प्रदेश १ को नाम ‘कोशी’ राखिंदै, विराटनगरमा निषेधाज्ञा
प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेश सभाले स्वीकृत गरेको छ भने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर प्रदेश राजधानीमा निषेधाज्ञा जारी गरिएको छ।
प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित हुने देखिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रदेश सभामा पेश गरेको ‘कोशी’ नामको प्रस्ताव नाम स्वीकृत भएको छ।
आजै अबेर रातिसम्म ‘कोशी’ नामको प्रस्ताव पारित गर्ने तयारी छ। अहिले यो प्रस्तावमाथि छलफल चलिरहेको छ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले प्रस्ताव गरेको ‘किरात, लिम्बुवान, सगरमाथा’ नामलाई प्रदेश सभाको बैठकले अस्वीकृत गरेको छ। यो प्रस्ताव ध्वनिमतका आधारमा बहुमतले अस्वीकृत भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए।
एकीकृत समाजवादीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले बुधबार नै प्रदेश सभामा प्रदेशको नाम ‘किरात, लिम्बुवान, सगरमाथा’ राख्नुपर्ने प्रस्ताव पेश गरेका थिए। त्यसमा जसपाको समर्थन रहेको थियो।
एमालेका प्रदेश सभा सदस्य रामबहादुर राना मगरले गरेको ‘कोशी’ नामको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन गरेको थियो। कोशी नामको प्रस्तावलाई बैठकले ध्वनिमतका आधारमा स्वीकृत गरेसँगै छलफल भइरहेको छ। आज मतविभाजनको प्रक्रिया मार्फत प्रस्ताव पारित गरिनेछ। यो प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ।
यससँगै प्रदेशको नामकरणप्रति असहमति जनाउने राजनीतिक दल वा जातीय संघसंस्थाबाट विरोध तथा झडप हुन सक्ने देखेर जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बुधबार सूचना जारी गर्दै प्रदेश सभामा नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागेसम्म जुलूस, भेला, र्याली, धर्ना गर्न रोक लगाइएको छ। झडप हुन सक्ने भएकाले सुरक्षा जोखिमलाई ध्यान दिएर सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न निषेधाज्ञा जारी गरिएको भट्टराईले बताए।
प्रदेश सभाको भवन पूर्व देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, उत्तर जिल्ला प्रशासन कार्यालय आसपास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आसपास र मुख्यमन्त्री निवास आसपासको क्षेत्रमा निषेध गरिएको छ। अपराह्न ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै पनि भेला, विरोध, सभा नगर्न प्रशासनले अनुरोध गरेको छ।