जसपा पनि लुम्बिनी सरकारमा सहभागी
जनता समाजवादी पार्टी (जसपा) पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले जसपालाई पनि सरकारमा सहभागी गराएका हुन्। जसपाका तर्फबाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका छन्।
बिहीबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अहिरलाई मन्त्री नियुक्त गरेका छन्। उनले शुक्रबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तिलकराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। शर्मा नेकपा (एमाले)बाट मन्त्री बनेका थिए।
सत्तारूढ दलहरूको सहमतिका आधारमा मन्त्रिपरिषद्मा हरेफेर गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक टीकाबहादुर बस्नेतले बताए।