चौतारीको एक्लो वर
सन्तानलाई परम्परागत भाका-भजन र वाद्य सामग्री बजाउन नदिने अनि गाउँशहरमा कसका लागि रोदीघर खोल्ने? रुद्रनिधि तिवारीको चिन्ता छ।
ठाडो भाकालाई लोपोन्मुख भनिन्छ। तर, रुद्रनिधि तिवारीका अनुभवमा यो भाकाका मर्म र मौलिकता अहिले नै लोप भइसकेका छन्। रामायण, महाभारत र कृष्णचरित्रका प्रसङ्ग समेटेर गाइने परम्परालाई उत्ताउलो बजारिया शैलीले विस्थापन गरिदिएको छ। बाजागाजा, गायनशैली र शब्दसम्ममा प्राचीन सुगन्ध भेटिन छाडेको छ।
ठाडो भाकामा पसेको यो विकृतिलाई तिवारी किन पनि झट्टै देख्न सक्छन् भने उनी आफैं पनि यो भाकाको गायनमा पोख्त छन्। उनी यसको प्राकृत परम्पराका साक्षी हुन्। भन्छन्, “ठाडो भाकालाई व्यापारिक बनाई आधुनिक बाजागाजा मिसाइँदा, गीतको बीचमा जोडिने तुकबन्दीपूर्ण अभिव्यक्ति घटाइँदा (जसकारण गीत रोचक र प्रवाहमय बन्न पाउँदैन) र साली-भेना छिल्लिने सस्तो माध्यम बनाइँदा यो विकृत बन्न पुगेको छ।”
हाम्रो पहिचानको आधारस्तम्भ मानिने लोकसंस्कृति विस्मृत बन्दै जाँदा यिनका मौलिक पाटाहरूको नालीबेली केलाउन सक्ने एकाध प्रतिभामध्ये पर्छन् संस्कृतिकर्मी तिवारी। लमजुङलाई कर्मभूमि बनाउँदै आएका उनी प्राचीन भजन, बालुनसँगै विवाहमा ‘सिलोक’ हालेर मङ्गल गाउन पारङ्गत छन्। भाइ गोपालको अल्पायुमै निधन हुँदा २०३० सालमै गोपाल शोककाव्य लेखेका उनलाई आधुनिक ‘रबड छन्द’ भन्दा छन्दोबद्ध काव्यधारा नै चित्ताकर्षक लाग्छ।
यति मात्र होइन, तिवारी स्थानीय स्तरमा प्रचलित गडेला, नानीलै, काठे, रोइला लगायत भाकाको सप्रसङ्ग व्याख्या गर्न सक्छन्। “गडेला भाका घैया गोड्दा गाइने गीत हो। नानीलै ढिलो गरी गाइने विलम्बित भाका हो जुन खेतीपाती गर्दा वा रोदीघरमा गाइन्छ,” उनी भन्छन्, “काठे भाका तुकबन्दीयुक्त तरीकाले भट्याइने गीत हो।”
तिवारीले लमजुङमा प्रचलित लोकभाकाबारे पुस्तक नै निकालिसकेका छन् जसमा त्यस्ता भाकाको विस्तृत वर्णन तथा दृष्टान्त भेटिन्छ। उनका अनुसार, अहिलेका लोकगीतका अन्तर्वस्तु पनि उत्ताउला र मर्यादाहीन छन्। विगतमा मनका भाव घुमाउरो तरीकाले पोख्ने परिपाटी थियो। यसले श्रोतागणलाई भावुक तुल्याउँथ्यो।
अहिले शुरूमै मुख छोडेर गाउने चलन आयो जसले लोकगीतको मर्यादा र शिष्टता भताभुङ्ग पारिदिएको छ। आफ्नो पालामा प्रचलित मर्मस्पर्शी र भावप्रधान गीतको एउटा दृष्टान्त पेश गर्छन् उनी।
केटा: गैराबारी खेत बिराउ सानु,
भाको होला के खानु केलाउनु।
केटी" यसै त छ बारी गैरो,
भलपानीले जान्छ कि दाइ पैरो।
सदरमुकाम बेंसीशहरस्थित ‘रेडियो मस्र्याङ्दी’ मा विगत १६ वर्षदेखि ‘हाम्रो शैली, हाम्रो संस्कृति’ कार्यक्रम चलाउँदै आएका तिवारीले त्यसमा लोकजीवनमा प्रचलित अमूर्त सांस्कृतिक सम्पदालाई स्थान दिँदै आएका छन्। पुर्खादेखि चल्दै आएको भजन-परम्परा नयाँ पुस्तामा पनि विस्तार होओस् भनेर आफ्नो गाउँ चितिमा हरेक महीनाको १ र १५ गते भजन-कीर्तनको अनुष्ठान गर्दै आएका छन्।
स्थानीय भजनका प्रकार र शैली समेटेर २०७० सालमा पुस्तक नै प्रकाशन गरेका छन्। उनको भजन गायनको शिल्प र शैलीबाट प्रभावित भएर पण्डित नारायण पोखरेल (विसं २०१३-२०६२) उनलाई आफूले भागवत वाचन गर्ने सप्ताह-नवाह जस्ता अनुष्ठानमा सँगै लैजान्थे।
तिवारी सानो छँदा गाउँमा औपचारिक शिक्षण संस्था नभएकाले १०-१२ वर्षको उमेरसम्म गाईबस्तु चराउँदै बित्यो। गोठालो जाँदा साथीहरूसँग मिलेर गीत गाउँथे, सिलोक हाल्थे। त्यही बिन्दुबाट उनकोे जीवनले लोकसंस्कृतिको पोयो समातेको हो। उनी ग्रामीण लोकप्रतिभाहरूको आशुकवित्व र शब्दचातुर्यबाट अति प्रभावित छन्। एकपटक जुहारी खेल्ने क्रममा एउटी महिलासँग गीतमा सवाल-जवाफ भएछ। उनले ‘गैह्रीमा घडेरी दिन्छु अनि धन्सार बनाइदिन्छु’ भन्ने आशय राखेर जुहारी थालेछन्। महिलाले यसरी जवाफ फर्काइछिन्-
त्यस्ता कुरा गरेर काँ पाइन्च
साँच्चै मलाई दुईतले घर चाइन्च।
तत्कालीन आर्थिक-सामाजिक मनोविज्ञान झल्कने यस्ता चातुर्यपूर्ण जवाफ सुनेपछि दर्शकदीर्घामा रहेकाहरू उठेर फनन नाचेको तिवारीलाई भर्खरै जस्तो लाग्छ।
२०१८ सालतिरको एउटा प्रसङ्ग। खोप लगाउँदा हड्डीमा गाडिएर सुई पाखुराभित्रै भाँचिएछ। उनी उपचारका लागि आमासँगै गोरखाको आँपपीपलस्थित मिशन अस्पताल पुगे।
उनीहरू अस्पताल आडैको हुलाकी कान्छा नामका नेवारको घरमा बास बसे। त्यहीं गुरुङ समुदायकी एक बिरामी पनि बसेकी रहिछन्। तिनलाई भेट्न उनका दुई छोरी आएका थिए जो गीत गाउन पारङ्गत रहेछन्।
हुलाकी कान्छाले दुई बहिनी र तिवारीबीच जुहारी खेलाउने चाँजोपाँजो मिलाए। तर, तिवारीलाई आमाका सामु गीत गाउन दकस पर्ने। उनले अड्डी कसे, “आमाको अगाडि त गाउँदै गाउँदिनँ।” आमालाई माथिल्लो तलामा सुत्न पठाइयो। त्यसपछि त के थियो, रातभर चलिहाल्यो गीति प्रतिस्पर्धा।
त्यो साङ्गीतिक माहोललाई बिर्सन नसकिने घटना ठान्छन् तिवारी। दिदीबहिनीकै स्वर अतिशय मीठो। शब्द पनि ज्यादै भावुक र घतलाग्दा। ६१ वर्षअघिको जमघट सम्झेर उनी भावुक बन्छन्, “त्यति रमाइलो र मीठो गीत कतै गाएको छैन। अन्त सुनेको पनि छैन।”
तिवारीका बुझाइमा अहिले सांस्कृतिक चेतना-प्रवाह सही दिशामा उन्मुख छैन। समाज सांस्कृतिक दृष्टिले पनि ढोंगी बन्दै छ। “सन्तानलाई शहरको बोर्डिङ पढाउने अनि परम्परागत भाका-भजन गाउन र पुरानो वाद्यसामग्री बजाउन नदिने। अर्कातिर गाउँमा रोदीघर खोल्ने। कसका लागि? दाँत झरिसकेका बूढापाकाका लागि?” उनी प्रश्न गर्छन्।
तिवारीको दृष्टिकोण स्पष्ट छ- अहिलेको सांस्कृतिक अधपतनमा नयाँ पुस्ता होइन, उसलाई मौलिक संस्कृतितिर अभिमुख नगर्ने पुरानो पुस्ता नै जिम्मेवार छ। अभिभावकमै पढाइ बिग्रिन्छ भनेर नयाँ पुस्तालाई मौलिक संस्कृतिमा अभ्यस्त नबनाउने मनस्थिति हावी छ।
७९औं वर्षमा हिंडिरहेका तिवारीको चार दशक लामो कालखण्ड शिक्षक बनेर बित्यो। शिक्षण पेशामा रहँदा पनि समय निकालेर लोकसंस्कृतिको श्रीवृद्धिमा लागी नै रहे। अवकाशपछि त यही नै मुख्य काम बनिरहेकै छ। तर, लोकसंस्कृति संवद्र्धनको यात्रामा उनी क्रमशः एक्लिँदै छन्। पुराना पुस्ता ढलिसके। कतिपय त नफर्किने गरी बाटो लागिसके। नयाँ पुस्ता हिंड्ने बाटै फरक छ। चौतारीको एक्लो वर जस्ता भएका छन् तिवारी।
(दुरा मिडिया र सांस्कृतिक फाँटमा लेख्न रुचाउँछन्। हिमालको २०७९ फागुन अङ्कबाट।)