धनगढी नगरपालिकाको पाँचतले भवनमा छैन स्तनपान कक्ष
धनगढी उपमहानगरपालिकाको कार्यालय सुविधासम्पन्न पाँचतले भवनमा रहे पनि त्यहाँ स्तनपान कक्ष छैन।
गत आइतबार बिहान ११ बजे तीनमहीने शिशु च्यापेर धनगढी उपनगरपालिकाको कार्यालय पुगिन्। मेयरसँग भेटघाट गर्न धेरै समय पर्खिन्। बच्चा रुन थाल्यो, तर स्तनपान कक्ष नभएकाले वासरूममा गएर दूध चुसाउन बाध्य भइन्।
“नगरपालिकाको भवन सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रालयभन्दा पनि शानदार छ। तर, हामी जस्तो सेवाग्राहीका लागि यो भवन बनेको होइन रहेछ‚” ती महिलाले भनिन्। एक सातादेखि नगरपालिका धाइरहे पनि मेयरसँग भेट नभएको उनले गुनासो गरिन्।
“यति ठूलो भवनमा बच्चा बोकेर तल-माथि गर्दागर्दै थाकिसकें‚” उनले भनिन्‚ “थुप्रै पटक आइसकें, तर मेयरलाई भेट्न सकेकी छैन। आज पनि मेयर बाहिर छन् रे।”
नगरपालिकाको भवन साढे ६ करोड रुपैयाँ खर्च गरेर गत असारमा निर्माण सकिएको हो। सुदूरपश्चिमको स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी रहेको उक्त नगरमा सेवाग्राही मात्रै नभई त्यहाँ कार्यरत महिला कर्मचारीलाई पनि स्तनपान गराउन समस्या छ। “नगरपालिकाका कर्मचारीमध्ये लगभग ३० प्रतिशत महिला कर्मचारी छन्‚” उपमहानगरपालिकाको महिला विकास शाखाका अधिकृत पंकजा जोशी भन्छिन्‚ “तर यहाँ लैङ्गिकमैत्री छैन। यहाँको संरचना बाहिर मात्रै आकर्षक छ।”
कार्यालयमा आउने धेरैजसो महिला सेवाग्राही महिला शाखामा आएर स्तनपान गराउने गरेको जोशी बताउँछिन्। अघिल्लो कार्यकालमा स्तनपान कक्षका लागि भनेर सानो क्याबिन छुट्याइएको भए पनि अहिले त्यो ठाउँ पनि हटाइएको छ।
उपमहानगरका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीका अनुसार, कार्यालयका ५०० कर्मचारीमध्ये १६० जना महिला छन्। कार्कीले भने‚ “सबै शाखा नयाँ भवनमा सरेको हुँदा पहिलेको स्तनपान कक्ष हटाइएको हो। पालिकाले स्तनपान कक्ष बनाउनुपर्छ भन्ने महिला शाखाबाट पटक पटक उठिरहेको छ। अब छिटै बनाउँछौं।”
टीकापुर नगरपालिकाकी कार्यालय सहयोगी राधा चौधरीले पनि कार्यालयमा स्तनपान कक्ष नहुँदा धेरै सकस भोगेको बताइन्। “सुत्केरी भएपछि दुई महीना बिदामा बसें। तेस्रो महीनादेखि बच्चा लिएर कार्यालयमा हाजिर भएँ। घरबाट खाट ल्याएर कार्यालयको पछाडिपट्टिको बरन्डामा बच्चा सुताउँथें। खुला ठाउँ गर्मीमा घाम, हिउँदमा सिरेटो हुन्थ्यो‚” उनी भन्छिन्‚ “बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो। कहिलेकाहीं दूध चुसाइरहेको समयमा सेवाग्राही आइहाल्थे। जुन कारण मेरो बच्चाले पेटभरि दूध खाना पाउँदैनथ्यो।” अहिले भने नगरपालिका कार्यालयमा स्तनपान कक्ष रहेको उनले सुनाइन्।