उनी मुस्कुराउँदै भन्छिन्‚ “मैले उनलाई शान्त बुद्धको मूर्ति दिएको छु, जुन उनले हाम्रो पसलको टेबलमा राखेका छन्।”
अन्बुराज प्रेमले आफूहरूलाई मानिसमा रूपान्तरण गरेको बताउँछन्। “प्रेमले मात्र हामीलाई मानिसमा रूपान्तरण गरेको छ र हामीलाई यो ‘पेरन्बु’ (अपार प्रेम) हाम्रो वरपरको संसारमा ल्याउनु छ‚” उनी भन्छन्।
वनमा बस्ने सीमान्तीकृत आदिवासीहरूका चुनौतीहरूलाई बिरप्पनसँगको समयमा देखेका अन्बुराजले दिगो वन पैदावरको बजारीकरणमा काम गर्ने आदिवासी सहकारी समाज स्थापना गर्न मद्दत गरेका छन्। स्थानीय पारिस्थितिक ज्ञानमा आधारित विद्यालय पाठ्यक्रम निर्माण गर्ने प्रक्रियामा छन्।
रेवती पनि प्रायः श्रीमान्सँगै आदिवासी समुदायलाई भेट्न छिमेकी थमराइकराई पहाडतिर गइरहन्छिन्। त्यहाँका मानिसलाई आफ्ना कथा सुनाइरहँदा उनी आफूलाई सानो बच्चामा परिणत भएको देख्न मन पराउँछिन्।
“हाम्रो प्रेमकथा हाम्रो बारेमा मात्रै कहिल्यै भएको छैन‚” रेवती भन्छिन्, “मैले चाहेको मात्र प्रेम थियो, र अब म यसलाई चरम महसूस गर्छु।”
(अलजजीरामा प्रकाशित रिपोर्ट पूर्ण पी राईले अनुवाद गरेका हुन्।)