लिग-२ मा नेपाल ६८ रनले पराजित
आईसीसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ।
त्रिदेशीय शृङ्खला अन्तर्गत यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३९ रनमै समेटिएको हो। नेपालका लागि कुशल मल्लले ६० रन बनाए। अन्य खेलाडी टिक्न सकेनन्।
यूएईका लागि रोहन मुस्ताफा र कार्तिक मेइप्पनले तीन-तीन, जुनैद सिद्दिकी, सबिर अली र जहूर खानले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा २०७ रन बनाएको हो। यूएईका लागि आशिफ खानले ७२, रोहन मुस्ताफाले ५२, आर्यान लक्राले २८, चुन्दाङ्गापोयिल रिजवानले २२ र भृत्य अरविन्दले १८ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, आरिफ शेख र कुशल मल्लले एक-एक विकेट लिए।
त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको थियो। अब नेपालले तेस्रो खेल शुक्रबार पपुवा न्यूगिनीसँग खेल्नेछ।