गुमाएका सन्तान फेरि भेट्दा...
गुमाएका सन्तान वर्षौंपछि भेटिए भने कस्तो अनुभूति होला? त्यसपछिको दैनिकी कसरी अघि बढ्ला? यस्तै, उतारचढाव बेहोरेका पोखराका नारायण ढकाल २४ वर्षपछि भेटिएका सन्ततिसँग रमाउने कोशिश गरिरहेका छन्।
काठमाडौंमा दु:खजिलो गरिरहेका एक युवक छोराछोरी र श्रीमती छोडेर भारततिर लाग्छन्, कामको खोजीमा। काम त पाउँछन्, तर समयमा पैसा पाउँदैनन्। लामो समयसम्म काठमाडौं खबर पठाउन पाउँदैनन्, उतै अलमलिन्छन्।
जब काठमाडौं फर्किन्छन्, छोराछोरी र श्रीमतीको अत्तोपत्तो मिल्दैन। जुन कोठामा बस्थे, छोडिसकेका हुन्छन्। आफन्त, साथीभाइ, चिनजान जतिका मान्छेसँग सोधपुछ गर्छन्, कुनै सुराक पाउँदैनन्। र, आफ्नै संसारमा हराउँछन्।
त्यसको ठीक २४ वर्षपछि यूरोपबाट छोरी आउँछिन्, भेटघाट हुन्छ। छोराछोरी, श्रीमती जिउँदै रहेको बल्ल थाहा पाउँछन्।
यो कथा होइन, कास्कीका नारायण ढकालको जीवन भोगाइ हो। छोरी भेटेपछिको उनको दैनिकी कसरी चल्दो हो? उनलाई जीवन कस्तो लाग्दो हो? आउनुहोस्, पोखराको यात्रा गरौं।
प्रायः घुमफिरमै व्यस्त हुने नारायण ढकाल आज भने पोखराको महतगौंडास्थित घरमै छन्। जेठी छोरी र ज्वाइँ घरमा आएका छन्। छोरीज्वाइँ पहिलो पटक घरमा आएका हुन्।
जुम्ल्याहा नातिनीसँग खेलिरहेका छन्। तीनवर्षे नातिनीका तोते बोलीमा बोली मिलाइरहेका छन्। नातिनीहरू अनेक प्रश्न सोध्छन्, उनी कति प्रश्नको उत्तर दिन्छन्, कतिको दिन सक्दैनन्। नातिनीहरूको प्रश्नमा अलमल हुँदा मुस्कुराइदिन्छन्।
नातिनीहरूलाई हेरेर नारायण बोल्छन्, ‘‘यत्रै त थिए, मैले यिनीहरूलाई छाडेर कोलकाता जाँदा।’’
यति बोलेपछि जेठी छोरी तारालाई देखाउँछन्। तारा बुबालाई भेट्न केही दिनअघि मात्रै पोखरा आएकी थिइन्, परिवार सहित।
ताराभन्दा अघि गत कात्तिकमा नारायणले कान्छी छोरी लक्ष्मीलाई भेटेका थिए, पहिलो पटक। जो २४ वर्षअघि हराएकी थिइन्, उनको बुझाइमा।
काठमाडौंमा डेरा गरी बसेका नारायण २०५३ सालमा श्रीमती बिना, दुई छोरी तारा र लक्ष्मी तथा छोरा राजकुमारलाई एक महीनाका लागि छाडेर भारतको कोलकाता गएका थिए, काम गर्न। तर, साहु नै तीन महीना हराएपछि उनी त्यतै बस्नुपर्यो।
त्यति वेला कोलकाताबाट काठमाडौंमा रहेका परिवारलाई फोन सम्पर्क गर्ने अवस्था पनि थिएन। समय बित्दै गएपछि भने उनलाई लाग्यो, काठमाडौं फर्किनुपर्छ। अनि फर्किने चाँजोपाँजो मिलाए।
पैसा नपाएर रित्तो हात कोलकाताबाट फर्किएका नारायणले आफू बसेको डेरा पनि रित्तो भेटे। घरबेटीलाई सोध्दा उनका परिवारजन गइसकेको जवाफ पाए। उनी ती दिन सम्झिन्छन्, ‘‘धेरै समय खोजे काठमाडौंमा, तर भेट्न सकिनँ।’’
त्यसको ठ्याक्कै २४ वर्षपछि गत कात्तिकमा जर्मनीबाट कान्छी छोरी आउँछिन्, बुबा खोज्दै। जब उनी काठमाडौंमा छोरीलाई भेट्छन्, बल्ल आफ्ना गुमेका सन्तानबारे थाहा पाउँछन्।
लामो समयसम्म नारायण कोलकाताबाट नफर्केपछि छोरा राजकुमार र कान्छी छोरी लक्ष्मी बाल मन्दिर (बालगृह)मा राखिएका रहेछन्। त्यहींबाट जर्मन नागरिकले उनीहरूलाई धर्मसन्तान बनाएर जर्मनी लगे।
बुबा खोज्दै लक्ष्मी काठमाडौं आइन्। उनले अनेक प्रयासपछि बुबाको ठेगाना पत्ता लगाइन्। र, काठमाडौंमा बुबालाई भेटिन्। यसरी कान्छी छोरीसँग भेटे भएपछि जेठी छोरीको पनि पत्तो लागेको नारायण सुनाउँछन्।
नारायणकी जेठी छोरी तारा अहिले गोरखाको सिरानचोकमा बस्छिन्। नारायण भारतमै अलमलिएपछि बिनाका दाइले तारालाई त्यति वेला आफूसँगै गोरखा लगेका रहेछन्। मामाले नै ताराको बिहे गरिदिए। उनले पनि आमाबुबा, भाइबहिनी बिर्सिसकेकी थिइन्। आफ्नै परिवारसँग रमाउन थालिसकेकी थिइन्।
जर्मनीबाट लक्ष्मी आएपछि भने नारायणले ताराबारे पनि थाहा पाए। यसो भनौं, ताराले पनि बुबा जीवितै भएको थाहा पाइन्। त्यसपछि बाबाछोरीको वेलाबखत कुराकानी भइरहन्थ्यो, फोनमा।
ताराले कति पटक बुबालाई बोलाइन् पनि। तर, तीन-चार महीनासम्म नारायणले फुर्सदै निकाल्न सकेनन्। तथापि, भिडिओ कलमा बाबाछोरीले धेरै पटक भेटघाट गरिसकेका थिए।
माघ २९ गते भने बुबालाई भेट्न परिवार सहित तारा पोखरा आइन्। नारायण पनि मुश्किलले दमौलीबाट घर फर्किएका थिए। बाबुलाई भेट्दा तारा भावुक भइन्, नारायणले भने भावुकता मनभित्रै लुकाए। “सानोमा काली थिई, अहिले त गोरी भइछे,” नारायण बोले। परिवारजन सबै हाँसे।
ताराको पहिलेको नाम लक्ष्मी थियो। र, कान्छी लक्ष्मीको नाम पनि लक्ष्मी नभई भगवती थियो। तारालाई धेरैले तारा भनेरै बोलाउँथे। बाल मन्दिरमा राख्ने वेला भने भगवतीलाई लक्ष्मी भनिएको रहेछ। बाहुनले दिएको नाम लक्ष्मी भए पनि सानैदेखि नै आफूलार्ई तारा भनेर नै बोलाएको याद छ, उनलाई।
उनी तीन वर्षकी छँदा नै मामाघर गइन्। मामाघरमै हुर्किइन्। २९ वर्षकी हुँदा बल्ल बुबा, भाइबहिनी भएको पत्तो पाइन्। “यत्रो वर्ष टुहुरी भनेर हेपिएँ, अहिले आफ्ना बा, भाइबहिनी रहेछन् भन्ने थाहा भयो। ढिलै भए पनि मैले सबै पाएँ,” तारा गम्भीर हुन्छिन्।
यही मेसोमा ताराले पनि विगत कोट्याइन्। अलि ठूली भएपछि आमाले उनलाई फेरि काठमाडौं लगेकी थिइन्। काठमाडौंमा बिनाले आफ्नो एक साथीको घरमा लगेर राखिन्। त्यति वेला उनका भाइबहिनी थिएनन्। बालगृहबाट जर्मनी पुगिसेका थिए। तर, त्यो तारालाई थाहा थिएन। “आमाले भाइबहिनीको फोटो देखाएको र कुहिरेले लगेको भनेर सुनाएको याद छ,” तारा भन्छिन्।
साथीको घरमा छोडेर गएपछि आमा दुई-तीन पटक भेट्न आएको उनलाई सम्झना छ। त्यसपछि भने १७-१८ वर्ष बितिसक्दा पनि आमा भेट्न आइनन्। अहिले त तारालाई आफ्नो आमाको अनुहारै याद छैन। “एक दिन आमा आउनुहोला भन्ने लाग्थ्यो। आमा त आउनुभएन, बाबा आउनुुभयो,” उनी अलमलमा पर्दै बोलिन्, “आमाले मलाई किन त्यहाँ छाडेर जानुभयो भन्ने पनि थाहा छैन। राम्रैका लागि थियो होला, तर मैले धेरै दुःख पाएँ।”
त्यो घरमा छँदा पसलमा बस्थिन्, काम गर्थिन्। केही समय विद्यालय पनि गइन्, तर धेरै समय पढ्न पाइनन्। अरू विद्यालय गएको देख्दा, अरूका बाबाआमा देख्दा आफूलाई पनि बाबाआमासँगै विद्यालय जान रहर लाग्ने गरेको उनी सुनाउँछिन्। “पछि त कसैले तेरो बाबाआमा खै? भनेर सोध्दा मरिसके भन्दिन्थें। मैले बाबाआमाको माया मारिसकेकी थिएँ,” तारा थरथराउँदो आवाजमा भन्छिन्, “परिवारका लागि दिनरात रोएँ। तर, परिवारको माया कस्तो हुन्छ भन्ने पनि थाहा पाइनँ।”
ताराले मामाघर फर्किने प्रयास पनि गरिन्, तर सकिनन्। २० वर्षकी हुँदा भने एक दिन मामाघरको ठेगाना थाहा भएको व्यक्तिलाई भेटिन्। र, आफूलाई मामाघर पुर्याइदिन अनुरोध गरिन्। बल्ल उनी मामाघर पुगिन्, गोरखा। त्यसपछिका दिन भने सहज बन्दै गएको उनी सुनाउँछिन्।
२०७५ सालमा विवाह गरिन्, राजु थापासँग। मामाहरूकै सोधीखोजीमा बिहे भएको हो। “आमाबुबा छैनन् भन्ने बितिक्कै मैले बिहेलाई हुन्छ भनेको थिएँ,” ताराका श्रीमान् राजु भन्छन्, “आज बाबा भेटिंदा खुशी लागेको छ। अझै पत्यार लागेको छैन।”
यस पटक गोरखाको सिरानचोकबाट पोखरा आउँदा पनि ताराले राजुलाई पटक पटक एउटै प्रश्न गरेकी थिइन्, “हामीले बाबालाई नै भेट्ने हो त?”
बुबा नारायणलाई भेटेपछि भने तारालाई नयाँ संसारमा पुगे जस्तो महसूस भएको छ। “यतिन्जेल एक्लो बेसहारा जस्तो लाग्थ्यो। श्रीमान्, छोराछोरी भएपछि दुःख हराए जस्तो भएको थियो,” आफ्नी दुई छोरीलाई हेर्दै तारा बोलिन्, “आज बाबा भेटिएदेखि देवता भेटिएको जस्तो भएको छ। नयाँ संसार पाएकी छु।”
नारायण पनि हराएको परिवार खोज्न धेरै ठाउँ धाए। प्रहरी कार्यालय पुगे। प्रहरीले फोटो ल्याउन भनेपछि भने उनी फर्किए। उनीसँग जे थियो, सबै डेरामा नै थियो। परिवारको फोटो भएको एल्बम पनि डेरामै थियो, तर डेरा नै रित्तिएपछि उनीसँग केही थिएन।
परिवार र सरसामान डेरामै छोडेर उनी केही पैसा कमाउने आशमा कान्छी छोरी लक्ष्मीको न्वारन गरे लगत्तै कोलकातातिर लागेका थिए। फर्किंदा केही बाँकी रहँदैन भन्ने थाहा पाएको भए शायदै कोलकत्ता जान्थे। “एक मनले त नजा भनेको थियो, तर घरमा तीन सन्तान, श्रीमतीको पेट पाल्नुपर्छ भनेर पैसा कमाउन कोलकाता गएँ,” त्यो परिस्थितिको अनुमान गर्दै नारायण भन्छन्, “कोलकाता जाँदा साहुले नै घरको रासनपानी र घरभाडा दिएका थिए। म धेरै समय हराएपछि घरबेटीले नै बिनालाई कोठाबाट निकालेको जस्तो लाग्छ।”
कोलकाताबाट फर्किएपछि केही समय खोजबिन गरे। अत्तोपत्तो पाएनन्। कहींकतै त भेटिएलान् सोचेर काठमाडौंमै काम गर्ने सोच बनाए। तर, खाँदा, बस्दा हरेक क्षण छोराछोरीको झल्झली याद आउन थालेपछि काठमाडौंमा बस्न सकेनन्। त्यही साल उनी पोखरा पुगे।
कहिले पोखरा, कहिले भैरहवा, कहिले जोमसोमसम्म बरालिएर हिंडे। नारायणको मन अस्थिर जस्तो हुन थाल्यो। कामले नै काठमाडौं बोलाउँदा समेत जान मन लागेन। काठमाडौंसँग भागिरहे। किनकि, काठमाडौंले छोराछोरीका अनुहार र आवाजको झल्को ल्याउँथ्यो, झस्काउँथ्यो।
त्यसैले काठमाडौं छोडे, जो उनको सपनाको शहर थियो। उनी सानै छँदा काठमाडौं आएका थिए, कामको खोजीमा। नारायण ११ वर्षको छँदा बुबाको मृत्यु भयो। आमाले नै नारायण र उनका भाइलाई हुर्काइन्। उनी कामको खोजीमा काठमाडौंतिर लागे भनेर भाइ भारततिर।
काठमाडौंमा उनले मजदूरी गर्न थाले। काम गर्दै जाँदा केही सहज भयो। अनि आमालाई पनि काठमाडौं नै ल्याए। केही समयपछि काठमाडौंमै आमाको पनि मृत्यु भयो।
काठमाडौंमा एक्लै थिए। काम चलेकै थियो। त्यसपछि २०४४ सालमा बिनासँग विवाह गरे। तीन सन्तान जन्मिए। दैनिकी खुशीसँगै चलिरहेको थियो। भारततिर लाग्दा भने एकाएक सबै गुमाए।
२०५३ सालकै अन्त्यतिर उनी काठमाडौं छोडेर पोखरा पुगे। केही वर्ष भौंतारिए। जता काम मिल्यो, उतै दिन काट्न थाले। पोखरा बसाइका क्रममा उनले धर्मबहिनी बनाएका थिए। तिहारमा टीका थाप्न बहिनीकहाँ पुग्थे।
दाइ बरालिंदै हिंडेको देखेपछि बहिनीले बिहेको चाँजोपाँजो मिलाइदिइन्। र, २०६० सालमा पोखरामा हीरा ढकालसँग दोस्रो बिहे भयो। “आवारा भएर हिंड्न थालेको थिएँ। बिहेपछि बल्ल घरमा खाने, बस्ने हुन थाल्यो,” नारायण ती दिन सम्झिन्छन्।
बिहेपछि हीराकोे नागरिकता बनाउन पुरानो घर नुवाकोट जानुपर्ने भयो। नुवाकोट जाँदा काठमाडौं टेके। त्यसपछि भने उनी काठमाडौं आउजाउ गर्न थाले। बिस्तारै दुःखका दिन बिर्सन पनि थालिसकेका थिए। बिहे गरेको लामो समयसम्म सन्तान भएनन्। साथीभाइले बेवारिसे बच्चालाई पाल्न पनि सल्लाह दिए। “भएको सन्तानलाई भेटाइएन, अब अरू के गर्नु भनेर बसियो,” नारायण भन्छन्।
नारायण र हीराको दैनिकी जेनतेन चलिरहेको थियो। सन्तान नभए पनि अप्ठ्यारो मानेनन्। दुई जनाले खुशीले बाँच्न पाए पुग्छ भन्ने मनस्थिति बनाएका थिए। एकाएक सन्तान भेटिएकोमा दुवै जना दङ्ग छन्।
नारायण पहिली श्रीमती र आफ्नाबारे सोच्थे। अहिले भने जेठी छोरी ताराबारे सोच्न थालेका छन्। “धर्मसन्तानका रूपमा विदेश पुगेका दुवै छोराछोरीको सबै थोक राम्रो रहेछ। त्यसैमा खुशी लागेको छ,” नारायण भन्छन्, “अब मेरो सन्तान नै यही ठूली छोरी हो। यसले दुःख पाएको सुन्दा नरमाइलो लाग्यो।”
उमेरले उनी ६० वर्षमा टेकिसके। कामको दौडधुप उस्तै छ। आँखा र ढाडमा केही समस्या छ। निर्माण ठेक्कापट्टा लिनेसँगै आफैं डकर्मीको पनि काम गर्छन्। मजदूरी गर्न थालेको साढे चार दशक भयो। अझै परिश्रम नगरी बस्न सक्ने अवस्था छैन। “कसैलाई दुःख गर्न लेखेको रहेछ भने दुःख नै हुँदो रहेछ। कति दुःख गरें। अझै गर्दै छु,” यति बोल्दा भने निराश देखिए।
डकर्मी भएर घर निर्माण गर्न थालेको ४० वर्ष भयो। ठेकेदार बनेर अरूका घर बनाउन थालेको तीन दशक भइसक्यो। “अहिलेसम्म हजार घर बनाइसकें हुँला, तर आफ्नै छाप्रो भने बनाउन सकेको छैन,” उनी भन्छन्। ६० वर्षीय नारायणमा आफ्नै घर बनाउने आशा भने जीवितै छ।
कोभिड-१९ महामारी यता आर्थिक रूपमा गाह्रो परेको बताउँछन्। कात्तिकमै छोरी भेट्न गोरखा जाने योजना बनाएका थिए। छोरीलाई आउँछु पनि भनेका थिए। तर, पैसा नभएपछि जान सकेनन्। त्यसैले छोरी तारा नै बुबालाई भेट्न पोखरा आइपुगिन्। उनले पनि ताराको नागरिकता बनाउन जन्मदर्ताको प्रमाणपत्र तयार पारिदिएका छन्।
नारायणका लागि तारा विशेष पनि छन्। उनीसँग अनेक संयोग र वियोग जोडिएका छन्। ताराले भर्खर हिंड्न शुरू गर्दा एक पटक काठमाडौंको असनमा हराएकी थिइन्। उनी हराएपछि नारायण र बिनाको होस नै उड्यो। रुवाबासी चल्यो। दिनभर खोज्दा पनि भेट्टाएनन्।
राति एक तरकारी पसलमा भेटे। तरकारी पसलेले समातेर राखिदिएको रहेछ। त्यसको एक सातासम्म नारायण काम गर्न पनि गएनन्। ताराकै हेरचाहमा घरमै बसे। त्यो घटना सम्झिँदै उनी भन्छन्, “विछोड हुन लेखेको रहेछ। त्यो एउटा सङ्केत दिएको होला।”
तारालाई असाध्यै माया गर्ने अर्को पनि कारण छ। नारायण र बिनाका चार सन्तान गर्भमै खेर गएका थिए। त्यसपछि पाँचौं सन्तानका रूपमा तारा जन्मिएकी थिइन्। उनी जन्मिँदा नारायणको खुशीको सीमा नै थिएन। त्यति धेरै माया गर्ने तीन सन्तान र श्रीमती गुमाउँदा उनी विक्षिप्त नै भए। अहिले भने आफैंलाई सान्त्वना दिन खोज्दै भन्छन्, “हराउनै लेखेको रहेछ जस्तो लाग्यो।”
अहिले उनै तारा आफ्नै अगाडि बसेको देख्दा नारायण २६ वर्षअघिकै अवस्थामा पुगेका छन्, जति वेला हराएकी तारा भेटिएकी थिइन्। फेरि उनमा अभिभावकत्व पलाएको छ। आफूले गर्ने काम ताराकै लागि हो भन्ने सोच्न थालेका छन्।
जर्मनीमा रहेका छोरासँग भेट हुन नसके पनि कान्छी छोरीसँगको भेटले अब उनीहरू यता आउँदैनन् भन्ने यकीन भइसकेको छ। गत कात्तिकमा काठमाडौं भेटेपछि कान्छी छोरीसँग पनि कुराकानी हुन पाएको छैन। “कान्छीसँग फेरि कुरा हुने माध्यम नै भएन। तर, पछि कुरा होला,” आशा जीवितै राखेका छन्।
जेठी छोरी तारासँग भने समय मिलाएर फोनमा कुराकानी गरिराख्छन्। घरमै आउँदा भने ताराभन्दा बढी नातिनीसँग कुराकानीमा व्यस्त छन्। काठमाडौं छोडेर कोलकाता जाँदा उनका छोराछोरी पनि नातिनी जस्तै थिए। दुई छोराछोरी सँगै नभए पनि दुई नातिनी छन्। काखमा बसिरहेकी नातिनीसँग तोतेबोली मिलाउँदै नारायण भन्छन्, “एक पटक आफ्ना सन्तान गुमाइसकें, अब गुमाउन चाहन्नँ।”